सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरेका छन ।

आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने बताउदै एनआरएनएलाई एकतावद्ध हुन आग्रह गरेका हुन । उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए ।

उनले एनआरएनए विवादप्रति लक्षित गर्दै भने ‘सबै एनआरएनए पनि एक जुट हुनुपरयो, देशका लागि काम गर्नु परयो र संगठनलाई एकतावद्ध गर्नु परयो । राजनैतिक आस्थाका आफ्नै संस्था होलान तर साझा संस्थामा राजनीति नगरौ, सरकारले एनआरएनएमाथि कुनै पनि हस्तक्षेप गर्दैन सकेको सहयोग गर्छौ ।’

उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’

आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उपेन्द्र महतोेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा जति सफल भएपनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान शुरु भएको स्मरण गर्दै शुरुमा मुटुबाट सोचेपनि पछिल्लो समय बौद्धिकता लगाउँदा गैरआवासीय संघमा समस्या आएको बताए । ‘हामीले विदेशको धनाढ्य, ठुलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौं,’ महतोले भन्नुभयो,‘तर अभियानलाई नै संगै राख्न सकेनौं। सबैले संकल्प गरौं देश समृद्धि नभएसम्म केही हुँदैन।’उनले छिट्टै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले विश्वभर नेपालको राम्रो इमेज बनाउने काम गरिरहेको बताए । उनले नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधै तयार रहेको बताए । ‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने,‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सिमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’ उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए । ‘सिआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने । मन्तब्यकै क्रममा भावुक हुदै उनले भने, “हामी नेपाली जहां रहे पनि विहान उठेर नेपाल सम्झने, सांझ सुत्नेवेलामा घरपरिवारसंग कुरा गर्ने यतिमात्रै नभएर, पितृ कर्म गर्दा समेत अनुहार नेपालपट्टी फर्काएर भगवान पशुपतीनाथलाई सम्झने गरेका छौ ।”

गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत हुन् : गृहमन्त्री लेखक


संघले नेपालमा १ अर्ब बढी परोपकारका क्षेत्रमा काम गरेको पुस्तक पनि सार्वजनिक गरेको छ। उपाध्यक्ष हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्यांक रहेको बताएका छन । नेपालबाट विदेशीएका नेपाली पाँच तारे होटल सञ्चालन देखी हावर्ड, अक्सफोर्ड, एमआईटी जस्ता विश्व चर्चित विश्वविद्यालयमा पुगेको बताउँदै भविष्यमा नेपाल निर्माण गर्न फर्कने विश्वास व्यक्त गरे । ‘गैरआवासीय नेपाली संघ सिमित व्यक्तिको बनाउनेकी सबैको बनाउने भन्ने दन्दको कारण उतार चढाव देखिएको छ,’ उनले भने,‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’ उनले एनआरएनए ऐनका केही व्यवस्था संसोधनको आवश्यकता रहेकाले सरकारले अगाडी बढाउन आग्रह गरे । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पाण्डे, खेलकुद मन्त्री तेजुलाल चौधरीसहित विभिन्न राजनीतिक दलका नेता, व्यवसायीक संघ सस्थाको उपस्थिती रहेको थियो।

आजबाट सुरु कार्यक्रममा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो दिन भोलि २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धनस् नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।

यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने छन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरु, तथा साधारणसभा प्रतिनिधिहरु काठमाण्डौं आइसकेका छन ।

कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको छ ।

सन २००३ बाट शुरु गरिएको यो अभियान, अहिले संस्थाको रुपमा विश्वभर फैलिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *