‘एनआरएन ग्लोबल कन्क्लेभ-२०२४’ कात्तिक ११ र १२ गते, असन्तुष्ट पक्षलाई पनि सहभागिताका लागि आग्रह

news-details

गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ तथा एनआरएनएको वार्षिक साधारणसभा यही अक्टोबर २७ –२८, २०२४ तदनुसार कार्तिक ११ र १२ गते काठमाडौंको होटल सोल्टीमा आयोजना हुँदैछ ।

“रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने मुख्य विषयमा केन्द्रीत रहेर हुने एनआरएन ग्लोबल कन्क्लेभको उद्घाटन आइतबार साढे ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव गौरीराज जोशीले कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने बताए । उनले कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहने बताए ।

कार्यक्रमको पहिलो दिन २७ अक्टोबर २०२४ मा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन ः नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएको महासचिव जोशीले जानकारी दिए ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास लिएको संघले जनाएको छ ।

यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड)को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्री लगायत सरोकारवालासँग छलफल हुने र यसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्याउने आशा राखेको महासचिव जोशीले बताए ।

‘ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग पनि ठानेका छौँ । यस अवसरमा हामी हामी नेपालको आर्थिक विकासका सम्भावनाहरु र चुनौतीहरुका बारेमा छलफल गर्नेछौ ं। हाम्रो उद्देश्य विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने पनि हो । समग्रमा यस ग्लोबल कन्क्लेभले नेपाल सरकार, गैरआवासीय नेपाली समुदाय, र अन्य सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना गरिने अपेक्षा गरिएको छ’ पत्रकार सम्मेलनमा बोल्दै जोशीले भने ।

यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिएको पनि महासचिव जोशीले जानकारी दिए । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा साधारणसभामा सहभागीता जनाउने बताउदै महासचिव जोशीले साधारणसभामा आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिने बताए ।

उनले साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरु तथा प्रतिनिधिहरु काठमाण्डौं आइसकेको बताउदै कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

असन्तुष्ट समूहलाई पनि सहभागी हुन आग्रह

यसैबीच विगतमा असन्तुष्ट समुहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै यस वार्षिक साधारणसभालाई एकताको सभा बनाइने महासचिव जोशीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अध्यक्ष डा. बद्री केसीले आफुहरुलाई अदालतले काम गर्न फुल म्याण्डेट दिएको र त्यसै अनुसार कामकारवाही अघि बढाएको बताउँदै कुनै विषयमा विवाद भए छलफल गरेर अघि बढन आफुहरु तयार रहेको बताए । ‘चित्त नुबझेका साथीहरु आउनुहोस् कुन कुन बुँदामा र केमा विवाद छ त्यसमा छलफल गर्न हामी तयार छौ’ अध्यक्ष केसीले भने ।

उनले संघको साधारणसभा एकताको साधारणसभा पनि भएको बताउदै सबैलाई मिलेर साधारणसभा सम्पन्न गर्न र आफ्नो तिक्तता छाडेर सहभागी हुन आग्रह गरे । डा. केसीले भने ‘चुनावमा पराजित भएको रिस पोख्नका लागि विभिन्न बखेडा निकालिए पनि त्यसले केहि फरक पार्दैन, बरु सबै मिलेर अघि बढन सके संस्थाको शाख जोगिने छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *