आज नवरात्रिको अन्तिम दिन : महाअष्टमी र महानवमी एकै दिन मनाइदै

news-details

बडादशैंको महाअष्टमी र महानवमी आज एकैदिन परेको छ । तिथि घटबढका भएका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो ।

आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गरिन्छ । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । दुर्गा भवानीको पूजाका लागि नवरात्रिको अष्टमीले विशेष महत्व राख्दछ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा मध्यराती दशैंघर तथा शक्तिपीठमा कालरात्रि गर्ने गरिन्छ । यस दिन शक्तिपीठहरुमा पशुबलि दिनेहरुको भीड लाग्दछ ।

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पनि आजै परेको छ । अष्टमी र नवमी एकै दिन परेकाले आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिषहरुको भनाइ छ । महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजा गरिन्छ । महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

नवरात्रको अन्तिम दिन आज देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो लागेको छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

यस्तै महानवमीको दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ । दशैंको नौ दिनसम्मको नवरात्र अनुष्ठान महानवमीमा सम्पन्न गरिन्छ भने नवदुर्गाको प्रसाद दशमीका दिन लगाइन्छ ।

महानवमीमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

महानवमीको दिन आफू चढ्ने सवारीसाधनको पूजा गर्ने चलन पनि छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *