सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा
- जेष्ठ १२, २०७६
- 0
प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय पानवारीको औपचारीक उदघाटन गर्नुभएकोे छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट नै सुरु भएको थियो ।
उदघाटन समारोहमा प्रमुख अतिथि शेरधन राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा बढी अग्रसर हुनुपर्ने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले संघीय एवं प्रदेश सरकारसँग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने वताउँनुभयो ।
बैंकका प्रदेश नम्बर १ का प्रमुख ऋषब भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश नम्बर १ सभाका प्रमुख प्रतिपक्ष दलका नेता राजिब कोइराला, धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, विभागीय प्रमुख राज्यलक्ष्मी श्रेष्ठ लगायत स्थानीय राजनीतिक दलका प्रतिनीधि, उद्यमी व्यवसायीहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभागीय प्रमुख राज्यलक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य र उप–प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गर्नुभएको थियो । शाखा उदघाटनसँगै पूर्व पानवारी बजार क्षेत्रमा वित्तीय चेतनामुलक ब्यानरसहित प्रभातफेरी कार्यक्रम समेत संचालन गरिएको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।