आइएमई र जीएमई रेमिट गाभिए, प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल

news-details

नेपालको अग्रणी रेमिट्यान्स कम्पनी आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ भएको छ । मर्जरपछि आइएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।

मर्जरपछि जीएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल नै आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहने जनाइएको छ । विगतमा आइएमईमा नै काम गरेका पौडेलसँग रेमिट्यान्स क्षेत्रको लामो अनुभव छ ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको सुरुवातको समयमा करिब २० प्रतिशत मात्र औैपचारिक माध्यमबाट भित्रने गरेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको बताए । उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै अगाडि बढिरहेको र भोलिका दिनमा पनि आएमई बढ्ने जानकारी दिए ।

आइएमई गु्रपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए । त्यस्तै उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत जानकारी दिए ।

त्यस्तै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक लगाएत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताए । उनले रेमिट्यान्सको भुक्तानीमा कुनैपनि समस्या आउन नदिनको लागि राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरिरहेको बताए । उनले दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच बुधवारदेखि संयुक्त कारोबार सुरु भएर बलियो रेमिट्यान्स कम्पनी बनेको बताए। रेमिट्यान्स कारोबार गर्दा बलियो सुरक्षा अपनाएर गर्नु मिश्रले आग्रह गरे ।

उनले नेपालबाट हुने हुण्डी कारोबारलाई घटाउनु पर्ने बताए । उनले दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीचको मर्जर ऐतिहासिक भएको बताए ।

आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेकोमा अहिले २०० मिलियन डलरभन्दा बढी पुगेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएमई पहिलो बनेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आइएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आइएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *