‘जिएसजी’मा वैदेशिक रोजगार विभागको अनुगमन, ‘गल्ति भेटिएन’ : महानिर्देशक भुषाल
- रोजगारमञ्च
- बैशाख ३१, २०७६
- 0
मलेसिया रोजगारीका लागि सेक्युरिटी जाच गर्दै आएको महाराजगंजस्थित जिएसजी सर्भिस प्रा.लिमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ । अनुगमनका क्रममा जिएसजीबाट कुनै गलत काम नभएको पाइएको बताउदै विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले गत जनवरी १ देखि अहिलेसम्मको सम्पूर्ण रेकर्ड माग गरिएको बताए ।
इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) गर्दै आएको जिएसजीले मलेसिया जाने कामदारको सेक्युरिटी जाच र फिङगर प्रीन्ट प्रति कामदार ३२ सय शुल्क लिएर गर्दै आएको छ ।
अनुगमनका क्रममा विभागका कर्मचारीले जिएसजीमा पुगेका युवाहरुसँग गोप्यरुपमा सोधपुछ समेत गरेका थिए । मलेसिया रोजगारी नखुल्दै मेनपावर कम्पनीले जिएसजी गर्न पठाउने गरेको सुचनाको आधारमा अनुगमनमा पुगेको विभागको टोलीलाई त्यहाँ उपस्थित अधिकांश युवाहरुले मेनपावरले पठाएको नभई आफुहरु व्यक्तिगत तवरले आएको बताएका महानिर्देशक भुषालले रोजगारमञ्चलाई जानकारी दिए ।
जिएसजीमा आएका युवाहरुसँग रहेको कागजातसमेत अनुगमन टोलीले हेरेकोमा सबैजसो कलिङ भिसा लागेका थिए । कलिङ भिसा आएका कामदारहरु मलेसिया जान खुल्ला गरिएपछि जिएसजी पनि खुल्ला भएको थियो ।
गत जेठ पहिलो साता मलेसिया जाने कामदारसँग चर्को शुल्क लिएको भन्दै मलेसिया रोजगारीको प्रोसेस गर्दै आएका विभिन्न ५ वटा संस्था खारेजीको घोषणा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षाले मलेसिया रोजगारी नै बन्द गराएको थियो । यसबीचमा दुई मुलुकबीच श्रम समझदारी भएपनि अझै नयाँ कामदारका लागि यो गन्तव्य सुचारु हुन सकिरहेको छैन ।
यसैबीच विभागको अनुगमन टोलीले मेनपावर कम्पनीमा पनि अनुगमन थालेको छ । विभागको टोलीले मंगलबार विएस ओभरसिजमा अनुगमन गरेका थियो । मलेसिया कामदार पठाउदै आएको विएस ओभरसिजमा मलेसिया रोजगारी नै बन्द भएको अवस्थामा कुनै काम नै नभएको विभागले पाएको थियो ।
टोलीले सोमबार पनि ३ वटा मेनपावर कम्पनीमा अनुगमन गरेकोमा कुनै गल्ती फेला पारेको थिएन । विभागका महानिर्देशक भुषालले यो विभागको नियमित अनुगमन भएकाले नआत्तिन मेनपावर व्यवसायीहरुलाई आग्रह गरेका छन ।