प्रगतीशिल समाजवादतिर जाने अर्थतन्त्र आवश्यक छ : अर्थमन्त्री पुन
- असार ८, २०८१
- 0
अर्थमन्त्री वर्षमान पुनले सामाजिक न्यायसहितको प्रगतीशिल समाजवादतिर जाने अर्थतन्त्र निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।
शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रममा उनले धनी र गरिबबीचको खाडल कम गर्दै समाजवादको आधार तयार गर्ने अर्थतन्त्र निर्माण गर्ने भन्दै यसपालीको बजेटले अलिकति त्यतातिर दिशानिर्देश गरेको बताए ।
उनले भने, ‘उत्पादन, रोजगारी बढाउने, उत्पादन र रोजगारीबाट समृद्धि हासिल गर्ने, समृद्धि न्यायोचित रुपले वितरण गर्ने, धनी र गरिबबीचको खाडल कम गर्दै समाजवादको आधार तयार गर्ने, सामाजिक न्यायसहितको एउटा प्रगतीशिल समाजवादतिर जाने खालको अर्थतन्त्र निर्माण गर्नुपर्छ ।’
उनले राष्ट्रिय अर्थतन्त्र, पुँजी र औद्योगीकरणको बाटोबाट अगाडि जानुपर्छ त्यसमा बजेटले अलिकति त्यतातिर दिशानिर्देश गर्ने बताए ।
उनले रैथाने सीप, कला, उत्पादनहरुलाई प्रवद्र्धन गर्ने र ब्रान्डिङ गर्ने भन्दै यसबाट परम्परागत उत्पादनलाई आधुनिक उत्पादनसँग जोडेर उत्पादन वृद्धि र राष्ट्रिय अर्थतन्त्र निर्माण हुने बताए ।
उनले भने, ‘रैथाने सीप, कला, उत्पादनहरुलाई प्रवद्र्धन गर्ने र ब्रान्डिङ गर्ने कुरा पनि छ । यसबाट स्थानीय बासिन्दाहरुको सीप र परम्परागत उत्पादनलाई आधुनिक उत्पादनसँग जोडेर उत्पादन वृद्धि र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने बाटो हो । यही अनुसार बजेट पनि प्रस्तुत भएको छ ।’
मन्त्री पुनले संघीयतालाई परिमार्जन र समावेशितालाई अझ बलियो बनाउनुपर्ने औल्याए । आलोचना र गुनासो गरेर कुनैपनि आन्दोलन सफल नभएको उल्लेख गर्दै उनले उपलब्धीहरु आत्मसाथ गर्नुपर्ने भएकाले समाजवादी क्रान्तिलाई समाउन सक्नुपर्ने बताए ।