मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई श्रममन्त्रीको आग्रह
- असार ६, २०८१
- 0
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।
सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको उनको जिकिर थियो । विकासका कुरामा एकछिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने अर्यालको भनाइ थियो ।
‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्, ’ उनले भने ।
कुनै एउटा मात्रै उद्योग चलाएर दसौं हजारका लागि रोजगारी सिर्जना गर्न नसकिने बताउँदै यसका लागि साना व्यवसायदेखि सबै प्रकारका उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । बैठकमा बोल्दै उनले रोजगारीका अवसर बढाउनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गरे ।
उनले भने, ‘हामीले कुनै एउटा उद्योग सञ्चालन गर्दैमा दसौं हजारले रोजगारी पाउँदैनन् । तर, हामीले साना व्यवसायलाई संरक्षण गर्दै, साना, मझौला र ठुला उद्योगहरुलाई सञ्चालन गर्न सक्यौं भने मात्र धेरैभन्दा धेरैका लागि रोजगारी सिर्जना गर्न सकिन्छ । अहिले केही अनलाइन व्यवसायले समेत रोजगारीको अवसर सिर्जना गरेका छन् । वैध बाटोबाट यसरी रोजगारी सिर्जना गर्ने कम्पनीलाई सरकारले पुरस्कृत समेत गर्नुपर्दछ । हामी बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि प्रयासरत छौं । भर्खरै श्रमधान मेला समापन गरेका छौं ।’