हिमालय एयरलाइन्सले सुरु गर्यो युएईको आबुधाबी उडान
हप्तामा ३ पटक उडान भर्ने
- चैत्र १८, २०७५
- 0
हिमालय एयरलाइन्सले आइतबारदेखि युएईको आबुधाबी उडान सुरु गरेको छ । आइतबार पहिलो पटक उडान भरेको हिमालय एयरलाइन्स आउनेजाने दुवैतर्फी (१५८ सिट्) टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसीका सञ्चालक ठाकुरप्रसाद ढुङ्गानाले बताए ।
आबुधाबी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीलगायत अन्य विभिन्न कार्यकारी व्यक्तित्वहरूको सहभागितामा एक भव्य कार्यक्रमसहित आइतबारदेखि उडान सुरु भएको ।
आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएकोले काठमाडौँ–आबुधाबी–काठमाडौँको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने ढुङ्गानाले बताए ।
ढुङ्गानाले दिएको जानकारी अनुसार बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ । साँझ ८ बजेर ४५ मा काठमाडौँबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ ।
हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।