अर्थतन्त्रबारे निजी क्षेत्रसँग आज छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड
- मंसिर ५, २०८०
- 0
देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन् ।
देशको अर्थतन्त्रको हालको अवस्था र अबको दिशाबारे निजी क्षेत्रसँग जानकारी लिन प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।
निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बोलाएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग अर्थतन्त्रलाई गतिशिल बनाउनेबारे छलफल गरेका थिए । बैठकमा अर्थमत्री महतले अर्थतन्त्रबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । यस्तै राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना धारण राखेका थिए ।
दाहालले केही दिन अघि मात्रै अर्थतन्त्रलाई चलायमान गर्न प्याकेज ल्याउन लागेको बताएका थिए ।
आज निजी क्षेत्रसँग छलफल गर्ने भनिएपनि उक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत अर्थसम्बन्धी सरकारी निकायका प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ ।