सन्दर्भ ६८ औँ प्रहरी दिवस : प्रहरीको गति, मति र साख !
- शम्भु सुस्केरा
- अशोज ३०, २०८०
- 0
प्रहरी मित्रहरुमा भ्रम नहोस् कि प्रहरी सेवा छाडेर गएपछि नै प्रहरीलाई सबैले गाली गर्छन् । तर त्योमध्यको कलमकार यो होइन भन्ने तथ्य प्रहरी भित्रका मेरा नियमित पाठकलाई थाहा छ । थाहा नहुनेले गुगललाई सोध्न सक्नुहुनेछ सेवामै रहँदा प्रहरीका बिकृति र संस्कृति लेख्दै आएका प्रमाणहरुका बारेमा ।
विषय प्रवेश : प्रहरी संगठनमा प्रशंसनीय पाटा र प्रसंशीय कार्य गर्ने प्रहरीहरु नभएका होइनन् । सकारात्मक सोच, बिचार र सेवाभावले काम गर्ने प्रहरीहरुको खडेरी छ भन्ने पनि होइन । तर जे हुनुपर्ने त्यो भएको छ भनेर चर्चा गरिरहनु आवश्यक हुँदैन । जे भएन त्यसको चर्चा गरेर सुधार गर्न प्रेरित गर्नु सचेत नागरिकको धर्म हो ।
राजेश अहिराजका अनुसार लेखकहरु समाजका लेखापरिक्षक हुन् । त्यही लेखापरिक्षणको धर्म प्रहरीमाथि निर्वाह गर्ने प्रयास हो यो ।
प्रहरीप्रति जनताका अनगिन्ति गुनासा छन् । जनताबाट गुनासा आउनुमा प्रहरी मात्र जिम्मेवार छैनन । राजनीतिक दल, नेता, सरकार, न्यायालय, कानुनकर्मी, राज्यव्यवस्था सबै जिम्मेवार छन् ।
यहाँ यति मात्र चर्चा गर्न खोजिएको छ कि प्रहरीको कमजोरी के हो र ऊ एक्लैले आफूलाई कसरी बिगार्दैछ र कसरी सच्याउन सक्छ ?
समस्या परेर वा कुनै सेवा लिन प्रहरीकहाँ जानुप¥यो भने सेवाग्राहीले कोही चिनेको प्रहरी, नेता वा माथिल्लो ओहदाको मान्छेको सहारा खोज्छ ।
प्रहरी र नागरिकको सम्बन्धको कमजोर पुल यहि नै हो ।
यो प्रश्नमाथि बहस चलेको र जवाफ भेटिएको वर्षौँ बितिसकेको छ तर पनि कोही कसैको सहयोगविना प्रहरीकहाँ जाने आँट गर्दैन । त्यसका लागि वातावरण बनाउन प्रहरी स्वयंले सकेको देखिँदैन ।
सामान्यतया यसको दुईओटा कारण देखिन्छन् ।
पहिलो कारण प्रहरी स्वयं र दोस्रो राजनीतिक दल र तिनका नेता ।
पहिलो : प्रहरीले सेवाग्राहीको कुरा नसुन्ने, आवश्यक नम्रता प्रस्तुत नगर्ने, वेदना बोकेर आएको मान्छेसँग पनि समानुभूति देखाउनुको सट्टा कडारुपमा प्रस्तुत हुने, चिन्ता नगर्नुस् तपाईका लागि हामी हौँ भन्नु त आकासकै फल, जसरी होस् आफू डरको वस्तु हो भन्ने देखाउन चाहन्छ, सर्वसाधारणलाई छिटोछरितो सेवा दिनुपर्छ भन्ने सोच्दैन तर कुनै नेता वा ठूलाबडाले भनसुन गरे जेनतेन काम गरिदिने उदाहरण हरेक प्रहरी कार्यालय प्रमुखमा भेटिन्छन् ।
दोस्रो : प्रहरी र दलका नेता एकापसमा सम्बन्ध बनाईराख्न चाहन्छन् । प्रभावकारी दलका प्रभावशाली नेताले फोन गरुन् वा केही काम लगाउन् भन्ने चाहन्छन् प्रहरी । नेताहरु पनि प्रहरीसँग सम्बन्ध बनाएर काम गराउन सहजता खोज्छन् । प्रहरी वा अन्य निकायले आफैँ गरिदिने काम भनसुन सिर्जना गरेर जनतालाई झण्झटिलो बनाएका छन् र जनताको सेवा गरेको ढोँग रचेका छन् । सबै दलले कयौँपटक सरकारको गद्दी आरोहण गरिसके तर कुनै पनि सरकारी निकायको सेवा सुधारेनन् बरू झन जटिल र लेनदेनपूर्ण बनाए । यसको मुख्य कारण जनता आफूसँग आइरहुन्, सेवा गरेको ढोँगको निरन्तरता निर्माण गर्नु नै हो ।
यिनै कारणले सर्वसाधारण प्रहरीकहाँ जाँदा भनसुन गरिदिने मान्छे खोज्न बाध्य हुन्छ ।
हरेको व्यक्तिको सम्बन्धको सुरुवात नमस्कार र मुस्कानबाट शुरु हुन्छ । तर प्रहरीले नमस्कारसमेत फर्काउँदैन, समस्या परेर गएको मान्छेको कुरा सुन्दैन, सोधेको कुराको जवाफ दिँदैन, दिइहाले मालिक भाव देखाउँछ, के समस्या परेर आउनुभयो, बस्नुस्, पानी खानुहुन्छ ? भनेर सामान्य मानवीयता त आकासकै फल ? दुर्घटनामा परेर घाइते होस् वा मृत्यु भएकाका आफन्त आएर अलिकति आक्रोस नै पोख्दा हुन्, बोल्दा थोरै मात्रा बिग्रियो रे उसैगरी हप्काउँछ जसरी समातिएको चोरलाई हप्काउँछ ।
अनेक झण्झट र ढिलासुस्तीबाटै होस् कुनै सेवा दियो भने पनि घूमाइफिराई आफैँ वा मान्छे लगाएर सेवाग्राहीसँग पैसा मागी छाड्छ । पीडकसँगको मिलेमतोमा मुद्दा दर्ता नगरेर म्याद गुजारीदिन्छ । यस्ता अनेक गुनासा छरपस्ट छन् ।
तसर्थ प्रहरीले २४ सै घण्टा काम गरेर पनि जस गुमाइरहन्छ, अपजस आर्जन गरिरहन्छ ।
प्रहरी अरु निकायभन्दा जनताको नजिक छ । उसको भान्साको वास्ना र सुत्ने ओछ्यानको उडुसको संख्यासमेत जनतालाई थाहा छ । त्यसैले प्रहरी हरेक नागरिकको छिमेकी हो । छिमेकी सरह मद्दत गरोस् भन्ने चाहन्छन् ।
समस्या अन्य निकायमा नभएको होइन अनगिन्ति छन् । नयाँ कम्पनी दर्ता गर्न वा नविकरण गर्न जानुस् कर्मचारीलाई दिनुपर्ने घुसको दर निर्धारण गरिएको हुन्छ । नयाँ कम्पनी दर्ता वा नवीकरण छुट भनेर सरकारले भन्यो भने मान्नुस् सम्बन्धित मन्त्रीलाई चुनावमा सघाएका व्यक्तिहरुले नयाँ कम्पनी खोल्न वा नवीकरण गर्न प्रभाव पारेका हुन्छन् र यस्ता निर्णय गरिएको हुन्छ ।
प्रहरीभन्दा अन्यत्र बढी भ्रष्टाचार छ ।
तर प्रहरी यस्तो निकाय हो जो सबैलाई हतकडी लगाउन सक्छ, अपराधमा अनुसन्धान गरेर अदालतसम्म लैजान सक्छ । यस्तो शक्तिशाली र संवेदनशील निकाय भ्रष्ट र घुषखोर हुनुहुँदैन । किनकि सिडिओ र प्रहरी प्रशासनमा सुशासन भित्रियो भने नागरिक सेवा र शान्ति सुरक्षा मजबूत हुन्छ । अरु धेरै निकाय, राजनीतिक दल र न्यायालयसमेत सच्चिन बाध्य हुनेछन् ।
तर यस्ता योजना कुनै गृहमन्त्रीसँग छैन । बरु आफूअनुकुल प्रहरी र सिडियो पजनी गरेर कमाउनतिर लाग्छन् ।
प्रहरी अरु निकायभन्दा जनताको नजिक छ । उसको भान्साको वास्ना र सुत्ने ओछ्यानको उडुसको संख्यासमेत जनतालाई थाहा छ । त्यसैले प्रहरी हरेक नागरिकको छिमेकी हो । छिमेकी सरह मद्दत गरोस् भन्ने चाहन्छन् ।
प्रहरी र सेवाग्राहीबीच सम्बन्ध नबन्नु र काम गर्दागर्दै अपजस मात्रै कमाइरहनुको साझा जवाफ प्रहरी, गृह प्रशासन, कानुनकर्मी र न्यायालय सबैसँग बराबर छ । तर जनताले समस्या बोकेर ठोक्किने पहिलो निकाय प्रहरी हो । प्रहरीको व्यवहार र कार्यले उल्लिखित निकायसँग नपुगी नै अनगिन्ती समस्या समाधान हुन सक्छन् । प्रहरीले सहानुभूतिपूर्वक बोली र व्यवहार गरिदिँदैमा आधा पीडा बिर्सिन्छन् सेवाग्राहीले ।
यो सत्य सबै प्रहरीलाई थाहा छ तर कमैले मात्र अपनाउँछन् ।
अनुभवले के भन्छ भने प्रहरीहरू प्रायजसो पीडितभन्दा पीडकका साथी बनेको देखिन्छ । पीडकमैत्री प्रस्तुतीकरण गरेको देखिन्छ । जब एउटा पीडित आउँछ र उजुरी गर्छ । लोभी प्रहरीको सोच र अपेक्षा नै फरक भइदिन्छ । र पीडकले पनि प्रहरीमाथि केही योगदान गरेर वा केही गुमाएर भए पनि आफू सजायबाट बच्न वा कम सजाय भोग्न तयार हुन्छ ।
यहिँनेर लोभी प्रहरी र पीडकको मनोविज्ञान मेल खान्छ र पीडितहरू अन्यायमा पर्छन् । वा सही मानेमा न्याय पाउँदैनन् । अनि हरक्षण प्रहरी दोषी र बदनाम भइरहेको हुन्छ ।
यहिँनेर अर्को महत्वपूर्ण कुरा केछ भने समाजका हरेक बेमेल वा चोरी, फौजदारीसम्मका उजुरीहरु छलफल र मेलमिलापका लागि स्थानीय नेता र जनप्रतिनिधिमा छोड्ने र प्रहरीले आवश्यकता अनुसार हस्तक्षेप नगर्दा पीडितहरु मारमा पर्छन् र कुनै शक्तिको सहारा लिन बाध्य हुन्छन् ।
नागरिक अपेक्षा के हो भने प्रहरीले मुख्य गरी दुई तरिका अपनाओस् । एक आफूसँग ठोक्किन आएका सेवाग्राहीलाई बोली, बचन र व्यवहारले ठेस नपु¥याई छिटै सेवा देओस्, ढिलो सेवा दिएको भए कारण बताओस्, आफूले नसक्ने काम भए कसले सक्छ त्यता पठाओस् । यिनै जनताको सेवा गर्न नै तलब, राशन र अन्य सुविधा राज्यबाट लिएको हो तसर्थ जनतासँग हात पसार्नु हुँदैन भन्ने मन्त्र जपोस् र पालना गरोस् ।
सामान्य लाग्ने तर जनताको जीवनमा ठूलो प्रभाव पार्ने कुराहरुको सुधारमा प्रहरी संगठन र राजनीतिक नेतृत्वले मिहिन र प्रभावकारी चासो राखी, हरेक कार्यालयमा खटिने इन्चार्जदेखि अन्य तहका सबैले विवेक प्रयोग गरिदिए “आहा प्रहरी” बन्न एक वर्ष पनि लाग्दैन ।
यति भएमा प्रहरी र नेताबीच अप्राकृतिक र अनैतिक सम्बन्ध पनि चाहिँदैन । जनताको सेवाको नाममा डुकुलन्ठ्याङ नेताहरुको समय पनि खेर जाँदैन, समाजसेवा नामको परिभाषा पनि भ्रममा पर्देन । यति भएमा जनता सोझै सरकारी कार्यालयमा गएर सेवा र सुरक्षा लिन सक्नेछन् ।
यी र यस्ता सामान्य लाग्ने तर जनताको जीवनमा ठूलो प्रभाव पार्ने कुराहरुको सुधारमा प्रहरी संगठन र राजनीतिक नेतृत्वले मिहिन र प्रभावकारी चासो राखी, हरेक कार्यालयमा खटिने इन्चार्जदेखि अन्य तहका सबैले विवेक प्रयोग गरिदिए “आहा प्रहरी” बन्न एक वर्ष पनि लाग्दैन ।
र प्रहरी संगठनले आफ्ना प्रहरीको जनसर्वेक्षणसहितको मूल्याङ्कन गरी दण्ड र पुरस्कारको प्रभावकारी व्यवस्था लागु गर्नसके प्रहरी साँच्चै जनताको साथी बन्छ ।
नत्र सधैँ चोर, फटाहा, तस्कर, अपराधी, दल र तिनका नेता, हुनेखानेहरुको मात्रै साथी बनिरहन्छ प्रहरी ।
जसलाई प्रहरी चाहिएको छ उसको साथी बन्न सक्दैन भने यस्तो प्रहरीको के काम ? जनताको यति कटु गुनासो बोकेर प्रहरी संगठन हाँकिरहने र चलाइरहनेलाई के स्वाद लाग्ला र ?
जागिर खाउनजेल त स्वादै होला जागिर छाडेपछि मरेको भैँसीको किर्ना सरह पनि नहुन सक्छ ।
प्रहरी संगठनका पनि अनेक आन्तरिक समस्या छन् । प्रहरीभित्रको कमाण्ड सृङ्खला सन्तोषजनक छैन । नेतासँगको हिमचिमले तल्लोतहसम्म अनुशासनको अवस्था देखिनेगरी कमजोर बन्दैछ ।
प्रहरी कर्मचारीको खटाइअनुसार र अरु निकायको दाँजोमा सुविधा सन्तोषजनक छैन । पद र दर्ज्यानी चिन्हको दुरीले प्रहरीमा भाइचारा कमजोर छ । तल्लो तहका प्रहरीको बावुआमा वा छोराछोरी बितेको समाचार सुन्दा पनि भेट्न जाने त टाढाको कुरा फोन गरेर वा खबर पठाएरै पनि समवेदना नदिने प्रहरीका हाकिम धेरै छन् ।
दुईदुईटा संगठन खोलेर बसेका पूर्व प्रहरीहरू प्रहरी संगठनमाथि जस्तोसुकै राजनीति वा गुण्डानीति हस्तक्षेप हुँदा पनि चुँसम्म बोल्दैनन् । सरकारसँग आँखा जुधाएर काम गर्न खोज्ने आइजिपीलाई पनि सहकर्मीले सहयोग गर्दैनन् । यही कमजोरीले गर्दा मन्त्रालयका ढोकाढोकामा हेपिन्छ प्रहरी र यसको कमाण्ड ।
सुनकाण्डदेखि भूटनिज काण्डसम्म नारायाणकाजी शासन देखाउने र लुकाउने दाँत टलल टल्किँदा काम गर्न चाहने प्रहरीहरू लत्रिएकै छन् यतिबेला ।
नेपाल प्रहरीको भर्ना लोकसेवा आयोगले लिन्छ । तर यसको विश्वासिलो जानकारी नागरिकमा हुन नसकेकाले स्वार्थी समुह, व्यक्ति र नेताहरुबाट अझै ठगिएका छन् युवाहरू ।
तर यसको अपजस प्रहरीले बोकिरहन्छ, जनता ठगिइरहन्छन् ।
एकातिर अनुसन्धानहरुमा हस्तक्षेप गर्ने, त्यो गर्न नसके प्रहरी र जनता मार्नेहरूमाथि जोखीमी अनुसन्धान गरेर कानुनी दायरासम्म ल्याएकाहरुलाई एक निर्णयबाट जेल मुक्त गरिदिने ।
प्रहरी संगठनले यस्ता अनगिन्ती तनाव झेलिरहेकै छ । यी र यस्ता विषयमा प्रहरीलाई जनताले साथ पनि दिएका छन् । आवश्यकता अनुसार जनताले सेवा र सुरक्षा दुरुस्त पाउनुपर्छ ।
स्याबासीका लागि पुलिस रिपोर्टको एउटै उदाहरण पर्याप्त छ । अनलाइनबाटै देश, विदेशबाट पुलिस रिपोर्ट लिन सकिने र राजश्व वा अन्य शुल्क तिर्नु नपर्ने व्यवस्थाले आफैँ भन्छ नि प्रहरीले चाह्यो भने सहज सेवा दिन सक्छ भनेर ।
सेवाको अनुभूत भएका विषयमा प्रहरीले धन्यवाद पाएको पनि छ । प्रहरीले पाएको धन्यवाद सरकारको सम्पति हो भन्ने स्वयं जनयुद्धकारी सरकारले बुझेको देखिँदैन ।
ट्रान्सपरेन्सी इण्टरनेशनलको प्रतिवेदन अनुसार आर्थिक अनुशासनमा प्रहरीभन्दा अन्य पाँचवटा निकाय र राजनीतिक दलहरू कमजोर छन् । तर प्रहरीको नाम बढी गिजोलिनुमा प्रहरीप्रति जनताको अपेक्षा र भरोशा बढी भएर नै हो । सोही अनुसार प्रहरी आचरण र व्यवहारको समाजले अपेक्षा गरेको हो ।
सम्बन्ध कर्मले निर्धारण हुने हो कुराले होइन । सर्वसाधारण जनता, पूर्व प्रहरी र पूर्व सैनिकसँग प्रहरीको जति राम्रो सम्बन्ध बन्छ त्यति सही सुचना प्राप्त हुन्छ । प्रहरीका लागि सुचनाको शक्ति नै अपराध अनुसन्धानमा सफलता हो । यसको ज्ञान हरेक प्रहरीलाई छ ।
मान्छेको शरीरमा मैला प¥यो भने साबुन लगाएर टाउकोबाट पखालेपछि शरीर सफा बन्छ । टाउको सफा भएपछि शरीर आफैं सफा बन्छ । हरेक काण्डहरु हेर्दा सरकार जहिले पनि पैताला मात्र सफा गर्छ । त्यसको सिको प्रहरीमा देखिएकै छ । एउटै कसुरमा तलकालाई बर्खास्ती माथिकालाई सामान्य विभागीय कारबाहीका अनगिन्ति उदाहरण छन् ।
आसय यो होइन की प्रहरी सबैभन्दा भ्रष्ट निकाय हो । ट्रान्सपरेन्सी इण्टरनेशनलको प्रतिवेदन अनुसार आर्थिक अनुशासनमा प्रहरीभन्दा अन्य पाँचवटा निकाय र राजनीतिक दलहरू कमजोर छन् । तर प्रहरीको नाम बढी गिजोलिनुमा प्रहरीप्रति जनताको अपेक्षा र भरोशा बढी भएर नै हो । सोही अनुसार प्रहरी आचरण र व्यवहारको समाजले अपेक्षा गरेको हो ।
माथि उल्लिखित कुरा सच्याउने बित्तिकै प्रहरी संगठन दुधले धोएजस्तो नभए पनि साबुन पानीले पखालेजस्तो चाहीँ अवस्य हुनेछ । यही आफ्नो स्वच्छताले नै राजनैतिक दवाव झेल्न सक्ने साहस पनि प्रहरीलाई प्राप्त हुन्छ ।
र नै प्रहरी सेवामा कमाउने उद्देश्यले होइन सेवा भावले छिर्ने युवाको लर्को लाग्ला । अभिभावक र स्वयं सन्तानको सपना बन्ला ‘प्रहरी सेवा” । अन्यथा “घुषखोरीबाट कमाएका प्रहरीका ठूला घर र गाडि, इमानदारहरु जागिर छाडेर खाडी” देखुन्जेल प्रहरी सेवा लुट्नेहरुका मात्रै सपना बनिरहन्छ ।
प्रहरी र प्रहरीका परिचालकहरुका अथाह नकारात्मक पात्र र प्रवृत्ति तोडिएपछिको हरेक असोज ३१ मा जनताले भन्नेछन् “ह्याप्पी पुलिस डे माइ फ्रेण्ड ।“
मैले चाहिँ आजै भन्छु, प्रहरीको गति फिरोस्, मति फिरोस् र गुमेको साख पनि फिरोस् सम्पूर्ण प्रहरी र प्रहरीका परिवारलाई ६८ औँ प्रहरी दिवसको हार्दिक शुभकामना !