भृकुटीमण्डपको ‘शुभ-विवाह महाकुम्भ जुत्तामेला’मा भीड बढ्दो
मेला फागुन महिनाभर चल्ने
- रोजगारमञ्च
- फाल्गुन २०, २०७५
- 0
काठमाडौंको भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्षित गरेर लागिरहेको ‘शुभविवाह महाकुम्भ जुत्तामेला’मा उपभोक्ताको भीड नै लागेको छ । फागुन महिनामा विवाहका धेरै लगन र पार्टीहरु हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएकोले खरिद गर्न चाहनेको भीड लागेको हो ।
मूख्यरुपमा विवाह तथा पार्टीका लागि डिजाइन गरिएका नयाँ–नयाँ जुत्ता मेलामा रहेका छन् । मेलामा नै २५० भन्दा बढि नयाँ डिजाइनका जुत्ता सार्वजनिक गर्नुका साथै एक हजारभन्दा बढि डिजाइनका जुत्ता राखिएको आयोजकले जानकारी दिएका छन ।
जुत्ता मेलामा विवाह तथा पार्टीका लागि चाहिने सबै प्रकारका जुत्ताचप्पल एउटै छानामुनी पाएपछि भक्तपुर बालकोटका धर्म सुवेदीले परिवार र आफन्तका लागि एक दर्जनभन्दा बढि जुत्ता खरिद गरे । उनले भने–‘यति सस्तो र राम्रो जुत्ता एकै थलोमा पाएपछि धेरै सजिलो भयो ।’
कोटेश्वर बस्ने हेमन्त गौतम परिवारमा विवाहको चटारो परेपछि धेरै व्यस्त बनेका रहेछन् । उनी पनि विवाह तथा पार्टीका लागि सबै जुत्ताचप्पल एकै ठाउँमा पाएपछि मख्ख मात्र परेनन् समयको पनि धेरै बचत भएकोमा खुसी देखिन्थे ।
अहिले भृकुटी मण्डपमा लागेको मेला फागुन महिनाभर चल्ने आयोजक तथा केटिएम सुजका संचालक प्रमोद महतोले जानकारी दिए । विवाह तथा पार्टीमा नयाँ जुत्ता लगाउने परिपाटीलाई लक्षित गरेर एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक तथा भेनस सुजका संचालक जीवन श्रेष्ठको भनाई छ ।
गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो । नेपाली जुत्ताहरुको लोेकप्रियता अझ बढाउन हरेक डिजाइनका जुत्ताहरु फ्याक्ट्री लागतमा नै उपलब्ध गराइने अर्का आयोजक तथा फुटस्टेप सुजका संचालक आरसी केसी बताउँछन् ।
मेलामा नेपालका प्रख्यात ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । मेलामा भेनस सुज, केटिएम सुज, पारागन सुज, फुटस्टेप सुज, बोस सुज, जाल्पा फुटवेयरलगायतका ब्राण्डका नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।
एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनेछन भने हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु मेलामा उपलब्ध गराइएको आयोजक तथा पारागन सुजका संचालक रामहरी तोलाङ्गको भनाई छ ।
नेपाली जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो । नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न तथा नेपालमा नै गुणस्तरीय जुत्ता उत्पादन हुन्छन् भनेर चिनाउन मेला राखिएको बोस सुजका गंगा श्रेष्ठको भनाई छ ।
नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।
भृकुटी मण्डपमा चलिरहेको मेलामा नेपाली जुत्ताचप्पलका नयाँ–नयाँ डिजाइन एक पटक अवलोकनका लागि आयोजकको विशेष आह्वान रहेको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भर भइरहेको जुत्ताचप्पलले नेपालीहरुको मन पनि जितिरहेको छ, त्यसैले नेपाल जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ ।