सामाजिक सुरक्षा कोषको रकम ‘क’ वर्गका बैङ्कमा राख्ने सरकारको तयारी

news-details

सीता शर्मा / सरकारले सामाजिक सुरक्षाकोषमा सङ्कलन भएको रकम खुला प्रतिस्पर्धामा छनोट भएका ‘क’ वर्गका बैङ्कमा राख्ने तयारी गरेको छ । यसअघि सीमित बैङ्कमा मात्रै रकम राख्दै आएकोमा अब भने ‘क’ वर्गका सबै बैङ्कमा लगानी गर्न सक्ने गरी प्रस्ताव आह्वान गरेको छ ।

कोषको रकम (वाणिज्य बैङ्कहरूमा) लगानी गर्नेसम्बन्धी कार्यविधि २०७५ अनुसार सो रकम लगानी गर्न लागिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । सामाजिक सुरक्षा ऐनअनुसार श्रमिकका विभिन्न सुविधाका लागि कोषमा जम्मा भएको रकम लगानी गर्न सकिने छ ।

कोषका निर्देशक एवं प्रवक्ता रमा भट्टराईले कोषको रकम अन्य तोकिएका क्षेत्रमा पनि लगानी गर्न सकिने भए पनि हाललाई भने ‘क’ वर्गका वाणिज्य बैङ्कहरूमा लगानी गर्न प्रस्ताव आह्वान जानकारी दिनुभयो । कोषले रकम लिन चाहने वाणिज्य बैङ्कलाई लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई आवेदन दिन प्रस्ताव गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

कोषको रकम लिन चाहने बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट तोकिएको न्यूनतम चुक्ता पुँजी पु¥याएको र न्यूनतम पुँजीकोष अनुपात (११ प्रतिशत वा सोभन्दा बढी) कायम गरेको हुनुपर्ने, बैङ्कको निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै कोषको रकम प्राप्त गर्न बैङ्कको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, अघिल्लो आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थापछि सञ्चालन मुनाफामा रहेको हुनुपर्नेलगायतका सर्त पूरा गरेको हुनुपर्ने छ ।

प्रवक्ता भट्टराईले कोषको कार्यविधिमा उल्लेखित सर्त पूरा गरेका तर अधिकतम ब्याजदर दिने वाणिज्य बैङ्कमा लगानी गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिएको बताउनुभयो । कोषमा रहेको लगानीयोग्य रकमलाई वाणिज्य बैङ्कको मुद्दती निक्षेप र दीर्घकालीन निक्षेपका रूपमा जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।

कोषका अनुसार श्रमिकको कल्याणकारी कोषमा झन्डै २० अर्ब रुपियाँ जम्मा भइसकेको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *