प्रधानमन्त्रीको चीन भ्रमणमा हङकङ रोजगारी खुलाउने एजेण्डा बन्छ : उदयबहादुर रानामगर
- उद्धव भट्टराई/हङकङ
- भदौ २०, २०८०
- 0
हङकङ र नेपालको सम्बन्ध पुरानो हो । हङकङ चीनको अधिनमा रहेको ब्यापारिक हव हो । सन् २००५ भन्दा अगाडि हङकङले नेपालीहरुका लागि आगमन भिसा (अन एराइभल) तथा रोजगारीका लागि भिसा उपलब्ध गराउँदै आएको थियो । तर हङकङले सन् २००५ देखि नेपाली कामदारलाई रोजगारीका लागि भिसा दिन बन्द ग¥यो । ‘भिजिट भिसा’मा जाने नेपालीहरू ‘ओभर स्टे’ गर्ने र शरणार्थी भई बस्न थालेपछि हङकङ सरकारले नेपालीलाई अवसर नै दिन छोड्यो ।
हङकङमा रोजगारका लागि सेवा सुविधा तथा पारिश्रमिक आकर्षक भएको हुँदा नेपालीका लागि रोजगार खुलाउने पहल लामो समयदेखि भएता पनि अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन । तथापी पछिल्लो समय हङकङमा कामदारको माग उच्च हुँदा रोजगार खुलाउनका लागि थप पहल भइरहेको छ । नेपालीको छवि इमान्दार र मिहिनेती मानिएकाले र कामदारको माग उच्च रहेको हुँदा उच्चस्तरीय सरकारी पहल भइरहेको हङकङमा रहेको नेपाली महाबाणिज्य दूतावासले जानकारी दिएको छ ।
असोेज महिनाको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको अवसरमा हङकङ रोजगारी खुलाउने विषय एजेण्डामा पार्नका लागि चीनमा रहेको नेपाली दूतावासमा पत्राचार गरिएको महाबाणिज्यदूत उदयबहादुर रानामगरको भनाई छ । सन् १९९७ मा हङकङमा स्थापना भएको महावाणिज्य दूतावासले निरन्तर हङकङ र नेपालबीचको व्यापारिक तथा कुटनैतिक सम्बन्ध विस्तारका साथै श्रम कुटनीतिमा पनि पहल गरिरहेको छ । रोजगार भिसा खुलाउन सकेको खण्डमा हङकङ नेपालीका लागि सबैभन्दा आकर्षक र राम्रो रोजगार हव बन्ने महाबाणिज्यदूत रानाको विश्वास छ ।
हङकङमा रहेका नेपालीको अवस्था, हङकङ रोजगारी खुलाउन भइरहेका पहल र महाबाणिज्य दूतावासका कामका विषयमा रोजगार मञ्चका लागि उद्वव भट्टराईले उहाँकै कार्यकक्षमा पुगेर गरेको कुराकानी :
तपाई हङकङ आएको ३ बर्ष भयो, तपाईले हङकङ र यहाँ रहेका नेपालीहरुको अवस्था कस्तो पाउनु भयो, कस्तो अनुभव रहयो ?
वास्तवमा हङकङ विश्वकै आर्थिक हवको रुपमा परिचित छ । विश्वका धेरै फाइनान्सियल एशोसियशनहरु यहाँ स्थापना भएका छन् । र, यही फाइनान्सियल हवमा नेपालीहरु विभिन्न हिसावले आउने जाने गरेका छन् । विशेषगरि यहाँ गोर्खालीको हिसाबले रेसिडेण्ट अनुमति पाएर शुरुदेखि आउने गरेको पाइन्छ । अझ सन् २००५ भन्दा अगाडि नेपालीहरुलाई अन एराइभल भिसा दिने गरिएकाले नेपालीहरुको फ्लो अलि बढी रहेको पाइन्छ । पछिल्लो समयमा भने हङकङमा बेसिक ल लागू भईसकेपछि हङकङमा बस्ने नेपालीहरु अन्य देशमा पनि गएका छन । हङकङ सरकारको डाटालाई आधार मानेर हेर्दा अहिले नेपालीहरु २५ हजारको हाराहारीमा छन् । कतिपय नेपालीहरुले नेपाली पासपोर्ट त्यागिसकेको कारणले गर्दा यसको संख्या ३० हजारको हाराहारीमा रहेको हामीले अनुमान गरेका छौ । यसको अतिरिक्त अझ गैरकानूनी बाटो भएर आउने नेपालीहरुको संख्या पनि धेरै छ । त्यसले गर्दा हामी ३० देखि ३५ हजारको हाराहारीमा नेपालीहरु छौ भनेर मान्ने गरेको अवस्था छ ।
यहाँ नेपालीहरु विभिन्न सेक्टरमा रहेका छन् । हङकङमा विशेषगरि सेक्युरिटीको पाटोमा गोर्खालीहरु भनेपछि ट्रष्ट गर्ने गरेको अवस्था छ । त्यसले गर्दा यहाँका भिआइपीहरुले नेपाली सेक्युरिटीहरुलाई नै खोज्ने गरेका छन । त्यसले गर्दा नेपालीहरुको लागि यो सेक्टर राम्रो रहेको अवस्था छ । त्यसैगरी कन्ट्रक्सनको क्षेत्रमा पनि नेपालीहरुको योगदान धेरै रहेको छ । यहाँका धेरै ठूला–ठूला बिल्डिङहरुमा नेपालीहरुको कन्ट्रिब्युसन रहेको छ । यहाँ टनेलहरु धेरै बनेका छन् त्यो टनेल बनाउने काममा पनि धेरै नेपालीहरुले दक्षता हाँसिल गरेको अवस्था छ । त्यसैगरि रेष्टुरेन्ट एण्ड बारमा पनि धेरै नेपालीहरु छन् । नेपालीहरुले बारहरु स्थापना गरेर नेपालीहरुलाई नै रोजगारी पनि दिइरहनुभएको छ । विजनेश सेक्टरमा पनि नेपालीहरु नभएको होईन तर विजनेश सेक्टरमा अलि कम भएको र यी सेक्टरहरुमा धेरै नेपालीहरु इन्भल्व भएको अवस्था छ ।
हङकङ व्यवसायिक मात्र नभई रोजगारका लागि पनि हब हो, तर अहिलेसम्म नेपालीहरुका लागि रोजगारको भिसा खुलाउन सकिएको छैन नि ?
हो, अहिले नेपालीहरुका लागि इप्लोइमेन्ट भिसा खुलाएको छैन । हामीले पनि यसका लागि लविङ गरिरहेका छौ । हामीले अपोजिसन पार्टीको लिडरसँग पनि मिटिङ गरेका छौ । हङकङको समस्या इम्प्लोइमेन्ट भिसा र अन एराइबल भिसाको हो । हामीले नजिकैको मकाउ पनि हेर्ने भएकाले त्यहाँ रहेका ४ हजार हाराहारीका नेपालीहरु हङकङ एयरपोर्ट प्रयोग गर्नको लागि ट्रान्जिट भिसा लिनुपर्ने अवस्था छ । त्यो कुरालाई पनि हामीले यहाँको अपोजिसन पार्टीको लिडरसँग राखेको धेरै भइसकेको छ । हङकङमा इम्प्लोइमेन्ट भिसा खुलाउन सक्यो भने संसारकै राम्रो कमाई हुने हङकङ रेमिट्यान्सको राम्रो स्रोत बन्न सक्छ ।
अर्कोतिर मकाउ सरकारले त्यहाँको डोमेस्टिक वर्करमा नेपालीलाई अनुमति दिएको छ तर पनि सरकारले मकाउमा डोमेस्टिक वर्करहरु पठाइरहेको छैन । यो विषयलाई मैले श्रम मन्त्रालयमा पनि कुरा उठाएको छु । तर पनि त्यसको सुनुवाई भइरहेको अवस्था छैन । त्यहाँ डोमेस्टिक वर्करको लागि हङकङमा भन्दा राम्रो तलब छ । त्यहाँ यस्ता वर्करका लागि मिनिमम ६ हजार डलर पारिश्रमिक छ, जबकी हङकङमा ४५ सय डलर मात्र छ । त्यसकारण मकाउलाई डोमेस्टिक वर्करको लागि राम्रो मानिन्छ । मकाउले नेपाली कामदार माग गर्दा पनि हाम्रो सरकारले रोकिरहेको अवस्था छ । त्यो खोल्न सकियो भने पनि हामीले डोमेस्टिक वर्करको लागि रोजगार दिलाउन सक्छौ ।
र, हङकङको हकमा पनि हामीले लबिङ गरिरहेका छौ । निकट भविश्यमा नै हुन लागेको हाम्रो प्रधानमन्त्रीको चाइना भ्रमणमा यो कुरा संबोधन गरिदिन पनि मैले महामहिम राजदूतावास बेइजिङमा लेखेर पठाइसकेको छु । सम्भवत त्यो एजेन्डा छलफलको विषय बन्न सक्छ भन्ने मलाई लागेको छ । हाम्रो तर्फबाट पनि लबिङ गरिरहेका छौ । इप्लोइमेन्ट भिसा खुलाउनको लागि प्रधानमन्त्रीको भ्रमणमा पनि यो एजेन्डाका रुपमा अगाडि बढाएका छौ । आशा गरौ निकट भविष्यमा यो इम्प्लोइमेन्ट भिसा खुलाउन सक्यौ भने हङकङ रोजगारीको राम्रो हव बन्न सक्छ ।
भनेपछि नेपालीहरुका लागि अव हङकङमा रोजगारी खुल्ने संभावना बढ्यो भन्दा हुन्छ ?
हामी आशावादी हुनुपर्छ । आशावादी भएर नै हामीले पहल गरिरहेका छौ । तथापि यस्तो पहल सन् २००५ देखि २०२३ सम्म निरन्तर भएको देखिन्छ तर पनि खोलिसकेको अवस्था छैन । हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पनि यसका लागि हारगुहार गरेका छौ । परराष्ट्र मन्त्रालयमा पनि लेखेर पठाएका छौ । अहिले प्रधानमन्त्रीको चीनको भिजिटमा एजेन्डाको रुपमा नै अगाडि सार्दै छौ । र, यसले केही रिजल्ट दिन्छ भन्ने आशावादी बन्न सकिन्छ ।
सन् २००५ देखि पहल गर्दा पनि नेपालीका लागि इम्प्लोइमेन्ट भिसा नखुल्नुको कारण के बुझ्नु भयो ?
विशेषगरी लामो समयदेखि यहाँ बसिरहनु भएका नेपाली समुदायलाई जति जानकारी छ त्यति जानकारी मलाई नहुन सक्छ । तर, यो २ वर्षको अवधिलाई हेर्दा हङकङ सरकारले हामीलाई भिसा नदिनुको पछाडि नेपाली नै भएको बुझ्न सकिन्छ । हङकङ आएर नेपालीहरु शरणार्थी बन्न खोज्ने ट्रेन र अर्कोचाँहि जतिपनि हाम्रो हङकङमा सेक्युरिटीको इष्युहरु निस्किन्छ त्यसमा नेपालीहरु बढी जोडिएको कारणले गर्दा नखोलेको भन्ने छ । तर, यसमा आधिकारिक सरकारी जवाफ भने अहिलेसम्म आएको छैन । हामीले सबैको मन जितेका छौ । अव हामीले वहाँहरुलाई कन्भिन्स गर्न सक्यौ र नेपाली साथीहरुले पनि व्यवहार परिवर्तन गर्न सके भने सम्भवत नेपालीहरुका लागि रोजगारको ढोका खुल्छ भन्ने मैले विश्वास लिएको छु ।
कोभिड पछि हङकङमा कामदारको अभाव छ, असोजको पहिलो साता प्रधानमन्त्रीको चीन भ्रमण छ, हङकङ खुलाउने सही बेला आएको हो ?
हो, यतिखेर हङकङमा कामदार सर्टेज भइरहेको बेलामा हामीले दवाव दिन सक्यौ भने त्यसको रिजल्ट आउँछ । हामीले यो बेला अलि धक्का दिन सक्यो भने सम्भवत रिजल्ट आउँछ होला । हामी हाम्रो लेवलबाट पनि प्रयास अनवरत रुपमा गर्दैछौ । सम्भवत यो एजेन्डा प्रधानमन्त्रीको भिजिटमा भयो भने मलाइ लाग्छ यसले मूर्तरुप पाउँछ ।
हङकङमा रहेको महाबाणिज्य दूतावासको विषयमा धेरै गुनासाहरु आएको पाइयो, तपाईहरुले चुस्तदुरुस्त सेवा दिन नसक्नु भएकै हो त ?
केही गुनासाहरु हामीले पनि सुनेका छौं । सबैभन्दा बढि सेवाग्राही पासपोर्ट नविकरण गर्ने हुनुहुन्छ । हिजो एमआरपी बनाउँदा सन् २०१३ देखि बनाएको पासपोर्ट अहिले २०२३ मा सकियो, त्यसकारणले गर्दा पासपोर्ट बनाउनेको भिडभाड बढी भएको हो । र एकै पटक चाप बढी हुँदा सबैलाई सम्बोधन गर्न नसकेको कारणले गर्दा गुनासो आउनु स्वभाविक पनि मानेका छौ ।
कोभिडको बेलामा हामीले नेपालीहरुलाई अनलाईन सर्भिस दियौ । अनलाइन सर्भिस दिदाँ हामी नेपालीहरु आइटीसँग त्यति जानकार हुँदा रहेनछौं । जसले गर्दा एजेण्टहरुको सहारा सेवाग्राहीले लिए । अलिक मिस अन्डरस्टान्डिङ भएको अवस्था थियो । तर, कोभिड सकिएपछि हाम्रै कर्मचारीहरु सरुवा हुनु भयो, नयाँ आउन समय लाग्यो । अनि चाहे अनुसार सेवा दिन नसकेको स्वीकार्नु पर्छ । हामीले चाहेर पनि १–२ महिना रेस्पोन्स गर्न सकेनौ । तर अहिले सबै नयाँ टिम आइसकेको छ । नयाँ टिमलाई यहाँको बस्तुस्थिति बुझ्न केही समय लाग्यो । र अहिले सबै वहाँहरु आआफ्नो जिम्मेवारीमा पोख्त भई सक्नुभएको छ । अहिले हामीले २/३ दिन भित्रमा सेवा प्रवाह गर्छौ । पब्लिकको गुनासो विगतका दिनलाई लिएर भएको हो । अबको दिनमा त्यस्ता गुनासो आउँदैन ।
अब हामीले प्रत्येक शुक्रबार फेसबुकमा गुनासो सुनुवाई भनेर लाइभ गछौ र वहाँहरुको गुनासो सुन्छौ । प्रत्येक शुक्रबार ४ देखि ५ बजेसम्म १ घण्टा फेसबुक लाइभ गर्ने भनेर हाम्रो अफिसियल फेसबुकमा राखिसकेका छौ ।
हङकङबाट नेपालीहरुले बढीभन्दा बढी फाइदा लिन चै सकेको देखिदैन, त्यतातिर तपाईहरुको ध्यान गएको छैन ?
हङकङलाई विकसित देशको रुपमा हामीले हेर्न सक्छौ । यहाँको सिस्टमलाई क्यारीओभर गर्न सकियो भने नेपालमा केही गर्न सकिन्छ । हङकङबाट नेपाल ट्रेड गर्ने र नेपालबाट हङकङ ट्रेड गर्न सक्यो भने फाइदा लिन सकिन्छ । नेपालबाट सामान ल्याएर यहाँ बेचेर फाइदा लिने भन्ने त्यति सम्भव देखिएको छैन । मैले चेम्बर अफ कमर्शसँग एउटा सर्भे पनि गरेको छु । सर्भे गर्दा, हामी बेसिकल्ली तातोपानी नाका, केरुङ नाका, कलकत्ता नाका र वायुएयर गरेर ४ वटा नाकामध्ये हामीलाई कुन उपयुक्त हुन्छ भनेर पनि मैले एनालाइसिस गरेको थिए । त्यो गर्दापनि हामी भारतसँग प्रतिष्पर्धा गर्न नसक्ने रहेछौ । हाम्रो प्रडक्ट र इन्डियाको प्रडक्ट लगभग उस्तै हुने र नेपालमा भन्दा सस्तो हुने भएकाले जुन सस्तो पर्छ कस्टुमरले त्यही किन्ने हो । त्यो हुँदा इन्डियाले नबेचेको सामान बेच्न सक्यौ भने फाइदा लिन सक्छौ अन्यथा हङकङलाई हाम्रा सामान बेचेर फाईदा हुँदैन ।
हङकङमा टेक्नोलोजिका हिसाबले पनि हाई टेक्नोलोजी छ र यहाँ टेक्नोलोजी सिकेका नेपालीहरुलाई नेपाल लगेर फाइदा लिन सकिन्छ । त्यसको लागि रोष्टर बनाउन सकिन्छ कि भनेर पनि लागेका छौ । यहाँ कस्तो खालका एक्स्पोटिज भएका नेपालीहरु छन् भनेर एउटा रोष्टर बनाउन हामी लागेका पनि छौ । त्यो भयो भने नेपालले फाईदा लिन सक्छ । यहाँबाट लान सक्ने टेक्नोलोजी र इन्भेष्टमेन्ट हो । त्यसका लागि हाम्रो तवरबाट कोशिस र पहल गरिरहेका छौ ।
अन्त्यमा, हङकङमा बस्ने समस्त नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
हामीले नेपालको सम्बन्ध सुधार्नको लागि र यहाँको रोजगारीको भिसा खुलाउनको लागि सबैभन्दा पहिला हाम्रा बानी व्यवहारमा केही सुधार गर्नुपर्छ । यहाँको नियमको पालना गर्नुपर्छ । त्यो गर्न सक्यौ भने नेपालीहरु हाम्रो लागि आवश्यक छ भनेर हङकङ सरकारले राम्रो नजरले हेर्न सक्छ । हाम्रा कारणले अन्य अवसरहरु नगुमाऔं ।