निजी एयरलाईन्सका कारण कर्णालीवासीलाई प्रदेश विमानस्थल प्रयोगविहीन बन्यो
- भदौ १८, २०८०
- 0
दानबहादुर बूढा / कर्णाली प्रदेशका जिल्लाहरुमा उडान भर्दै आएका निजी एयरलाईन्सहरुको एकाधिकारको कारण लुम्बिनी प्रदेशको बाँके राझा विमानस्थलको व्यस्तता बढेको छ । निजी एयरलाईन्सहरुले आफ्नो सहजताको लागि राझाबाट दैनिक हवाई उडान भर्न थाले पछि कर्णाली प्रदेश राजधानीमा रहेको बीरेन्द्रनगरको सुविधा सम्पन्न सुर्खेत विमानस्थल कर्णालीवासीका लागि प्रयोगविहीन भएको छ ।
दुर्गम हिमाली जिल्लाका नागरिकहरुको सहजताका लागि निमार्ण गरिएको रारा ताल्चा, जुम्लाको खलङ्गा, डोल्पाको जुफाल, कालीकोट रासकोट, रुकुमको मुसिकोट,सल्यान,जाजरकोट लगायतका स्थानमा यात्रा गर्ने नागरिकहरुको लागि लुम्बिनी प्रदेशको बाँके राझा विमानस्थल प्रयोग गर्दा कर्णालीवासी दोहोरो मारमा परेका छन् ।
प्रदेश राजधानी रहेको सुर्खेतको विमानस्थल सुनसान बन्दा कर्णालीवासीलाई बाँके उत्रेर सुर्खेत जानु पर्दा खर्च बढेको छ । सुर्खेतका प्रदेश कार्यालयबाट हुने कामकाज लगायत प्रादेशिक काम कारवाहीका लागि पनि राझा विमानस्थल झर्नु पर्दा कर्णालीवासीले ठूलो धनराशी गुमाउँदै आएका छन् । कर्णालीका हिमाली जिल्लाका कुनै पनि विमानस्थलमा उडान नभर्दा सुर्खेत विमानस्थलमा अहिले काठमाडौबाट बुद्ध एयरको दैनिक एक मात्र उडान हुँदै आएको यात्रु ऐनबहादुर हमालले बताउछन ।
कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री महेन्द्रबहादुर शाही ,निवर्तमान मुख्य मन्त्री जीवनबहादुर शाही लगायतका प्रदेश नेताहरुले प्रदेश राजधानी सुर्खेतमा रहेको विमानस्थलबाट उडान गराउन पहल गरे पनि सफल हुन सकेनन् । कर्णाली प्रदेशमा रहेका जिल्ला विमानस्थलहरुमा प्रयोग गर्न गराउनको लागि धेरै पहल गरे पनि कुनै निकायबाट सुनुवाई नहुँदा कर्णालीवासीले राझा विमानस्थल प्रयोग गर्न बाध्य हुँदा खर्च र समय दुबैको बचत गर्न नसकेको गुनासो दल बहादुर रावतको छ ।
प्रदेश सरकारको पहल र यात्रुहरुको माग अनुसार नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयको अनुमति निजी एयरलाईन्सहरुले लिए मात्र कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाहरुमा उडान भर्न सक्ने नागरिक उड्डयन प्राधिकरण कार्यालयका ताल्चा रारा मुगुका प्रमुख रोमन भट्टराइले प्रष्ट पारे ।
कर्णालीवासीको हवाई सहजताका लागि प्रदेश सरकारले सुर्खेतमा रहेको विमानस्थलबाट निजी एयरलाईन्सलाई कर्णाली प्रदेशका हिमाली जिल्लामा रहेका विमानस्थलहरुमा दैनिक उडन भर्न आवश्यक पहल गर्न ढिला भइसकेको छ ।