व्यक्तिचित्र– ‘महेन्द्र चम्लागाई : दुःखको खाडलदेखि सफलताको शिखरसम्म’
- रोजगारमञ्च
- भदौ ८, २०८०
- 0
जीवनमा सफलताको घडी कहाँ, कतिखेर र कुन बेला घुम्छ–थाहा नै हुँदैन । त्यो घडी कति चाँडो वा ढिलो घुम्छ– त्यो पनि पत्तो हुँदैन । छिटो चलाउँ भनेर पनि हुँदैन– ढिलो घुमाउँछु भनेर पनि हुँदैन । त्यो घडीले कतिखेर कहाँ क्लिक गर्छ पत्तै हुन्न ।
घरको आँगनबाट कहिल्यै टाढाको पाइला नचालेको एउटा मान्छेको जीवनमा कसरी एक अनौठो, चमत्कारपूर्ण र निकै उपल्लो तहको परिचय बनेर आउँछ थाहै हुन्न । हो, झापाका महेन्द्र चम्लागाईको जीवनमा यस्तै चमत्कारी सफलताले चुमेको छ ।
सामान्य कामदारका लागि २७ बर्ष अगाडि कतार छिरेका महेन्द्रको जीवनमा कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनलाई कतारले विदा गरेन– आजसम्म त्यतै राख्यो । कतारमा उनी कामदार भएर होइन–एउटा सम्मानित र सफल व्यवसायीको परिचय बनाएर आजसम्म रहिरहेका छन ।
उनी आफैलाई कतार पुगेपछि केही वर्षपछि नै फर्किहाल्छु भन्ने विचार थियो । तर परिस्थितिले अर्कै मोड लियो । उनी यसरी जमे– हजारौ नेपाली, बंगलादेशी, भारतीय लगायतका युवालाई रोजगारी दिने कम्पनीका संचालक नै बन्न पुगे । ४/५ हजारलाई रोजगार दिने मालिक बने । आम नेपालीहरुका लागि एक उदाहरणीय व्यक्तिको परिचय बनाए ।
दोस्रो घर कतार ठान्छन् उनी । २७ वर्षसम्म घामपानी, अँध्यारो–उज्यालो र साँझ–बिहान गर्दै बितेपछि कतारप्रति मोह र प्रेम बढेको छ महेन्द्रलाई । जीवनको आधा भाग यतै बितेकोमा उनी खिन्न हैन, खुशी छन् । आफ्ना बालबच्चा यहीँ जन्मिएका र यतै हुर्केकोमा कतारप्रति उनी कृतज्ञता व्यक्त गर्छन् । आफ्नो जीवनस्तर जिरोबाट हिरोमा पु¥याउने कर्मभूमी कतारलाई उनी घरभन्दा नजिक ठान्दछन् ।
•••
महेन्द्रको घरमा अभाव, दुःख र आर्थिक अप्ठेरो त थियो नै, मध्यम वर्गीय परिवारका जटिलता र गा¥हा साँघुरा छँदै थिए । परिवारमा धेरै छोराछोरी भएपछि सबैका इच्छा–चाहना र रहर पुरा गर्न बा–आमालाई हम्मे–हम्मे थियो । त्यसैले पनि घरमा भनेजस्तो उज्यालो र सुखको वातावरण थिएन । त्यही भएर पनि उनलाई घरको आर्थिक अवस्था उँभो उकास्नु पर्ने दायित्व आइलागेको थियो ।
डाँगीबारी ३, झापा (अहिले बाह्रदशी गाउँपालिका–७) स्थायी घर भएका महेन्द्र बुवा लोकनाथ र आमा डिकुरा चौलागाईका माइला छोरा हुन् । जेठा दाइ प्रेम चम्लागाईलाई पछ्याउँदै महेन्द्र कतार छिरेका हुन् । प्रेम अहिले काठमाडौं र झापामा व्यवसाय गरिरहेका छन् । प्रेमको सफलताको पारो पनि माथि नै बढिरहेको छ । कान्छा भाइ देविन्द्रप्रसाद चम्लागाई बाह्रदशी गाउँपालिकाका प्रमुख (मेयर) रहेका छन् । जनताको सेवामा उनले आफुलाई समर्पित गरेका छन् । आफ्ना तीनवटै छोराहरुको प्रगति देखेर अहिले बुवाआमा औधी खुशी छन् ।
महेन्द्र कर्मथलो कतारमा श्रीमती कन्चन, छोरी कामक्षा र छोरा दुर्गाका साथ सपरिवार बस्दै आएका छन् । सामान्य कामदारदेखि मालिकसम्म बनेका महेन्द्रको जीवनको आरोह–अवरोह धेरैका लागि सन्देशमूलक छन् ।
•••
सन् १९९६ मा महेन्द्र कतार गए । त्यो बेला भर्खरै नेपालबाट वैदेशिक रोजगारीका लागि गाउँघरबाट युवाहरु बाहिरिन थालेका थिए । भारतबाट रोजगारीका लागि अन्यत्र गइहाल्ने आँट नेपाली युवाहरुमा विकास भइसकेको थिएन । यही बेला महेन्द्र कतार पुगे । धेरै गाउँलेलाई रोजगारीमा जान यूएई, कतार वा कुवेतजस्ता ठाउँ पनि छन् र त्यहाँ रोजगारीको वातावरण छ भन्ने मेलोमेसो पनि थिएन ।
कतारमा टादमुर कम्पनीमा सेल्स एसिस्टेण्टको रुपमा उनले काम थालेका थिए । त्यहाँ उनले ७ बर्ष काम गरे । ‘त्यहाँ ठूलो मेहनत गरेर मैले आफ्नो सीप, ज्ञान र अनुभव बढाएँ’ चौलागाई भन्छन् । उनले भने– ‘म २ वर्ष जति काम गरेर अन्य नेपालीजस्तै २–४ लाख कमाएर फर्कुंला भन्ने थियो ।’ तर, उनले सोचेकोे जस्तो भएन कल्पनाभन्दा फरक परिस्थिती बन्यो ।
सन् २००३ मा उनले नेपाली पत्रपत्रिका, उपन्यास बेच्नेगरी एउटा पुस्तक पसल खोले । यो दोहामा यस्तो प्रकारको पहिलो पसल थियो । उनी नेपालबाट पत्रिका, पुस्तक मगाएर बेच्ने गर्दथे । यसमा उनलाई दाजुभाइको समेत साथ थियो । सन् २००५ मा उनले अर्को एउटा पाइला चाले । उडल्याण्ड इम्पोर्ट, एक्सपोर्ट कम्पनीका नाममा उनले नेपाल, चीन तथा दुवईबाट कपडा कतारमा कपडा ल्याएर बेच्न थाले । सन् २०१० मा महेन्द्रले व्यापार अझ विस्तार गरे । उनले २८ जना कामदार थपेर कम्पनीको नाम फेरे उडल्याण्ड कन्स्ट्रक्टिङ एण्ड जेनरल सर्भिस ।
महेन्द्र भन्छन्– ‘म त १८ घण्टासम्म काम गर्थें । लगनशीलता र मिहिनेतलाई साथी बनाएर हिडिरहे’ त्यसकै प्रतिफल आजको स्थितीमा आइपुगेको उनको धारणा छ ।
बाल्यकाल सम्झेर बेलाबखत पीडाले चिमोटिरहन्छ उनलाई । घरको अभाव र गरीबीले थिचेरै उनी मुग्लान भासिएथे । पढ्दै गरेको कक्षाकार्य थाती राखेर उनी कतार गएथे । अनि केही वर्ष जागिर खाएपछि आफ्नै कम्पनी खोलेर उनले जीवनमा तरक्की नै गरे । उनी जसरी अगाडि बढे– फर्केर हेर्ने फुर्सद भएन । काम खोज्न आएका उनी हजारौलाई रोजगार दिने मालिक हुन पुगे ।
‘फँसियो पो । तर यो फसाइँ नै मेरो सफलता पनि त हो नि’ मुसुक्क हाँस्दै उनले भने । सायद यही मुस्कानभित्र धेरै–धेरै दुःख, पीडा र परिश्रमको फल मिसिएको हुँदो हो । यही मुस्कानका तहभित्र धेरै–धेरै अभाव र चोटहरुका बोलीवचन खप्टिएका हुँदा हुन् ।
परिस्थिति के–के भयो । उनी यतै रमाए, यतै बसे र यतै व्यवसायलाई एउटा गर्बिलो उचाइ पनि दिए । उनले औंला भाँचेर समयको हिसाब गरे– ‘छोराछोरी पनि यतै जन्मे, हुर्के, पढे, अव छोरी थप अध्ययनका लागि विदेश जाँदैछिन् ।’
•••
कतारमा आर्थिक समृद्धिसँगै नयाँ–नयाँ व्यापारिक फड्कोले दिन दुगुना र रात चौगुनामा वृद्धि भयो । त्यही गतिमा गाँसिए– महेन्द्र ।
नेपाली व्यवसायीहरु मिलेर कतारमा एउटा संस्था पनि खोलेका छन् । नेपाली दूतावासको प्रस्तावमा नेपाली व्यवसायी संघ, कतार स्थापना भएको छ । कतार सरकारमा आधिकारिक दर्ता भएको नेपाली व्यवसायी संघ नै पहिलो नेपाली संस्था हो । महेन्द्र संघका अध्यक्ष हुन् । उनकै पहलमा संस्थाले छुट्टै पहिचान बनाउन सफल भएको छ । आफ्नो कार्यकालमा अझै विशेष योगदान पु¥याएर नेपाल र कतारबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उनको लक्ष्य छ ।
त्यसो त नेपाली समाजलाई कुनै न कुनै योगदान पु¥याउनमा उनी सधैं जुटिरहे । बाढीपिडित, भूकम्प, कोरोना लगायतका दैवीक र प्राकृतिक विपत्तिमा महेन्द्र्रकै नेतृत्वमा संघले धेरै काम गरिआएको छ ।
कतारमा काम नपाएर अलपत्र परेका वा घर फर्किन नसकेका दुःखी मानिसहरुलाई संघले सहयोग गर्दै आएको छ । अहिले संघ निकै क्रियाशील छ । यसमा आबद्ध सबै पदाधिकारी र सदस्यहरुको यसप्रति विशेष लगाव छ ।
‘हामीले सेवा गर्ने कुरामा कुनै कमी गरेका छैनौँ । यो कमाएको धनको केही हिस्सा नेपाल र नेपालीको लागि खर्च गर्नैपर्छ अनि मात्र हामीले पाएको सफलताले सार्थकता पाउनेछ’ महेन्द्रको बुझाई छ ।
कतार धेरै नेपालीको कर्मभूमि हो । धेरैले यही भूमिबाट जीवनस्तर उकासेका छन् । राम्रो आय आर्जन गरेर नेपालमा आफ्नो आर्थिक स्थिति सुदृढ पारेका छन् । नेपाल र कतारको श्रम, बजार, उत्पादन र लगानी सबै क्षेत्रमा गहिरो अध्ययन भएका चम्लागाई नेपालमा कतारका व्यवसायीको लगानी भित्र्याउन पनि गृहकार्य गरिरहेको बताउँछन् ।
अर्कोतर्फ नेपाल र कतारको व्यापार प्रवद्र्धन गर्नका लागि नेपाल निर्यात व्यवसायी संघसँग नेपाली व्यवसायी संघ कतारबीच साझेदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।
‘कतारका व्यवसायी, नेपाली दूतावास र नेपालका निर्यात व्यवसायी भएर नेपाल–कतार व्यापार व्यवसायमा आगामी दिनमा राम्रो नतिजा ल्याउने गरी काम गरिरहेका छौ’ महेन्द्रको दावी छ ।
कतारमा नेपाली कामदार, श्रम, सीप र मिहिनेतको ठूलो उपस्थिति छ । उनी भन्छन्– ‘गल्फ कन्ट्रीबाटै धेरै रेमिट्यान्स नेपालमा गइरहेको छ । कतारले देशको अर्थतन्त्रमा विशेष भूमिका खेलेको छ ।’ उनी थप्छन्–‘१ रुपैया कमाउँदा पनि हामी नेपालमै पठाइदिन्छौँ ।’
व्यवसायी संघका साथीहरुको सहयोग लिएरै भए पनि कतारका केही व्यवसायीलाई नेपाल जसरी पनि लैजाने र लगानी गर्न लगाउने अठोट सुनाउदै महेन्द्रले कतारका व्यवसायीहरुलाई नेपाल लैजानका लागि नेपाल सरकारले पनि विशेष पहल गर्न आवश्यक रहेको बताउछन । नेपालमा सरकारको स्थिरता भएमा कतारका धेरै व्यवसायीहरु नेपाल आउन इच्छुक रहेको उनको भनाई छ ।
•••
साढे ३ लाख नेपालीको कर्मभूमी हो कतार । ‘कतारमा न्युनतम् तलब सरकारले तोकिदिएको छ । दूतावासमा त्यसबारेमा नराम्रो खवर र गुनासो उत्तिको आएको भेटिन्न । कतारले नेपालीका निम्ति ठूलो रोजगारीको अवसर दिएको छ’ आफू पनि कामदार भएरै कतार छिरेका महेन्द्र पहिलाको तुलनामा अहिले धेरै राम्रो भएको बताउँछन् ।
जीवन धेरै समय कतारको सडक, गल्ली र समुन्द्रका किनारमा बित्यो । छोराछोरी पनि हुर्किए, पढाइलेखाई पुरा गर्ने चरणमा छन । अब भने उनलाई जन्मभूमि नेपालप्रतिको माया र मोहले स्वदेश फर्कौ–फर्कौ लाग्न थालेको छ । ‘अब भने नेपालमा लगानी अझै बढाउने, धेरै भन्दा धेरैलाई रोजगारी दिने र राष्ट्रका निम्ति ठोसरुपमा योगदान पु¥याउने इच्छा छ’ महेन्द्रको सपना छ ।
‘नेपालमा पनि लगानी भित्राउँदै त्यो लगानी अझै बढाउने र धेरैका निम्ति रोजगारी दिने वातावरण बनाउनेछु’ महेन्द्रको सपना छ ‘यता व्यापार गरियो तर भोलिका दिनमा देशमै केहि काम गर्ने मन छ, नेपालमै लगानी बढाएर राष्ट्रका निम्ति ठोसरुपमा योगदान पु¥याउने इच्छा छ ।’
उनी अहिलेसम्मको अवस्थामा आइपुग्दा आफु सन्तुष्ट रहेको बताउदै भन्छन्– ‘यो ठाउँमा आइपुग्छु भनेर मैले कल्पना पनि गरेको थिइनँ, मेरो मिहिनेतले काममा सफलता र उपलब्धी पाएको छु, म धेरै खुशी र सन्तुष्ट छु ।’
‘एक अर्थमा मेरो जीवन आर्थिक हिसाबले स्थापित भइसक्यो । मेरो जीवनको उन्नति र प्रगतिमा धेरै ठूलो योगदान छ कतारको । म कतारप्रति सधैँ ऋणी छु । कतारको समाज, सरकार र यहाँका जनताप्रति म सधैँ श्रद्धाले शिर झुकाउँछु ’ महेन्द्र भन्छन् ।
•••
महेन्द्र अहिलेको आफ्नो जीवनलाई दोश्रो जन्म मान्दछन् । पछिल्लो समय स्वास्थ्यमा ठूलै समस्या आयो । लामो समय अचेत अवस्थामा अस्पताल बस्नु प¥यो । भगवानको कृपा र आफ्नो सत्कर्मले उनलाई फेरि थप उर्जासहित समाजमा ल्याएको छ । यो कर्कलाको पातको पानीजस्तो त हो जीवन । यो अमूल्य जीवनलाई अब समाजसेवा र राष्ट्रका लागि योगदान पु¥याउनुपर्छ भन्ने सोचले महेन्द्रलाई अझ बढि घोच्न थालेको छ । अचेल शिक्षा, स्वास्थ्य, धर्मकर्मजस्ता सामाजिक र परोपकारी कर्मतिर मन गएको छ उनको ।
हुन त उनले झापामा दिपजन बोर्डिङ स्कुल संचालन गरेर शिक्षाको ज्योति छरिरहेका छन् भने अझै शिक्षाको क्षेत्रमा योगदान पु¥याउने उनको उद्देश्य रहेको छ । महेन्द्रको सपना छ– ‘मैले देशैभरीका दुःखी, असहाय र गरीब छात्रछात्रालाई सहयोग गर्न नसके पनि आफू जन्मी, हुर्की गरेको ठाउँका बालबालिकाको शिक्षाका लागि मन फराकिलो पार्न सकुँ ।’
महेन्द्रको जीवन भोगाईले कहिल्यै पछाडि फर्कनु परेन, उनी त सफल भए तर देश अझै सफल बन्न सकेको छैन । नेपाललाई अव महेन्द्र जस्ता सफल धेरै नेपालीको सीप, अनुभव र लगानीको आवश्यकता छ ।