वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ : अर्थमन्त्री डा. महत
- असार २६, २०८०
- 0
अर्थमन्त्री डा.प्रकाशशरण महतले वित्तीय संघसंस्थाहरु जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर लाग्ने हो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका छन् ।
नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक कार्यक्रममा उनले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी भएको भन्दै वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्ने बताए ।
उनले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ । ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ ।’
उनले मूल्यको पनि जुन अवस्था थियो त्यो पछिल्लो आकडामा घट्दै गएको भन्दै यो देश विकासको लागि सकारात्मक विषय भएको बताए ।
यस्तै उनले मौद्रिक नीतिको लक्ष्य मूल्य समायोजन मात्रै नभएको भन्दै यसले पूरा अर्थतन्त्रलाई स्थिर र विकासउन्मुख गराउने काम गर्ने बताए ।
उनले भने, मूल्यको पनि जुन अवस्था थियो त्यो पछिल्लो आकडामा घटि राखेको छ । ७ प्रतिशतभन्दा तल आएको कुरा राम्रो हो आउँदो वर्ष मूल्यलाई साढे ६ प्रतिशतको तहमा ल्याउने लक्ष्य राखेका थियौ त्यसको लागि यो राम्रो समाचार हो । मौद्रिक नीतिको लक्ष्य मूल्य समायोजन गर्नु मात्रै होईन्, समग्रमा यसको लक्ष्य भनेको पूरा अर्थतन्त्रलाई स्थिर र यसलाई विकासउन्मुख गराउने हो । आउँदो वर्षको सुरुमै मौद्रिक नीतिले यसको सम्बोधन गर्ने छ र बैकिङ् क्षेत्रमा देखिएको तरलतालाई पनि सम्बोधन गर्छ ।
निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनस्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको उनको भनाइ छ ।
उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको भन्दै प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको बताए ।
उनले भने, वित्तीय संस्था धेरै छन्, साना वित्तीय संस्थाले पनि ठूलो स्वरुप ग्रहण गरेका छन् । कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबु बाहिर गएको अवस्था पनि छ । यसबारेमा राष्ट्र बैंकले उचित निर्णय लिनेछ ।
उनले बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिपेक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैंकले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको पनि बताए ।