शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति सेवा सुरु

news-details

वैदेशिक रोजगारीका लागि श्रमस्वीकृतिलगायतका सेवा आज शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि आरम्भ भएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीति अनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।

यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेतबाट यो सेवा उपलब्ध गराउन थालिसकेको छ ।

मन्त्रालयले धनगढीको श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेर हाललाई सोही कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको हो ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *