निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत

news-details

अर्थमन्त्री डा प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले उत्पादनका क्षेत्रमा लगानी केन्द्रित हुन नसके मुलुकको अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने बताएका हुन ।

“निजी क्षेत्रले व्यापारमा मात्रै जान खोज्ने जुन परम्परा छ, अब लगानी उत्पादन क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ । लगानीको वातावरण सहज बनाउनका लागि सबै खालका प्रयास सरकारबाट हुन्छन् । उत्पादन बढाउनतर्फ हामी सबैले सोचौँ”, उनले भने ।

अहिले अर्थतन्त्रमा समस्या देखिनुमा कुनै एक पक्ष मात्र जिम्मेवार नभई सबैतिर समस्या रहेको उनले बताए । “समस्या सबैतिर छ । निजी, राजनीतिक, प्रशासनिक क्षेत्र सबैतिर कमीकमजोरी छन् । यसलाई स्वीकार्न कुनै हिचकिचाहट गर्नुहुँदैन”, अर्थमन्त्री महतले भने, “चालु आर्थिक वर्षको नौ महिना बितिसक्यो, अहिले बल्ल ठेक्का प्रक्रिया अघि बढिरहेका छन् । हाम्रो प्रभावकारिता र पारदर्शिता बढ्न जरुरी छ ।”

अर्थतन्त्रमा परेको अहिलेको दबाब र अप्ठयारोलाई सरकारले गम्भीरताका साथ लिएको उनको दाबी छ । तर खराब सूचकहरुलाई मात्रै हेरेर निराश हुनुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । “हामी समग्रमा एकदमै निराश हुनुपर्ने कारण छैन । बाह्य सञ्चिति राम्रो छ । विदेशमा गएका हाम्रा युवाहरुको योगदान र रेमिट्यान्सले गर्दा बाह्य क्षेत्र सहज अवस्थामा छ । औसत अङ्कको आर्थिक वृद्धि हासिल गर्नसक्ने अवस्थामा हामी छौँ”, अर्थमन्त्री महतले भने ।

विश्व बैंक, एसियाली विकास बैंकजस्ता निकायहरुले गरेको प्रक्षेपणमा नेपालले यस वर्ष चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेकामा यसलाई सुखद मान्न सकिने उनको भनाइ छ । विश्वका अरू धेरै देशहरुले त्यो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अवस्था नरहँदा नेपालले चार प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अवस्था रहनु सकारात्मक रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिँदा र युद्धको अवस्था नरहँदा नेपालले यसमा थप प्रगति गर्नसक्ने पनि अर्थमन्त्री महतले बताए ।

सरकारले अल्प, मध्यम र दीर्घकालीन योजना बनाएर अर्थतन्त्र सुधारको प्रयास गरिरहेको पनि अर्थमन्त्री महतको दाबी छ । अल्पकालीन सुधारका रुपमा सरकारको सम्पूर्ण ध्यान चालुगत शीर्षकको अनावश्यक खर्च नियन्त्रण र पूँजीगत खर्च वृद्धितर्फ जाने उनले उल्लेख गरे ।

त्यस्तै, अनावश्यक खर्र्च निर्ममतापूर्वक कम गर्न सरकार लागिपरेको उनको भनाइ छ । चालु शीर्षकका तलब भत्ता, सामाजिक सुरक्षालगायतका अनिवार्य दायित्व सिर्जना भइसकेका क्षेत्रमा खर्च कटौती गर्न नसके पनि अरू शीर्षकमा मितव्ययिता कायम गर्ने उनले बताए ।

अर्थतन्त्र चलायमान बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने र सरकारले यसमा सहजकर्ताको भूमिका मात्रै खेल्ने उनको भनाइ छ । “निजी क्षेत्र र आम नागरिक, उद्यमी, व्यवसायीको योगदानबाट अर्थतन्त्र चलायमान हुने हो । सरकारले सहजकर्ताको भूमिका निभाउने, कानुनी वातावरण बनाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने र वैदेशिक लगानीको वातावरण सहज बनाउने हो”, अर्थमन्त्री महतले भने, “कर्मचारीतन्त्रमा देखिएका ढिलासुस्ती, प्रक्रियागत झन्झटलगायतका समस्या समाधानका लागि सरकारले पहल गर्छ ।” विदेशमा रहेका गैरआवासीय नेपालीहरुबाट नेपालमा लगानी भित्र्याउन सक्ने पर्याप्त अवसर भएकाले यसका लागि सहजीकरण गरिने पनि अर्थमन्त्री महतले कार्यक्रममा बताए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *