सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिले साथ नदिए सरकार ढल्ने

news-details

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत बिहीबार लिँदै छन ।

दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने सुदूरपश्चिम संसद् सचिवालयले जनाएको छ ।

यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि बुधबार बिहान ११ र दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको र अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । बन्दीहरूको रिहाइ, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाइ छ ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ । नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन् ।

रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र एक जना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *