अब पुनः श्रम स्वीकृतिको नविकरण विदेशस्थित नियोगबाटै
दुईपटकसम्म सुविधा लिन सकिने व्यवस्था
- पुस १०, २०७५
- 0
सरकारले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कार्यरत नेपाली कामदारको पुनः श्रम स्वीकृति आफु कार्यरत मुलुकको कूटनीतिक नियोगबाटै लिन सकिने भएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ मा संसोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरिरहेका कामदारले सम्बन्धित मुलुकका राजदुतावास वा अन्य कुटनीतिक नियोगबाटै श्रम स्वीकृति नविकरण गर्न पाइने व्यवस्था गर्न लागेको हो ।
आइतबार संघीय संसदमा दर्ता भएको उक्त प्रस्ताव संसदबाट पारित भएपछि लागू हुनेछ ।
हालसम्म विदेशमै काम गरिरहेको अवस्थामा करार अवधि सकिएपछि पुनः श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता रहँदै आएको छ । नयाँ व्यवस्थाबाट रोजगारीमा गएका धेरै नेपालीलाई सहज हुने मन्त्रालयले जनाएको छ ।
विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म यसरी पुनः श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि कामदारले कार्यविधि र निर्देशिकाले तोकेका कागजपत्र भने पेस गर्नुपर्ने छ ।