राज्यले व्यवसायीको मर्का नबुझिदिदा रञ्जना ट्रेडका एक व्यवसायीले गरे आफ्नो देह त्याग
- भदौ २३, २०७९
- 0
काठमाडौं / विगत लामो समयदेखि न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बनेपा घर भई हाल रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले गत मंगलबार आत्महत्या गरेका हुन् ।
भुकम्प र कोभिडपछि चिनबाट सामान आयात गरेर व्यापार व्यवसाय गर्ने अधिकांश व्यवसायीहरु समस्यामा परेका छन । चिनबाट सामान आयात निर्यात हुने रसुवा र तातोपानी नाका भुकम्प र कोभिड पछि नियमित सुचारु हुन सकेको छैन । झन पछिल्लो समय चाडवाड तथा जाडो सिजन सुरु हुनै लाग्दा चिनले यी नाका बन्द नै गरेपछि व्यवसायीहरुमा अन्यौलता छाएको छ ।
कतिपय व्यवसायीहरुको सामान अहिले पनि उत्तरी नाका खुल्ने आशामा बीचबाटोमै अडकिएर बसेका छन । यस्तै विकल्पकारुपमा कतिपयले भारत हुदै सामान आयात गर्ने प्रयास गर्दा पनि सामान ल्याउन लामो समय र उच्च लागत लाग्दा व्यापार व्यवसाय ठप्प जस्तै अवस्थामा पुगेको छ । जसका कारण ऋण लिएर व्यापार–व्यवसाय गर्नेहरु त्यही ऋणको बोझले झनझन थलिन पुगेका छन ।
सरकारले व्यवसायीहरुका समस्या समाधानमा चासो नदिदा र बैंक तथा बित्तीय संस्थाहरुको ब्याजदर अत्याधिक वृद्धि हुदा ऋण तिर्न सक्ने अवस्था नदेखेपछि घिमिरेले आत्महत्याको बाटो रोजेको मृतकको आफन्तको भनाई छ ।
व्यवसायी घिमिरेको आत्महत्याप्रति दुःख प्रकट गर्दै रञ्जना व्यापार संघले मृृतकको आत्माको चिरशान्तिको कामना गर्दै बुधबार रञ्जना ट्रेड सेन्टरमा शोकसभा आयोजना गरेको थियो ।
रञ्जना व्यापार संघकी अध्यक्ष बिना श्रेष्ठले साना तथा मझौला व्यवसायीप्रति राज्यको व्यवहार र नीति–नियम राम्रो नहुनु, दशैंको मुखैमा उत्तरी नाकामा सामानहरु अड्किनु तथा सबै व्यापारी–व्यवसायीहरु लोनबाटै चल्ने भएकाले ब्याजदर बढ्दै जादा, सहकारी संस्थाहरुले एकदमै च्यापेर ब्याजदर लिदा र कतिपय सहकारीहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगर्दा लगायतका विविध कारणले व्यवसायीहरु आत्महत्याको बाटो रोज्न बाध्य भएको बताइन ।
“यस्ता केशहरु अरु पनि नआउलान भन्न सकिदैन त्यसैले यस्ता घटनाप्रति राज्यको ध्यानाकर्षण हुन जरुरी छ ।” अध्यक्ष श्रेष्ठले भनिन । उनले अहिलेको मौद्रिक नीति, बैंक तथा वित्तिय संस्थाले मनलाग्दी ब्याजदर परिवर्तन गर्ने परिपाटी र लोन पास हुदा पनि दिन गरिने ढिलाई लगायतका झन्झटले थुप्रै व्यापारी–व्यवसायीहरु मर्कामा परिरहेको जानकारी दिईन् ।
आफुहरुसँगै व्यवसाय गर्ने व्यवसायी गुमाउँनुपर्दा एकदमै मर्माहित भएको बताउँदै अध्यक्ष श्रेष्ठले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँन रञ्जना व्यापार संघ कटिबद्ध भएर लाग्ने जानकारी दिइन् । साथै उनले राज्यले बैंक तथा वित्तीय संस्थाहरुलाई कडा निगरानीमा राखी व्यवसायीलाई सहज रुपमा ऋण उपलब्ध गराउँन, व्याजदर स्थिर राख्न र नाकामा अड्किएर रहेको सामान चाँडोभन्दा चाँडो खुलाउन सरकार समक्ष आग्रह गरिन् ।
त्यस्तै जयन्ती व्यापार संघका अध्यक्ष समिर यादवले लामो समयदेखि व्यवसायीका समस्याहरु यथावत् रहेको र यसमा सरकारले वास्ता नगरेका कारण व्यवसायीले ज्यान गुमाउनु परेको बताउँदै नीति नियम राम्रो बनाउँन र व्यापारी–व्यवसायीको मर्का बुझिदिन सरकारलाई आग्रह गरे ।
गलत कागजात प्रयोग गरेर अरुले ऋण पाइरहदाँ व्यवसायीहरुलाई भने ऋण लिन झण्झट थोपर्ने र ऋण पाईहालेपनि चर्को ब्याजदर तिर्नुपर्नेे अवस्था भएको हुँदा व्यवसायीहरु सधैं मारमा परेको अध्यक्ष यादव बताउँछन् ।
त्यस्तै रञ्जना व्यापार संघका पूर्वअध्यक्ष टेकबहादुर शाक्यले देशको अर्थ व्यवस्थामा स्पष्ट नीति र कानुन नबन्दा साना तथा मझौला व्यवसायीहरु आत्महत्या गर्न बाध्य भएको बताए । नाका बन्द हुदाँ मृतकको सामान केरुङ नाकामा अड्किएर रहेको र यहाँ उनले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुलाई चर्को ब्याजदर तिर्न गाह्रो भएपछि आत्महत्या गरेको हुनसक्ने व्यवसायी शाक्यको भनाई छ ।
व्यवसायीहरुले आफ्ना समस्याका विषयहरु बारम्बार बताउँदा पनि राज्य कानमा तेल हालेर बसेको बताउँदै पूर्वअध्यक्ष शाक्य सरकारले व्यवसायीका कुरा सुनुवाई नगरे व्यवसयायीहरु आफ्ना सटरमा तालाचाँबी लगाएर सरकारलाई बुझाउन बाध्य हुने बताउँछन् ।
व्यवसायीहरुले भोग्दै आएका समस्याहरु समाधान गर्नका लागि राज्यको ध्यान बेलैमा जान जरुरी छ । भुकम्प, बाढीपहिरो, कोरोना जस्ता महामारीबाट अलि माथि उठ्दै गरेको व्यवसाय दशैंको मुखैमा आएर उत्तरी नाका बन्द हुँदा व्यवसायीहरुको व्यवसाय धरसायमा पर्ने स्थिति देखिएको छ । व्यवसायीले चाडपर्वलाई लक्षित गरी ल्याएको सामान रोकिदाँ यसको मार आम व्यवसायीलाई पर्न गएको छ । यो समस्या अहिलेको मात्र होइन विगत लामो समयदेखि व्यवसायीहरुले विभिन्न समस्याहरु सामना गरिरहदा आत्महत्यासम्मको बाटो रोज्नुपरिरहेको छ । सरकारले स्पष्ट नीति नियम निर्माण गरेर तथा व्यवसायीहरुका समस्याहरुलाई सुनुवाई गरेर त्यसलाई कार्यान्वयन गर्ने हो भने यस्ता घटना कम हुने थिए । यसका लागि दिगो पहल कदमी गर्न आवश्यक छ । होइन भने यस्ता घटनाहरु अरु पनि नघट्ला भन्न सकिदैन ।