पतञ्जली र आइएमईबीच सम्झौता, भारतबाट नेपाल पैसा पठाउन सहज
- भदौ १५, २०७९
- 0
पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिट्यान्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा। ऋषी कुमार र आइएमई इन्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन ।
हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो । समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।
यस्तै आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे । उनले यो साझेदारी घोषणा गर्न पाउँदा असाध्यै खुसी लागेको बताउँदै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पतञ्जली केन्द्रहरू मार्फत नेपालमा रहँदै आएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्य बालकृष्णले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने बताए । बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पुरा नगरी यस्तो सेवा लिन सकिने आचार्य वालकृष्णले बताए ।
हरेक वर्ष हजारौँ नेपाली विशेषगरी रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन । भारतका हरेक सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले सबैको सहज पहुँच पुग्ने हुदा भारतमा कार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्ने जनाइएको छ ।
विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गरिरहेका छन । यही स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यले भारतमा बसोबास गर्ने नेपालीले नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । नेपालभर विस्तारित संजाल भएको आइएमई पे वा आइएमई एजेन्टहरूबाट रेमिट्यान्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएको जनाएका छन् ।
कार्यक्रममा राजदुत डा। शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्याकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्च पदस्थ कर्मचारीहरू लगायत इन्डियामा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।