नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, नेपाली स्वास्थ्यकर्मी पठाउन बाटो खुल्यो
- भदौ ६, २०७९
- 0
नेपाल र संयुक्त अधिराज्य बेलायतबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुई देशबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा नेपाली स्वास्थ्यकर्मी पठाउने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थितीमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।
समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवं नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्धत पुग्ने विश्वास लिइएको छ ।
यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले कति स्वास्थ्यकर्मी पठाउने भन्ने विषयमा भने निर्णय भइनसकेको बताए । उनले भने, “कति नर्स पठाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । तर दुबै देशका प्रतिनिधिहरुको बैठक बसेर कार्यविधि बनाएपछि मात्र कति स्वास्थ्यकर्मी पठाउने भन्ने निर्णय हुन्छ ।”
डा भुसालले यस समझदारीबाट नेपाली स्वास्थ्यकार्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि बाटो खुल्ने बताए ।
यसैगरी, बेलायतका राजदूत निकोला पोलिटले बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीका सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको जानकारी दिए ।
रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा कम्तीमा ६.५ अङ्क प्राप्त गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौता पत्र अनुसार बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६.५ अङ्क ल्याउनुपर्ने हुन्छ ।
त्यस्तै, कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने छन् । नियुक्ति प्रक्रियाका लागि कुनै शूल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने सम्झौता पत्रमा लेखिएको छ ।
यस्ता छन् सम्झौता पत्रमा उल्लेख भएका विषयः
१. स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।
२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।
३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने ।
४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।
५. परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।
६. नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।
७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।
८. समझदारी पत्र, नियुक्ति प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेबसाइट मा उपलब्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने।