कोरिया रोजगारी : सुख मात्र होइन, दुःख भोग्ने नेपाली पनि छन

news-details

‘कति बुझाएर आउनु भो ?’

‘१२ लाख त पक्कै होला ?’

म हाँसेँ मात्र । मैले परिचय दिन नपाउँदै उनैले फेरि सोधे –‘अस्ति भर्खर एक जनाले १५ तिरेको थियो रे, तपार्ईंले पनि त्यति नै हो त ?’

झापाका विमल लिम्बू दक्षिण कोरिया पुगेको १० वर्ष नाघेको रहेछ । निकै अनुभव भए झैँ उनले एक छिन अरुलाई बोल्नै दिएनन् । एकपछि अर्को प्रश्न गर्दै आफैँ उत्तर दिइरहे ।

म भर्खरै मात्र पुगेको थिएँ । त्यो कोठामा ७/८ जना युवाहरू बसेका थिए । ३÷४ जना त तास खेल्दै थिए । केही मोवाइलमा मस्त थिए । केही कानमा एयरफोन लगाएर मस्किँदै कुरा गरिरहेका थिए । कोही हातमा ग्लास लिएर चुस्की लगाउँदै थिए । मैले अनौठो मानेर यताउता हेरेँ ।
मैले सरसर्ती कोठा नियालेँ । कोठाको भित्तातिर ब्ल्याङ्केटको चाङ थियो । पलङ कतै थिएन । कोठा भने सफा नै थियो । किचन पनि थियो तर त्यति चल्तीमा भएजस्तो देखिदैन थियो । वासिङ मेसिन, खानेपानीका लागि तातो चिसो आउने मेसिन ।

कोठा छिर्ने बित्तिकै सुटकेसको चाङ थुप्रेको थियो । विमलले भने– ‘त्यो चाङमा तपाईंको पनि थपियो, त्यहीँ राख्नुहोस् ।’

कोही–कोही त भित्तामा अडेस लागेर चुपचाप टोलाइरहन्थे । तर, विमलले मलाई सोध्न छाडेनन्– नेपालको खबर, राजनीतिक हालचाल र नेताहरूको चालामाला । मैले उत्तर नदिई उनकै मात्र कुरा सुनिरहेँ ।

कोरियाका विभिन्न सहरमा यस्ता अनेक कोठा छन्, जसलाई सेल्टर हाउस भनिन्छ । विमल यो सेल्टरमा बसेको झण्डै २ वर्ष बितिसकेको रहेछ ।

‘धेरै नेपालीलाई यस सेल्टरले बास दिएको छ’ उनले भने । कोरिया पुग्ने धेरै नेपाली युवाहरूसँग यस्ता सेल्टरमा भेट्न, देख्न र कुरा गर्न पाइने रहेछ । त्यस सेल्टरमा आउने जाने हरेकको कथा थाहा छ, उनले फुर्तिसाथ भने । उनले फेरि दोहो¥याएरै सोधे–‘साँच्चि कति तिरेर आउनु भो ?’

मैले मेरो परिचय दिएँ । मिडियामा काम गर्छु भनेपछि चैँ उनी अलिकति हच्किए । र भनिहाले– ‘हाम्रो सेल्टरमा पत्रकार आउन बाँकी थियो, त्यो पनि पुरा भयो ।’

विमलका अनुसार त्यस सेल्टरमा कलाकार, नेतादेखि दुःखसुख भोग्ने सबै नेपालीहरू आएका रहेछन् । गार्मेन्टमा काम गरे पनि नेपालका सबै पक्षसँग जानकार राख्थे विमल ।

कोरिया उत्रने बित्तिकै केही दिन होटलको बास भयो । तर, मलाई नेपालीहरूको कथाव्यथा बुझ्नु थियो । एनआरएनकी जुनु गुरुङ र उनका श्रीमान्ले होटल वा नेपालीहरू बस्ने सेल्टरमा बस्ने भनेर मलाई प्रश्न गर्नुभयो । मलाई त होटलमा बस्नु थिएन, नेपालीहरूको सुखदुख नजिकबाट नियाल्नु थियो । मैले सेल्टरमा नै जाने बताए । मनले खोजेजस्तै भयो ।

सिओलमा रहेको दोङदेमुनको सेल्टरहरूमा पुग्दा धेरै नेपाली विभिन्न समस्या झेलेर त्यहाँ पुगेका रहेछन् । केही नेपाली व्यवसायीहरू मिलेर खोलेको सेल्टरमा पुग्दा मलाई कोरियामा रहेका नेपालीहरूको वास्तविक मुहार भेटिएको अनुभव भयो । त्यही एउटा कोठामा २ महिनामै काम छोड्ने, गैरकानूनी रुपमा कोरियामा बस्ने, स्वदेश फिर्तीको पर्खाइमा रहने र बिरामी भएर उपचार गराइरहेका सबै नेपालीलाई भेटियो ।

काम नपाउनेहरू, कामबाट निस्केकाहरू, काम खोजिरहेकाहरू, बिरामी परेकाहरू र घर फर्कने दिन पर्खिरहेकाहरू बस्ने गज्जबको थलो बनेको रहेछ सेल्टर । विमल एकजना यस्तै श्रमिक थिए । जो यो सेल्टरमा धेरै वर्षदेखि बस्दै आएका रहेछन् । उनलाई अरु सबैले रैथाने मान्थे । इपीएसबाट नै कोरिया पुगेका रहेछन् । उनी नयाँ आउनेहरूलाई सोधपुछ र सरसल्लाह दिन माहिर रहेछन् । सेल्टर संचालकको अनुमतिमा अरुले भन्दा केही बढी पैसा तिरेर नियमित बसेका भए पनि उनी सहयोगी र मिजासिलो स्वभावका रहेछन् ।

कोरियामा यस्ता सेल्टर महिला र पुरुषका छुट्टाछुट्टै रहेछन् । कोरियाका विभिन्न शहरमा यस्ता सेल्टर पाइदो रहेछ । कोरियाका क्रिश्चियन समुदायले पनि सेल्टर खोलेको पाइयो, जहाँ पूर्णरुपमा निःशुल्क बस्न पाइने रहेछ । विमल केही महिना क्रिश्चियनको सेल्टरमा पनि बसेका रहेछन् । ‘उनीहरूको नियम अनुसार घोप्टिनुपर्ने, खानुपर्ने हुन्छ, मलाई चैँ धेरै असहज लाग्यो’ विमलले आफ्नो अनुभव सुनाए ।

धेरै नेपाली व्यवसायी, समाजसेवीहरूले पनि सेल्टर खोलेका रहेछन् । बढीमा २० हजारसम्म कोरियन वन तिरेपछि त्यहाँ बस्न पाइने रहेछ । त्यसरी सेल्टरमा नै बसेर आफ्नो समस्याको समाधान खोज्ने धेरै नेपाली युवा–युवती रहेछन् ।

समस्यामा परेका नेपालीलाई थप आर्थिक भार नपरोस् भनेर सामाजिक भावनाबाट यस्ता सेल्टर चलाइएको रहेछ । जुन कोरियामा रहेका नेपालीहरूका लागि निकै उपयोगी बनेका रहेछन् ।

बाग्लुङका कृष्णप्रसाद सिलवाल इपीएसबाट कोरिया आएको २ महिनामै काम गर्न नसकेर सेल्टरमा आएका रहेछन् । उनकै शब्द सापटी लिने हो भने भोटे (साहू) ले साह्रै पेल्यो । ‘काम गर्न सकिएन, नेपालमा सोचेजस्तो रहेनछ कोरिया’ उनले भने ।

‘भोटेले पाल्ली पाल्ली भनेर हैरान’ अर्थात् जति बेलामा पनि छिटो छिटो गर्नु पर्ने रे काम । नेपालबाट आउने बित्तिकै त धेरै गाह्रो हुने उनले दुखेसो सुनाए ।

संयोगले उनको भाइ (सानिमाको छोरो) फणिन्द्र गौतम पनि ११ महिनामा दुई कम्पनी परिवर्तन गरेर अर्को नयाँ काम खोज्नका लागि सेल्टरमा नै थिए । दुई दाजुभाइ नयाँ काम खोज्नका लागि दिनभर भौतारिँदै बेलुका सेल्टरमा आएर थकान मेटाउँदा रहेछन् । यस्ता सेल्टर थकान मेटाउने चौतारो बनेका छन् । दुःख साट्ने मझेरी पनि । मित्र बनाउने वा मित्रसँग रमाउने थलो पनि ।

कोरिया जाने श्रमिक कामदारहरूमा धेरै खालका समस्या रहेछन् । खासगरी राम्रो काम नहुने, उचित तलब नदिने, मानवीय व्यवहार नहुने लगायतका समस्यासँग जुध्दै सेल्टर पुग्नेहरू बढी भेटिए । धेरै श्रमिक नेपालीहरूले त नयाँ काम खोज्न र परदेशिनुको पीडा बिर्सन पनि सेल्टर जाने गरेको बताए ।

कोरियाको श्रम कानून अन्य देशको तुलनामा केही उदार रहेछ । आफ्नो पासपोर्ट आफैँले राख्न पाइन्छ । कोरियामा ३ पटकसम्म कम्पनी परिवर्तन गर्न पाइन्छ । कम्पनी छोडेर ३ महिनासम्म जागिर खोज्नका लागि समय पाइन्छ तर तीन महिनासम्म काम नगरेमा गैरकानूनी बनिने रहेछ ।

कम्पनी छोडेपछि साहूको रिलिज पेपरमा हस्ताक्षरसहित काम खोजिदिने रोजगार केन्द्र (जब सेन्टर) मा जानु पर्दोरहेछ । रोजगार केन्द्रमा दर्ता गरेपछि उसैले जागिर खोजिदिन्छ र मोवाइलमा म्यासेज पठाउँछ । काम र दाम मन प¥यो भने काम गर्ने नत्र फेरि अर्को खोज्ने दिनचर्या यसरी सेल्टरमा बस्नेहरूको हुँदो रहेछ । त्यसैले रातिको बास र खानापछि अधिकांश सेल्टरमा बस्नेहरू बिहान उज्यालो भएसँगै तिनै संस्थामा पुगिहाल्दा रहेछन् । राम्रो ठाउँमा काम लगाइदिन्छु भन्ने केही दलालहरू भेटिँदारहेछन् । दिनभरि तिनै काम दिलाइदिने रोजगारदाता केन्द्रमै रहेर बेलुका फेरि सेल्टरमै आइपुग्छन् कामदारहरू ।

राम्रो तलब भएन, काम गाह्रो भयो भने काम फेर्न र अर्को कम्पनीमा जानका लागि धेरै श्रमिकहरूले सेल्टरमा आश्रय लिएको देखियो ।

०००
मोरङका विक्रम लिम्बू अहिले सेल्टरमा आराम गरेर बसेका छन् । उनका लागि बेग्लै ओछ्यान छ । कम बोल्ने गुरुङ बिरामी परेर सेल्टरमा आएका रहेछन् ।

‘घाँटी दुखिरहन्थ्यो, धेरै दुख्दा नजिकै मेडिकल गएर औषधी खान्थँे’ उनले सुनाए । कोरिया आएको ३ वर्ष पुगेछ । एक दिन कम्पनी परिवर्तन गर्ने निर्णय गरेर उनी अर्को काम खोज्न सिओल आएका रहेछन् । फुर्सद भएकाले त्यहाँको ठूलो अस्पतालमा एक पटक जाँच गराउने इच्छा जागेछ ।

सबै चेकजाँच गरेपछि त उनी छाँगाबाट खसेझै भएछन् । उनलाई घाँटीको क्यान्सर हुन लागिसकेको रहेछ । तत्काल अस्पताल भर्ना भए । कोरियामा मेडिकल इन्योरेन्स हुने हुँदा बिरामी पर्दा धेरै खर्च हुँदैन । ‘सबै खर्च गर्नु परेको भए त अहिलेसम्म कमाएको सबै जान्थ्यो होला’ कोरियाले दिएको सुविधा उपभोग गरेकोमा उनी केही ढुक्क देखिन्थे ।

उनी अहिले नियमित अस्पताल जान्छन् । उनलाई किमो पनि दिइराखिएको छ । उनलाई धेरै ठीक हुँदैछ । नियमित औषधी खाइरहेका छन् । उनी आफैले यस्तो बिरामी परिएला भन्ने सोचेका थिएनन् । भन्छन्– ‘आफ्नो स्वास्थ्यको ख्याल सबैले राख्नु पर्ने रहेछ, स्वास्थ्य भन्दा ठूलो केहि रहेनछ ।’

अब एक महिना आराम गरेपछि उनी नेपाल छुट्टीमा आउने सोच बनाएका छन् । कोरियामा अस्पतालले बिरामी भएर उपचार गरेको कागज बनाएको खण्डमा जति महिना पनि काम नगरी बस्न पाइन्छ अर्थात् गैरकानूनी बनिदैँन ।

म त्यहाँबाट हिँड्ने बेलामा उनले भने– ‘म पनि चाँडै निको भएर नेपाल आउँछु ।’

०००
‘आफ्नो श्रीमतीले बच्चा जन्माउँदा केही हेरिएन, यहाँ त सुँगुर ब्याउँदा आफ्नो बच्चा र श्रीमतीभन्दा बढी माया गर्नुपर्छ’ बुटवलतिरका संजोग मगरले आफ्नो कथा सुनाए ।

‘ब्याउन सकेन भने हातले तान्नु पनि पर्छ’ बंगुर फार्ममा काम गरेर फर्किएका मगरले भने– ‘कति दिन त रातभर सुत्न पाइँदैन ।’ सानो ज्यान हुनेले त बंगुर फार्ममा काम गर्न सक्दैन । ‘मलाई कतिपटक बंगुरले लडाएको छ’ ठूलै ज्यान भएका मगरले आफ्नो अनुभव सुनाए ।
बंगुर फार्ममा काम गर्ने भन्ने बित्तिकै कमाइ पनि राम्रो मानिन्छ । तर, त्यहाँ काम गर्नेलाई सबैले परैबाट चिन्दछन् । उनले आफ्नो हात सुँघ्दै भने– ‘अझै गन्ध गएको छैन ।’

सेल्टरमा हाम्रो गफ सुनिरहेका विमलले फुर्ति लगाउँदै भने– ‘को बंगुरफार्ममा, को गाईफार्ममा, को कुखुराफार्ममा काम गरेर आएको हो म थाहा पाइहाल्छु, जति नुहाएर आए पनि गन्ध जाँदैन ।’

नेपाली सेनामा काम गरेका बुटवलका गोपाल राई इपीएसबाट कोरिया पुगेका रहेछन् । बंगुरफार्ममा काम गरेर केही सिकेर नेपालमा पनि लगानी गरेर काम गर्ने योजना छ उनको ।

‘आर्मीको तालिम लिँदा त्यति दुःख पाइएन होला, कोरियामा काम गर्दा त्यति पेलान हुँदोरहेछ’ उनले आफ्नो अनुभव सुनाए । कोरिया आएको केही महिनामै उनी बंगुरफार्मको काम छोडेर सेल्टर आएका रहेछन् ।

उनी भन्छन्–‘काम त बंगुरफार्ममा नै गर्ने हो, तर अलि ठूलो फार्ममा अन्य भन्दा त्यहाँ बढि पैसा हुन्छ ।’

०००
धेरैले काम गर्न गाह्रो भएको, तलब थोरै भएको कथा सुनाइरहँदा, साह्ूबाट हैरानी खेपिरहेको कथा सुनिरहँदा सेल्टरमा नै भेटिएका सुर्खेतका वीरेन्द्र गिरीको व्यथा फरक रहेछ । अरुले साहू र मालिकलाई धारे हात लगाइरहेका थिए– काम मर्ने गरी लगाउने तर भनेजस्तो तलब नदिने । तर गिरीको अवस्था अत्यन्तै भिन्न थियो ।

उनी करीब ३ महिना अघि कोरिया पुगेका रहेछन् । कृषि कामका लागि उनलाई साहूले छानेका थिए । कोरियन साहूले अत्यधिक माया गर्थे उनलाई । छोराभन्दा बढी माया गथ्र्यो । तरकारी खेती थियो, टनेलमा काम गर्थे । टनेलमा हरियो ठूलो खुर्सानी (क्याप्सीकेम) को उत्पादन हुन्थ्यो । त्यही उत्पादनले साहू आफू कमाउने र कामदारलाई पारिश्रमिक दिने योजनामा थियो ।

कोरियामा कामदार मात्र होइन, मालिक पनि काम गर्छन् । साहू पनि विदेशी कामदारभन्दा बढी खट्छन् । एक दिन साहू आफैँले टनेलको ढोका खोलेर हावा छिर्न दिनुपर्नेमा बिर्सेछन् । भोलिपल्ट सबै खुर्सानीका बिरुवा सुकेर स्वाहा भए । त्यो नोक्सानबाट अत्तालिएका साहूले रुँदै अत्यन्त दुःखका साथ क्षमा मागी बिदा गरेछन् गिरीलाई । उनलाई काम गरेको भन्दा बढी पैसा दिएर अर्को काम खोज्न सल्लाह दिएर पठाएका रहेछन् ।

मेरो साहू त देउता थियो तर के गर्ने ऊसँग काम गर्ने भाग्य रहेनछ– गिरी भन्दै थिए ।

कामबाट बिदा गरे पनि दिनको एकपटक साहूले फोन गरेर सोधीखोजी गर्ने, चासो लिने गरेपछि गिरीलाई आत्मबल मिलेको छ । त्यहाँ काम छोड्नु परेकोमा उनी अझै दुःखी देखिन्थे । उनी भन्दै थिए– ‘काम सजिलो थियो, साहू राम्रो थियो तर त्यहाँ ३ महिनाभन्दा बढी काम गर्न लेखेको रहेनछ ।’

गिरी कोरियन जीवनसँग अभ्यस्त हुन खोजिरहेका थिए । पहिलो महिनाको तलवबाट नै एक लाख माथि पर्ने मोवाइल किनिसकेछन् । उनको बर्षौदेखि ट्याटु हान्ने धोको त्यही बेला पुरा गरे । ‘सेल्टरमा फुर्सद भएको बेला ट्याटु हानिहाल्यो’ भर्खरै हानेको ट्याटु फ्यान अगाडि सुकाउँदै भने–‘क्या दुख्दो रहेछ ।’

गिरीलाई मात्र होइन ती साहूले अन्य कम्पनीमा काम गर्ने नेपालीलाई पनि औधी माया गर्थे । सेल्टरमा नै भेटिएका गिरीका साथीले भने– ‘मलाई कैयौँ पटक ती साहूले खाजा, खाना र तरकारी दिएका छन् ।’

बंगुरपालन, कृषि तरकारी, कुखुरापालन, गाईपालन र सामान उत्पादनमा काम गर्ने नेपाली श्रमिकहरू तलब र कामको अवस्थालाई ध्यानमा राखी एकपछि अर्को काम परिवर्तन गरिहन्छन् । कसैलाई त्यही काम सजिलो त, कसैलाई त्यही काम जटिल हुन्छ । कोरियाली सरकार कामदार मैत्री भएकाले धेरैले त्यसको फाइदा लिएका छन् ।

०००
पुरुष मात्र होइन महिला सेल्टरहरू पनि कोरियामा प्रशस्त छन् । नेपाली महिलाहरूको संस्था ओमन फर ओमनले महिलाका लागि छुट्टै सेल्टर संचालनमा ल्याएको छ । पुरुषहरूको सेल्टरभन्दा महिला सेल्टर केही सफा देखियो । त्यही सेल्टरमा भेटिएकी काभ्रेकी संगीता गुरुङ, स्याङ्जाकी गीता थापा, इटहरीकी शारदा बराल र दोलखाकी मीना श्रेष्ठको भोगाइ एउटै रहेछ ।

कृषिमा काम गर्न इपीएसबाट गएका उनीहरूको सामूहिक पीडा– काम धेरै गाह्रो छ । त्यही भएर कम्पनी परिवर्तनका लागि अर्थात् अर्को सजिलो काम खोज्नका लागि उनीहरू सेल्टरमा आइपुगेका रहेछन् ।

ओमन फर ओमनकी अध्यक्ष पद्मा श्रेष्ठ र सचिव रुपा गुरुङले कोरियामा भाषा पनि प्रमुख रुपमा समस्या रहेको औल्याए । भाषाकै कारण काममा पनि जटिलता आएको धेरैको भनाइ रह्यो ।

सामान्य रुपमा भाषा सिकेर वा पढेर परीक्षा पास गरी कोरिया आउँदा यहाँको दैनिक काममा पनि निकै अप्ठ्यारो हुने सबैको अनुभव थियो । कोरियामा कस्तो काम गर्नु पर्छ भनेर प्राक्टिकल रुपमा नेपालमा थाहा नै हुँदैन, कोरिया छिर्न पाए के–के न हुन्छ भनेर आउनेहरू यहाँ काम गर्न नसकेर दुःख पाएका छन्, स्याङ्जाकी दीपाले भनिन् ।

‘टिक लगाएर परीक्षा पास भएर आए पनि अहिले यहाँ आफ्ना कुरा भन्न नसक्दा निकै मुस्किल परेको छ । काम गर्ने स्थलमा धेरैलाई समस्या पर्छ ।’ ओमन फर ओमनकी अध्यक्ष श्रेष्ठले बताइन् ।

सेल्टरमा भेटिएका सबैजसोले नेपालमा थोरै काम गरेको र यहाँ निकै काम गर्नुपरेको अनुभव सुनाए । एकदमै चाँडो–चाँडो र निरन्तर काम गर्नुपरेका कारण धेरै नेपाली कामदारले आफूले काम गर्न नसकेको बताए ।

खासगरी कृषि, पशुपालन र प्याकेजिङको काम गर्न महिला कामदार पनि कोरियामा कार्यरत छन् । नेपाली श्रमिकहरूले अहोरात्र खटेर काम गर्दा पनि यहाँका कम्पनी र साहूहरू सन्तुष्ट हुँदैनन्– पद्माको भनाइ थियो ।

‘हामीले नेपालमा गरेको कामको मात्र क्षमताले यहाँ पुग्दैन । अत्यन्तै धेरै काम गर्नुपर्छ ।’ सबैको कोरियाप्रतिको साझा बुझाइ यही पाइयो, अझ विशेष गरी महिला कामदारको ।

कोरियामा श्रमको ठूलो सम्मान छ । श्रमिकहरूले मिहिनेत गरेपछि हरेक महिना कम्तीमा पनि दुई लाख रुपैयासम्म कमाउन सक्छन् । तर राम्रो सीप र श्रमको अभावले गर्दा धेरै नेपालीहरू कोरियामा खट्न सक्दैनन् ।

‘पैसा राम्रो छ । तर साहै्र गाह्रो काम ।’ मीना श्रेष्ठले बताइन् ।

‘पाल्ली–पाल्ली’ अर्थात् ‘छिटो–छिटो गर ।’ सबै कोरियाली साहू र कम्पनीका कर्मचारीको मुखमा नै झुण्डिएको हुन्छ यही शब्द । नेपालमा काम जति ढिलो र आरामसँग गर्ने बानी परेका नेपाली युवायुवतीलाई चाँडो काम गर्न कोरियामा सँधै हम्मे–हम्मे पर्छ ।

ओमन फर ओमनकी सचिव रुपा गुरुङ भन्छिन्– ‘नेपाली र कोरियालीबीच आनीबानीमै फरक छ । हामीले ढिलो काम गर्ने कुरा नेपालमा सिक्यौँ यहाँ चैँ जति सक्दो चाँडो गर्नुपर्ने हुन्छ । त्यसैले धेरैले आफ्नो पेशा फेरेका छन्, काम नै फेरेका छन् ।’

कोरिया जाने बित्तिकै केही महिना हरेक नेपालीहरूलाई एउटै शब्दले तर्साइरहन्छ, त्यो हो पाल्ली पाल्ली । तर, कोरियामा लामो समय बस्नेहरू भने पाल्ली पाल्लीसँग अभ्यस्त भइसक्छन् र आफ्नो बानीमै परिवर्तन ल्याएका छन् ।

०००
‘नेपालको प्रहरी सेवामा थिएँ । छिट्टै र चाँडै कमाइएला भनेर यहाँ आइयो, अहिले साह्रै गाह्रो काम भएर अप्ठ्यारो भएको छ ।’

कोरियामा कृषि कार्यमा श्रम गरिरहेका बलबहादुर थापाले भने । उनका अनुसार कठिन काम, सीपको अभाव, भाषाको समस्या नै प्रमुख हुन्– नेपाली श्रमिकका लागि । धेरै नेपाली श्रमिकहरू कामभन्दा पनि भाषा नबुझेरै मर्कामा परेको उनी बताउँछन् । त्यसैले नेपालबाट यता आउनु अघि यस्ता व्यवसायिक र सीपमूलक कुरामा दक्ष भएर मात्र आउन थापा लगायत सबैको आग्रह छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत धेरै कोरिया पुगेका रहेछन् । कतिले राजिनामा दिएर त कतिले सुटुक्कै ।

‘नेपाल सरकारलाई त घात भएन’ सेल्टरमा नै भेटिएका नेपाली सेनामा काम गरिरहेको अवस्थामा कोरिया आएका एक युवाले आफ्नो नाम बताउन चाहेनन्–‘नेपालमा जीवनभर काम ग¥यो, खान र बस्न पुग्दैन, यहाँ त ५ बर्ष काम गर्दा केही हुन्छकी ।’ उनले भने–‘ कोरिया आउने मेरो लटमा ५ जना त सेनाका नै थियौं ।’

उनको पनि कोरियाको कमाई नेपाल लगेर केही लगानी गर्ने सोच छ । आफु मात्र होइन अन्य नेपालीलाई पनि रोजगार प्रदान गर्ने
चाह छ ।

कोरियामा भाषाको समस्या, कामको जटिलतासँगै आफू मिहिनेत गर्न आएको कुरा बिर्सिएर सहज काम खोज्ने, भावुकताको कारणले पनि धेरै नेपाली रोजगारविहिन भएर सेल्टर पुगेको अनुभव हुन्छ ।

०००

कोरियाका धेरै ठाउँमा रेल तथा बसको व्यवस्था छ । रेलको त जालो नै छ भने पनि हुन्छ । जताजतै रेल नै रेलको सुविधा भएको कारणले कोरियामा नेपाली रोजगार प्राप्त युवायुवतीको व्यस्तता पनि असामान्य नै छ । रेल पुग्न नसकेको ठाउँमा बस त पुगेकै छ । साताको दुई दिन छुट्टी हुने भएकाले उनीहरू भेटघाट गर्ने, खानपिन गर्ने, रमाइलो गर्ने, अनेकौँ सांस्कृतिक र सामाजिक काम गर्ने गर्दा रहेछन् ।

दोङदेमुनका धेरै पसल, मार्ट, रेष्टुराँहरूमा नेपालीहरू जम्मा हुने गर्दछन् । साताका दुई दिन शनिबार र आइतबार दोङदेमुनका पसल, होटेल र रेष्टुराँमा रमाउने अधिक नेपालीहरू भेटिए ।

अझ अहिले धेरै नीजि रेमिट्यान्स कम्पनी पनि खुलेका छन् । नेपाल पैसा पठाउने अनि साथीभाइ भेटेर रमाइलो गर्नका लागि नेपालीहरूको जक्सन बनेको छ– दोङदेमुन । पहिला कोरियाबाट वैकिङ च्यानलबाट रेमिट्यान्स स्वदेश गएन भन्ने चिन्ता ठूलो थियो । अहिले नीजि रेमिट्यान्स कम्पनीले काम गर्ने स्वीकृति पाएपछि अधिकांश नेपालीहरूले हुण्डी छोडेर वैंकिङ च्यानल रोजेका छन् । यो भनेको उनीहरूलाई मात्र होइन नेपाल सरकारलाई पनि राम्रो पक्ष हो ।

‘सोझो खाइन्छ, पीर भुलिन्छ ।’ धेरैले यसै भनेको सुनियो । सोझो नामक मदिरा कोरियाको निकै प्रसिद्ध मदिरा हो । अत्यन्तै सस्तो र मीठो मानेर सबै पारखीले यसको सेवन गरेको पाइयो । कोरियालीहरूदेखि नेपालीहरूमा समेत ‘सोझो’ लोकप्रिय मानिँदो रहेछ ।

०००
धेरै नेपालीले कोरियामा कृषि मजदुरको रुपमा काम गर्छन् । तरकारी खेती, फलफूल खेती तथा त्यसको प्याकेजिङको काम गर्ने गर्छन् नेपाली श्रमिकले । औषधी, मलखाद्य र अनेक ज्याबल लिएर खेतीपातीमा काम गर्नु सहज होइन । अझ कतिले त चर्को ध्वनिमा बसेर काम गर्नुपर्ने हुनाले श्रवण शक्ति गुमाउनु परेको पीडा पनि पोखे । आधा वर्ष हिउँ पर्ने भएकाले चिसोले असर गर्नु अर्को पीडा नेपालीमा छ ।
कम्पनीमा म्यानुफ्याक्चरमा काम गर्नेहरूको पीडा आफ्नै छ । मेसिनझैँ काम गर्नु पर्छ । यति हुँदाहुँदै पनि परिश्रम गरे अनुसारको कमाइ कोरियामा राम्रो छ । हरेक कम्पनीले खाने र बस्ने व्यवस्था गरेका हुन्छन् । दुई दिन विदा भएकाले ओभरटाइम काम भयो भने कमाइ
अधिक हुन्छ ।

केही नेपालीले कोरियाका प्रमुख शहरमा रेष्टुराँ व्यवसायमा हात हालेका छन् । नेपालीहरूले रेष्टुराँ र मार्ट बाहेक अन्य व्यवसायमा हात हालेको त्यति पाइँदैन । कोरियामा काम र कामदारको सम्मान हुने भएकाले धेरै रेष्टुराँका संचालक आफैं कुक वा वेटरको काम गर्दछन् । थोरै कामदारबाट रेष्टुराँ चलाउने किफायती तरिका हो यो । त्यसो त भिसा नै परिवर्तन गरेर वा नेपाली महिलाहरूले कोरियनसँग बिहे गरेर बसेका पनि रहेछन् । केही नेपाली पुरुषले कोरियन केटी बिहे पनि गरेका रहेछन् ।

कोरिया राम्रो कमाई गर्नेहरूको सफलताका कथा धेरै छन् । कोरियामा कमाएर स्वदेशमा लगानी गर्नेहरूको उदाहरणीय कार्य धेरै नेपालीका लागि सवक हुन्छ । कामको अलावा सामाजिक कार्यमा लाग्नका लागि कोरियामा भएका नेपालीहरूको मन अझ उदार भएको मैले पाएँ । ‘कसैलाई समस्या प¥यो भने लाखौ नेपाली रुपैया तुरुन्त उठ्छ’ एनआरएनका वरिष्ठ उपाध्यक्ष विपिन गुरुङ बताउँछन् ।

कोरिया अहिले नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यस्थलको रुपमा परिचित छ । तर कोरिया जान पाए सबै कुरा प्राप्त हुन्छ भन्ने साँघुरो सोच र हतपतको निर्णयले गर्दा धेरै नेपालीहरूले कोरियामा कमाउन हैन गुमाउन पनि पुगेका छन् । समयको बर्वादीसँगै, घरपरिवारसँगको बिछोड धेरै श्रमिकका लागि पीडा बनेको छ ।

कोरियामा मृत्यु हुने नेपालीहरूको संख्या अधिक छ । अझ आत्महत्या धेरै हुन्छ । पारिवारिक र घरायसी तनावका कारण आत्महत्या हुने गरेको नेपाली दूतावासको भनाइ छ । ‘नेपालमा हुने आफन्त र परिवारले कोरियामा काम गर्नेहरूसँग धेरै डिमाण्ड गर्न हुँदैन, अनावश्यक फोन गरेर दुःख दिन हुँदैन’ नेपाली दूतावासका श्रम सहचारी डिल्ली बास्तोलाको भनाई छ । ‘होम सिक’ भएकै कारण कतिपय कामदारहरू काम छोडेर सेल्टरसम्म आइपुगेको बताउँछन् ।

‘घरको याद आएको आएकै भयो । यहाँ अब एक महिना बसेर फर्किन्छु ।’ प्रल्हाद शर्माले बताए । उनी एक वर्षअघि मात्र कोरिया पुगेका थिए ।

आफू यस अघि घर छोडेर कतै नगएको र परिवारबाट कहिले टाढा नरहेको बताउने शर्मा जस्तै धेरै नेपालीहरू दोङदेमुनका पार्क र रेष्टुराँमा भेटिन्छन् । कोरियामा पैसा मात्र छैन– काम सिकाउने कला पनि छ । यो भावना लिएर नेपाली कामदारले कोरिया टेक्ने हो भने नेपाली समाज पनि लाभान्वित हुने कुरामा दुई मत छैन ।

सेल्टरमा भेटिएका नेपालीहरू समग्र कोरियामा कार्यरत नेपालीहरूको साझा चित्र झैँ लागे । जहाँ उनीहरूको मन र व्यवहार बोल्थ्यो । अनि पीडा र आँसु पनि पोखिन्थ्यो । यस्तै, जीवनका अनगिन्ती कथाबीच उनीहरू कोरियाको छुसक (नेपालको दशैँ) जस्तै महत्वपूर्ण पर्व मनाउनतिर जुट्दै थिए । म भने बिदा मागेर दशैँ मनाउन आफ्नै देश फर्किएँ ।

यो पनि पढनुहोस

कोरियामा ९० प्रतिशत आत्महत्या घरायसी कारणले हुन्छ : अर्जुनजंग बहादुर सिंह

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *