द्वन्द्वमा घाइते भएकाहरूलाई सहयोग गर्न प्रधानमन्त्री देउवासँग प्रचण्डको आग्रह

news-details

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग दसवर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरूलाई राहत र सम्मान उपलब्ध गराउनुपर्ने विषयमा छलफल गरेका छन ।

मंगलबार विहान वीर अस्पतालमा उपचारत काभ्रे महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेका प्रचण्ड लगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

देउवासँग छलफल गर्दै प्रचण्डले ५ बुँदामा ध्यानाकर्षण गराएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।

छलफलमा प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ लाई संशोधन गर्न, सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएकाहरूलाई सूचीकृत गर्न आग्रह गरेका थिए ।

यस्तै सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराएको उनको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *