महाकालीमा नेपाली युवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता छैन : भारतीय पक्ष
- साउन १६, २०७८
- 0
दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ।
शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता अस्वीकार गरेका हुन्।
ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार बिहान महाकालीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको आफन्तले बताएका छन्।
भारतले भने तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत भएको बताएको छ। दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन्।
उनले पिथौरागढका जिल्ला अधिकारीले एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी गराएको बताइन्। भारत नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको पनि नेपाललाई जानकारी गराएको छ।
धामीका आफन्तले भने एसएसबीले तुइन काटेकै कारणले उनी नदीमा खसेको भन्दै भारतीय प्रहरी चौकी र नेपाली प्रहरी चौकीमा उजुरी दिएका छन्। धामीका आफन्तले एसएसबीविरुद्ध तुइन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका हुन्। घटनाबारे सत्यतथ्य बुझेर मुचुल्का तयार गर्न स्थानीय जोगासिंह धामी र बहादुर सिंह धामीले धार्चुलाको पागला प्रहरीमा उजुरी दिएका हुन्।
उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न भारत र नेपालका प्रशासनलाई अनुरोधसमेत गरेका छन्। उनीहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। घटनाबारे छानबिन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरेका थिए।