साहित्यर्वार्ता : ‘साहित्य सृजनाबाट मानवीय जीवन बोध गराउन सकियोस्’- चित्रा पौड्याल कोइराला

news-details

नेपाली साहित्यमा साहित्यकार चित्रा पौड्याल कोइरालाको सक्रियता निकै नै लोभलाग्दो छ । कविता, गजल, मुक्तक तथा अन्य रचनात्मक गतिविधिमा उहाँको समर्पण हिजोआज बाक्लै देखिन्छ । नेपाली साहित्यका विविध पाटोमा यिनै सिर्जनशील स्रष्टासँग गरिएको वार्ता :

साहित्य के हो ?

धेरै विधाहरुमा व्यक्त गर्न सकिने सृजनात्मक लेखन नै साहित्य हो । जहाँ रचनाकारको भावना, कल्पना, संस्मरण, विचार, खोज र अनुभवहरु कलात्मक रुपमा समेटिएको हुन्छ । मानवीय चेतना विकास र आनन्द दिनु यसको मुख्य उद्देश्य हो ।

कुन कारणले साहित्यतिर यहाँ आकर्षित हुनुभयो ?

विद्यालयमा भइरहने साहित्यिक गोष्ठीहरुमा भाग लिने, कविता वाचन गर्ने माहोल बनेको थियो र मैले पनि लेख्छु भन्ने रहर जागेर हो । बुवाको खुबै प्रेरणा पनि मिलेको थियो । साहित्य धेरै मनपर्ने विषय भएकोले पनि म यसप्रति आकर्षित भएकी हुँ ।

यहाँलाई मनपर्ने विधा कुन हो ?

कविता विधा विशेष मन पर्छ । शक्तिशाली भावना र गहन विचारहरु थोरै समयमा पढेर, आनन्द लिन सकिन्छ कविताबाट । अहिले मुक्तक, गजल साथै लामा–छोटा कवितातिर बढी कलम चलाइरहेकी छु ।

साहित्य कत्तिको अध्ययन गर्नुहुन्छ ?

धेरै पढ्न मन लाग्छ । हामीलाई सूचना, शब्द भण्डार र साहित्यको स्तर, परम्परा बुझ्न पनि सजिलो हुन्छ । परिष्कृत र नाम चलेका पुस्तक र मनपरेका लेखकहरुको कृति प्रायः सबै अध्ययन गर्ने गरेकी छु ।

साहित्यले समाजलाई के कस्तो परिवर्तनको संकेत दिएको हुन्छ ?

साहित्य व्यक्ति, समाज र देशकै सेरोफेरोमा लेखिन्छ । सबैको हित गर्नु नै यसको मुख्य उद्देश्य पनि हो । विधि र निशेषका सीमाहरु अन्धाधुन्ध उल्लंघन भइरहेको यो समयमा झन् मार्ग निर्देशन गर्न साहित्यको भूमिका बढी नै रहन्छ । पढ्नु जरुरी हुन्छ । अरु मिडियाका माध्यमबाट पनि परिवर्तन गर्न सकिन्छ ।

नेपाली साहित्यमा नारी सहभागिता कस्तो देख्नुहुन्छ ?

सहभागिता संख्यात्मक र गुणात्मक दुवै रुपमा बढिरहेको छ । प्रशस्त सम्भावना छन् । मात्र अवसर र प्रेरणादायी वातावरण निकाल्न संघर्ष गर्नुपरेको कारणले मात्र पछि परेका हुन् महिलाहरु ।

हिजोआज प्रविधिले साहित्यलाई कत्तिको प्रभावित पारेको देख्नुहुन्छ ?

विश्व नै एउटा गाउँ बनेको अनुभव गराएको छ । सामाजिक सञ्जालहरुको विकास र विस्तारले हात–हातमा प्रविधिको पहुँच हुँदा आज नेपाली साहित्यमा रम्नेहरुको संख्यात्मक जमात विश्वभरी नै आश्चर्यजनक ढङ्गले बढेको छ । प्रतिभाहरु फक्रिन पाएका छन् । आन्तरिक सम्बन्ध र सहभागिता बढ्नाले साहित्यिक समूहरुबीच सद्भावना विकास भएको छ । संयुक्त कृति विमोचन, संयुक्त रचना प्रकाशित, प्रतिष्पर्धात्मक कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालनलगायतले नेपाली साहित्यले ठूलो फड्को मारेको छ भन्छु म । युट्युबहरु बढेका छन् । यसले पनि हाम्रो साहित्यमा निरन्तर गुणस्तर आएको मैले देखिरहेकी छु ।

हाम्रो साहित्य विश्व बजारमा जान सक्ने आधार देख्नुहुन्छ ?

नेपाली साहित्यको गुणस्तर राम्रो भएर आज विश्व बजारमा सजिलै जान सक्ने वातावरण बनिसकेको छ । विश्वव्यापीकरणको आजको समयमा भाषाको अनुवाद पनि ठूलो समस्या छैन । अनुगमन र व्यवस्थापन निष्पक्ष गर्ने संस्थाको चाहि खाँचो छ ।

तपाईंका २ वटा कृति हालै प्रकाशित भए । अब के ल्याउने तयारीमा हुनुहुन्छ ?

गजलहरु ल्याउने विचार गरेकी छु । लगभग ६० वटा लेखिसकेँ । संयुक्त रुपमा ‘उडान’ गजलसंग्रह त यही २०७७ माघ २४ मा चितवन मझेरी साहित्यले प्रकाशित गरेर विमोचन गरिसक्यो । त्यसमा मेरा १८ वटा गजल समावेश गरिएका छन् ।

तपाई अमेरिकामा पनि रहनु भयो । त्यहाँ नेपाली साहित्यिको सिर्जना कस्तो पाउनुभयो ?

तुलनात्मक रुपमा व्यस्त भएर पनि नेपालीहरुले नेपाली साहित्यको विकास र बिस्तारको लागि त्यहाँ अनुकरणीय योगदान दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को महत्वपूर्ण भूमिका छर्लङ्ग देखिन्छ । अनलाइन पत्रिका, नेपाली पोष्ट डट कम, स्रष्टा साँझ अमेरिका, स्रष्टासँग अमेरिका, स्रष्टासँग सृजनाको आवाज, बिआरटी डटकम कार्यक्रम लगायत अन्य पत्रपत्रिकाहरु, पुरस्कारहरु, सम्मानहरुले पुस्तक प्रकाशित गर्ने सहयोगी संस्थाको स्थापनाले धेरै राम्रो भएको छ । अन्य थुप्रै अनलाइन कार्यक्रमहरुले गर्दा पनि आशालाग्दो छ ।

अनेक संस्थामा आबद्ध हुनुहुन्छ । साहित्य लेखनको लागि समय कसरी निकाल्नुहुन्छ ?

समयलाई प्राथमिकता अनुसार तोकेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । कहिलेकाँही चुनौतीपूर्ण पनि बन्छ । साहित्यको सम्प्रेषण सञ्जालहरुको माध्यमबाट सहज हुँदै गएकोले मानवीय चेतना विकासमा छिटो प्रभाव पर्ने हुन्छ । पहिलो प्राथमिकतामा राख्नु जरुरी पनि देखिन्छ ।

भविष्यको साहित्यिक योजना के छ ?

साहित्य सृजनाबाट मानवीय जीवन बोध गराउन सकियोस् । मान्छेभित्रको अनन्त सम्भावनाहरुले आजको संसारको भौतिक चमत्कार सम्भव भएको हो । त्यो चेतनाको स्वरुप अर्थात् आत्मा र परमात्माको ज्ञान गराउन कोशिस गर्न सकौं र मृत्युपछि होइन बाँचुञ्जेल नै सुखी हुने सन्देशहरु दिनसकुँ । खण्डकाव्य लेख्ने इच्छा छ, हेरौं ।
०००

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *