सहकारीमार्फत आफ्नै गाउँघरमा नै उद्यमशील बन्न सकिन्छ  : दुर्गा मैनाली

news-details

सहकारी, समाजसेवा र लेखन जस्ता क्षेत्रमा सक्रिय रहनुभएका दुर्गा मैनाली अनेकौँ संघसंस्थामा आबद्ध हुनुभएपनि सहकारी क्षेत्रमा भने उहाँको विशेष समर्पण रहिआएको छ । लामो समयदेखि सहकारी क्षेत्रमा संलग्न रहनुभएका उहाँ सेवालाई नै सहकारीको एक भाग ठान्नु हुन्छ । सहकारीकै माध्यमबाट बालबालिकाहरूको सेवा तथा महिला सशक्तिकरणमा होमिनुभएका उहाँसँग सहकारीकै विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको मुख्य अंश :

सहकारी सेवामा कसरी प्रवेश गर्नुभयो ?

सेवाको यात्राले मलाई सहकारीको यात्रामा समावेश गरायो । म सहकारी क्षेत्रमा लाग्नुअघि नै समाजसेवामा लागिसकेकी थिएँ । सेवा र्नै धर्म हो भन्ने भावले म वेसहारा बालबालिकाको सहारा बनेँ । तर बालबालिकालाई सहारा दिने क्रममा ममाथि विभिन्न आर्थिक, सामाजिक, भौतिक आदि सबै कुराको अभाव पर्न थाल्यो । त्यस्ता अभावको कारण मलाई बालबालिकाहरुलाई व्यवस्थापन मिलाउन गाह«ो पर्दै गयो । त्यसै कारण बालबालिकालाई सहयोग जुटाउनको लागि हामीले समुह बनाउने निर्णय ग¥याँैँ । ज्योति महिला बचत समुहमा प्रत्येक महिना रु १ सय बचत गर्ने र त्यसबाट समुहमै लगानी गर्दा जुन व्याज आउँछ त्यो बुद्धिष्ट बाल गृहलाई सहयोग गर्ने उद्देश्यले २०५५ सालमा समुह गठन भयो ।

समुहले पछाडि परेका महिलाहरुलाई तालिम दिने, सक्षम बनाउने काम गर्न थाल्यो । बिस्तारै समुह पनि ठुलो हँुदै गयो । ११ जना महिलाले सुरुवात गरेको समुहमा २०६४ सालमा पुग्दा ५ सय भन्दा पनि बढी सदस्य आवद्ध हुनुभयो । १ सय बचत गर्न थालेको समुहले २०६४ सालमा आइपुग्दा ५ सय मासिक बचत गर्न थाल्यो । यसरी नै बालबालिका क्षेत्रमा सहयोग गर्दा महिलाहरुलाई विभिन्न विषयमा तालिम दिँदै आएको ज्योति महिला बचत समुह २०६४ सालमा आएर ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा परिणत हुनपुग्यो । बालबालिकाको सेवा र समुह मार्फत् महिलाको सेवाले नै मलाई सहकारी क्षेत्रमा अघि बढाएको हो ।

नेपाली समाजमा सहकारीप्रति कतिको विश्वासको वातावरण छ ?

विश्वास त छ र नै त आज सहकारीहरुले फैलिएर काम गरिरहेका छन् । हाम्रोजस्तो सहकारीले त आज हजारौं मानिसहरुको जीवनमा आर्थिक उन्नति गर्न सघाइरहेको छ । यो त्यही विश्वासको कारण हो भन्न सकिन्छ । वास्तवमा नेपाली समाजमा सहकारीको आवश्यकता र यसको अपरिहार्यता दिनप्रतिदिन बढ्दो छ । अझ महिलाहरुको हकमा सहकारीप्रतिको विश्वासको वातावरण प्रगाढ बनेको अवस्था छ । यति हुँदाहुँदै पनि सहकारी सञ्चालन गर्ने केही सञ्चालकहरुको कारणले गर्दा समग्र सरकारीप्रति केही नकारात्मक असर भने परेको छ । तर, बिस्तार जनता सजक भएका छन् । राज्यले पनि कडिकडाउ गर्दै गइरहेको छ । सबै कुराहरु लाइनमा आउँदैछन् । अहिले महिला सञ्चालकले नेतृत्व गरी चलाएको सहकारीहरु पारदर्शिता र इमान्दारीताका साथ अघि बढी रहेको छ । तर यसो भनिरहँदा अरुले चलाएको गलत भन्न खोजेको भने पटक्कै होइन ।

दिदीबहिनीहरुले सहकारी मार्फत समाज परिवर्तनमा आर्थिक टेवा दिइरहेको कुरालाई राख्न खोजेको मात्र हुँ । समग्रमा भन्दा समाजले सहकारीलाई विश्वास गरेका छन् । आर्थिक विकासमा यसले मद्दत गर्छ भनेर आस्था राखेका छन् ।

तपाईंहरुको ज्योति बहुउद्देश्यीय सहकारीको अवस्था कस्तो छ ?

मेरो नेतृत्वमा सञ्चालन भएको ज्योति बहुउद्देश्यीय सहकारीको अवस्था राम्रो छ । यो अन्य सहकारीभन्दा केही कुराहरुमा अलि पृथक पनि छ । यो सहकारीमा निम्न आयस्रोतदेखि उच्च वर्गका महिलाहरुले समेत सदस्य बनेर काम गर्ने गरेका छन् । निम्न आयस्रोतका महिला दिदिबहिनीहरु जो काम गर्न चाहनुहुन्छ, त्यस्ता व्यक्तिलाई हामीले विना धितो, निव्यार्जी रुपमा ऋण रकम दिने गरेका छौँ । यसर्थ, पनि काम गर्ने जाँगर र मेहेनती महिला दिदीबहिनीहरु आफैँले ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको निम्ति माया, सद्भाव प्रकट गर्दै ठाउँ–ठाउँमा चर्चा परिचर्चा गर्ने गर्नुहुन्छ ।

मैले मेरो बारेमा बढ्ता तारिफ गर्नुपर्दा पनि २१०० भन्दा बढी यस सहकारीका सदस्यहरुले ज्योति बहुउद्देश्यीय सहकारी संस्थाप्रति देखाएको माया, ममता र सदासय नै ज्योति बहुउद्देश्यीय सहकारीको ऐना हो भन्ने मैले अनुभूति गरेकी छु ।

नेपालमा सहकारीले कस्तो आर्थिक स्थिति निर्माण गरेको छ ?

सहकारीको उदयसँगै आर्थिक चेतना मानिसहरुमा बढ्दै गइरहेको छ । मानिसले आर्थिक अवस्थालाई कसरी सुदृढ पारी आनन्दमय जीवन यापन गर्ने भन्ने योजनाहरु बुन्न थालेका छन् । यसमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक मानिसहरुमा बचत गर्ने बानीको विकास गरेको छ ।

उद्यम गर्नेहरुलाई यसले आर्थिक टेवाको कार्य समेत गरेको छ । यति मात्र होइन सहकारीले फजुल खर्च गर्ने पुरुषदेखि महिलाका पेवापातलाई समेत जर्गेना गर्ने कार्यमा शहरदेखि ग्रामीण भेगको दुरदुराजसम्म समेटेको पाइन्छ । सहकारीका माध्यमद्वारा समुहमा कार्य गर्ने बानीदेखि सहकार्यमा काम गर्दै आर्थिक उपार्जन गर्ने परिपार्टी सुरु भएको छ । त्यही भएर नेपालमा ठूलो हिस्साका जनताहरु सहकारीप्रति आकर्षित भएर लागेको छ ।

ठूलो संख्यामा सहकारीका माध्यमबाट युवा जनशक्तिलाई रोजगारी समेत सिर्जना हुन पुगेको छ जसले वैदेशिक रोजगारबाट युवाहरुलाई निरुत्साहित गर्दै स्वदेशमै र आफ्नै गाउँमा नै सहकारिताको माध्यमबाट उद्योगधन्दाको सिर्जना गरी घरपरिवार र सामाजिक सद्भाव समेत कायम गर्ने कार्यमा टेवा प्रदान गरेको छ । आर्थिक तथा सामाजिक उन्नतिका निम्ति नेपालमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको मैले अनुभूति गरेको छु ।

तपाईहरुको सहकारीले कस्ता सदस्यहरुलाई ऋण प्रवाह गरिरहेको छ ?

सामान्यतया मानिसहरु जोकोहीले आफ्नो व्यापार व्यवसाय संचालन गर्न, बृद्धि गर्न नै सहकारीबाट ऋण लिने गर्छन् । हाम्रो सहकारीले पनि यही क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण दिने गर्दछ । खासगरी मध्यम आर्थिक अवस्था भएका मानिसहरुले ऋण लिने गर्दछन् । स्थानीय रुपमा व्यापार सञ्चालन गर्ने महिला तथा पुरुषहरुले हाम्रो सहकारीबाट ऋण लिनेदिने गर्दछन् ।

दैनिक आयआर्जनलाई बचत गर्दै मासिक रुपमा हुने खर्चमा कटौती गरी आफ्नो पारिवारिक र व्यवसायलाई अगाडि बढाउने उद्देश्यका साथ सहकारीबाट कारोवार गर्ने गरेका छन् । एकाध व्यक्तिहरु बाहेक अधिकांशले आफ्नो स्रोत, साधन र समयलाई भरपुर प्रयोग गर्दै सहकारीप्रतिको विश्वास र आफ्नो जाँगरबाट फाइदा लिँदै आफ्नो परिवार र व्यवसाय अगाडि बढाइरहेका देख्दा खुशी लाग्छ ।

सहकारी र समाजको सम्बन्ध कस्तो छ ?

जसरी नङ र मासुको अन्योन्याश्रित सम्बन्ध रहन्छ, ठीक त्यसरी नै सहकारी र समाजको रहन्छ । समाजमा रहेका प्रत्येक मानिसहरुका दैनिक आवश्यकताहरु पूर्ति गर्ने आर्थिक स्रोतसँग निर्भर पर्नुपर्ने हुन्छ । यसर्थ, सहकारीले मानिसहरुका दैनिक दैनिन्दीयलाई सहजता प्रदान गर्ने कार्यमा टेवा पु¥याएको छ । समाजका मानिसहरुलाई नै रोजगार सिर्जना गर्नेदेखि लिएर उद्यम, बन्दव्यापार गर्ने कार्यमा अत्यावश्यक हुने पुँजी समेत लगानी गर्ने कार्यमा सहकारीले अभिभावकत्व प्रदान गरेको छ ।

समाजमा रहेका प्रत्येक मानिसहरुबीचको आत्मीयता र विश्वासको वातावरणसहितको समुन्नत समाज र समुन्नत मुलुक निर्माण गर्ने कार्यमा सहकारीले गरेको योगदान स्तुत्य छ, र अकाट्य पनि छ भन्ने लाग्छ ।

सहकारीका समस्याहरु के–के रहेका छन् ?

सहकारी क्षेत्रमा नेपाल सरकार, सञ्चालक र सदस्यहरुबाट सिर्जना भएका तीन प्रकृतिका समस्याहरु हाल विद्यमान छन् । सहकारी क्षेत्रमा सरकारको स्पष्ट नीति अझै बन्न सकिरहेको छैन । अर्को कुरा सहकारी नीति बने तापनि सञ्चालकहरु बीच जुन रुपमा सरकारी संस्थाहरुका सञ्चालन हुनुपर्ने त्यो भैरहेको स्थिति छैन । सहकारी क्षेत्रमा सर्वसाधारणले जम्मा गरेको रकममा कर, ट्याक्स जस्ता कुराले पनि बेलाबखतमा सहकारीकर्मीहरु मारमा परेका छन् । सहकारी सञ्चालन गर्दाको मापदण्ड, कार्य क्षेत्र र सञ्चालकहरुको दायरा र कार्यदिशालाई सरकारले स्पष्ट रुपमा निर्दिष्ट गरिएका खण्डमा सहकारीकर्मीहरुले राहतको महसुस गर्ने थिए ।

अर्कोतर्फ सहकारी सञ्चालक र सदस्यहरुबीचका सौहार्दपूर्ण वातावरण हुन नसक्दा कतिपय समस्याहरु सहकारीहरुमा देखिएका छन् । केही सहकारीहरुमा सञ्चालकहरुले आफ्नो स्वनिर्णय गर्ने र सदस्यहरुको भावनालाई मुखरित गर्न नसक्ने र सदस्यहरुले समेत ऋण लाने र समयमा बुझाउन नसक्दा जुन किसिमको दरार उत्पन्न हुने गरेको छ । यसतर्फ सबै सचेत हुन जरुरी छ ।

सरकारले सहकारीलाई हेर्ने र गर्ने व्यवहार कस्तो छ ?

सरकारले वित्तीय सेवा प्रदायक बैंक सहकारी, विमा आदि सबैलाई एउटा बास्केटमा राख्न सकेको अवस्था छैन । जसका कारण बैंक तथा अन्य वित्तीय सेवा प्रदायक संस्थाहरुमध्ये सहकारीले सरकारको गिद्देदृष्टिको सामना गर्नुपरेको अवस्था छ ।

निक्षेप संकलन, लगानी क्षेत्र र सेवा सुविधा अनि आयकरका सम्बन्धमा सहकारीहरुले मार खेप्नुपरेको अवस्था छ । ओठे बोलीमा सरकारले सहकारी बृद्धिविकासमा सरकार लचिलो छ भन्ने गर्दछ अर्कोतर्फ सहकारी क्षेत्रमा हरेक तरहबाट अंकुश लगाउने काम गरिरहेको छ । वास्तवमा यो तमाम सहकारीकर्मी र सदस्यहरुको मनोभावना विपरित छ ।

तपाई त समाजसेवी मान्छे । सहकारीले समाजसेवामा के कसरी सहयोग पु¥याइरहेको छ ?

समाजमा रहँदा बस्दा अनेकन व्यक्तिहरुसँग सहकार्य गर्नुपर्दोरहेछ । कतिलाई राम्रो वचनभन्दा पनि कर्णप्रिय हुँदोरै’छ भने कसैलाई सानो सहयोग गर्दा पनि जीवनभर सम्झने गर्दारहेछन् । एक अर्को गर्दै मानिसहरुसँग सहयोग सहकार्य गर्दै जाने क्रममा समाजसेवी भन्ने गरेका छन् अचेल । तर, एउटा कुरा मलाई भन्न मन लाग्छ । अचेल धेरै मानिसहरु आफूलाई समाजसेवी अझ वरिष्ठ समाजसेवी भन्दै स्वनाम घोषणा गर्ने गर्दछन् ।

तर मैले आफूले आफैँलाई समाजसेवी भनेर भन्ने गर्दिनँ । हामी सबै समाजसेवीहरुले बुझ्नुपर्ने कुरा के हो भने कसैलाई अप्ठ्यारो परेको अवस्थामा विना स्वार्थ सहयोग गर्ने बानी र संस्कारको विकास गर्ने गरौँ । प्रत्येक व्यक्तिले आफ्नो जीवनमा आफूले सकेको सहयोग र सद्भाव प्रकट गरौँ । जीवनमा हामीले गरेको सहयोग र गुनले बाटो बिराएकालाई सही बाटोमा ल्याउन र यात्रामा अविचलन भएकाहरुले सही मार्ग पहिचान गर्न सकून् भन्ने मेरो भित्री भावनाअनुरुप मैले व्यक्तिगत तवरबाट र सहकारीका माध्यमबाट त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेकी छु ।

सहकारीका अनुभव नयाँ पुस्तालाई कसरी पोख्नुहुन्छ, तपाई ?

नयाँ पुस्ताका युवाहरुसँग नयाँ किसिमको सोच र जाँगरका साथ काम गर्ने उद्देश्य रहेका हुन्छन् । यसर्थ, सहकारितामार्फत् अब महिला, युवा र नयाँ पुस्तामा पनि समाहित हुनुपर्दछ । सहकारीमार्फत् सञ्चय र लगानी गरी सानो रुपबाटै उद्यमशीलताको शुभारम्भ गर्न सकिन्छ । यसर्थ, विदेशी भूमिमा रोजगारीको लागि लानुको सट्टा सहकारीको सदस्य बनेर उद्यमशीलता आफ्नै गाउँघरमा नै गर्न सकिन्छ । त्यसैले युवा जोश र जाँगर विदेशमा भन्दा पनि स्वदेशकै सेवामा खर्च गर्नोस् भन्न चाहन्छु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *