जिवन्त भोगाई : सोचे जस्तो छैन् कोरोना ! 

news-details

‘कस्तो घाँटीमा अप्ठ्यारो भयो । कोरोना लाग्न लाग्यो कि क्या हो !’ दशैंको अघिल्लो दिन श्रीमानको मुखबाट निस्किएको ‘कोरोना’ भन्ने शब्दले म झस्किएँ र श्रीमानलाई भन्न लागेँ ‘छ्या हो ! भोलि दशैंको टीका छ ! के भन्नुभएको होला ! के को कोरोना लाग्नु नि हामी यति धेरै सजक भएर दिनचर्या गर्दैछौँ । बरु चिसो मौसम सुरु भो चिसोले होला ।’

श्रीमान पनि ‘होला,सायद चिसोले नै होला’ भन्दै नजिकैको थर्मसको पानी गिलासमा राखेर पिउँदै हुनुहुन्थ्यो । तर मेरो आँखा भने श्रीमान्को मुहार निहाल्दै र हात भने भान्सामा भाँडा माझ्दै थियो । मनमा अनेकौं कुराहरु खेल्दै थियो ।
‘साच्चै घाँटीमा अप्ठ्यारो हुँदैमा कोरोना हुन्छ र ?’ प्रश्न आफ्नो मनले आफैँलाई गर्दै थियो । मनको प्रश्नको जवाफ मसँग थिएन । उहाँ तातो पानी पिएर कौँसीमा घाम ताप्न भान्साबाट निस्किनु भयो । म पनि हतार हतार भान्साको काम सक्काएर कौसीमा पुगेँ । मलाई डर थियो कि ,कतै कोरोना नै पो ! लाग्न लागेको हो कि !! भन्ने श्रीमान नजिकै बसेँ । उहाँको मुहार तिर हेरेँ । अनुहार रातो रातो देखेँ र सोधेँ ‘के ज्वरो आएको छ र ? अनुहार त रातो भएको छ !’

उहाँले सजिलो उत्तर दिनु भो, ‘घाममा बसेर हो । ज्वरो आको छैन् ।’ मेरो मन मानेन् ,मेरो मनसँगैै हात पनि चुप बस्न मानेन र मेरो हात उहाँको निधारमा ज्वरो जाँच्न पुग्यो । अरु बेला भन्दा फरक लाग्यो । निधार तातो लाग्यो । उहाँले शरीर गलेको, थाकेको अनुभव गर्नु भएको जस्तो लाग्यो । सोधेँ ‘के भको छ ? उहाँले भन्नू भयो कम्बर दुखेको छ । हिजो अस्तिको ब्यस्तताले होला थकाइ पनि लाग्या जस्तो छ ।’

‘एकछिन आराम गर्नु !’ भन्दै म पनि कोठाहरू सफा गर्न थालेँ । सबैतिर साफसुग्घर गरेर म फेरि कौँसीतिर गएँ । श्रीमान सुतिरहनु भएको थियो तर निदाउनु भएको थिएन । फेरि आफ्नो हातले उहाँको निधार छामेँ । तातो नै महसुस गरेँ ।
मैले ‘ज्वरो हेरौं ल’भन्दै कोठाबाट थर्ममिटर लगेर ज्वरो हेरेँ । थर्ममिटरमा चढेको पारो देखेर म त आत्तिएँ र भनेँ ‘ओहो ! ज्वरो पनि आको रैछ ।’ अब भने मलाई पनि शंका लाग्न थाल्यो । उहाँ अलि अलि खोक्दै पनि हुनुहुन्थ्यो । मैले तातो पानीहरु टन्न खान दिएँ, सिटामोल खान दिएँ । ज्वरो घटेको जस्तो भए पछि बाफ लिन लगाएँ । दिन यत्तिकै बित्यो । बेलुकीको खाना खाएर तुलसी पानी विभिन्न जडीबुटी सहित पकाएर हामीले (ससुरा ,दुईवटा बच्चा, मेरो बुढा र म) पनि तातो तातो पानी पियौँ । सुत्नुभन्दा अगाडि दूधमा बेसार र थोरै मरिच मिसाएर पुनः सबैले पियौँ ।

श्रीमानले आजबाट छुट्टै कोठामा सुत्ने र उहाँको अगाडि कोही नआउनू भन्नू भो । म आत्तिएँ । फेरि पनि भने ‘केही भएको होइन तेस्तो किन परिवारबाट टाढा हुने ? उहाँले ‘अब केही समय टाढा नै बस्नु ठिक यदि मलाई कोबिड नै हो रहेछ भने घरमा सबैलाई लाग्न सक्छ । दुईटा बच्चा र बूढो भएको बुवा हुनुहुन्छ अनि तिमीलाई पनि केही भो भने घर सम्हाल्ने को छ र ?’ भन्नू भयो ।

यस्तो सुन्दा झनै नरमाइलो महसुस गरेँ । सासू नभएको घरमा भित्रिएकी मैले नदेखेको सासू आमालाई धेरै सम्झिन्थेँ र त्यो दिन पनि सम्झिएँ । यदि आमा हुनुभएको भए यसो गर यसो नगर भन्नुहुन्थ्यो होला । अर्याउने सिकाउने कोही थिएन । श्रीमानले भने जस्तै दुईवटा छोरोलाई एउटा कोठामा र अर्को कोठामा म अनि बुवाकै कोठामा बुवा गरी हामी छुट्टै बस्ने निधो ग¥यौ ।

सबैलाई ‘कोठाको चुकुल नलगाउनु !’ भने । हावा आवातजावत हुनेगरी झ्यालहरु खुल्ला बनाएँ । ढोका पनि होडे पारेर म पनि आफ्नो कोठामा गएँ । मनले मानेन एकपटक श्रीमानको कोठाको ढोका बाटै चियाउदै सोधेँ ‘केही भएको छ ?’
जवाफमा ‘छैन’ आयो । दशैमा जुठो परेको अनि तनावग्रस्त पारीवारीक वातावरण भएकोले दशैँको दिन पनि रमाइलो हुन सकेन । हाम्रो पेशा ब्यापार थियो ।

गाउँबाट आएको खुवा काठमाडौंको पसलमा लगेर दिनुपर्ने । सधैं बिहानै मार्केटिङमा श्रीमान जानू हुन्थ्यो । दशैंको टीकाको अगाडि दिन र टीकाको दिन जानू थिएन । भोलिपल्टबाट पसलबाट पनि अर्डरहरु आउन थाल्यो । गाउँबाट खुवा पनि आउन थाल्यो । श्रीमानलाई ज्वरो अलिकति पनि घटेकै थिएन । झन ज्वरोसङ्गै पसिना आउने समस्या थपिएको थियो । म अन्योलमा थिएँ । कोठामा बस्नेका परिवार जस्का तेईस वर्षिय छोरा अनि उनिहरुको जोइपोई पनि केही वर्षदेखि हाम्रै घरको तेस्रो फ्ल्याटमा बस्दै आएका थिए । तीन चार दिनसम्म मेरो बुढो बिरामी हुँदा उनीहरुको परिवारले के भयो कस्तो भयो भनेर सोध्न बुझ्न आएनन् ।

सायद उनीहरुले पनि कोरोना लागेको हो कि ! भन्ने डरले होला यसैले सोध्न आएनन् भन्ने सोचेर मैले पनि मेरो मन बुझाएँ । श्रीमानले आफूलाई सन्चो नहुँदा तल्लो फ्ल्याटमा कोठामा बस्ने दाजुलाई ‘मार्केटिङमा जानू’ भन्ने बिचार गर्नु भएको थियो । बिरामी भएर बसेको तीन चार दिन हुँदासम्म कसैले सोधपुछ नगरेको सम्झिएर उहाँलाई पनि अरुलाई दुख दिन मन लागेनछ ।

मैले ‘म जान्छु’ भन्दा पर्दैन भन्नू भयो । ‘तिमी सक्दैनौं’ भन्नुभयो । ज्वरो आउँदा आउदै पनि उहाँ टीकाको भोलिपल्ट मार्केटिङ जान सक्छु भनेर हिड्न लाग्नु भएको थियो । बुवाले खुबै कराउनु भयो र अन्त्यमा मार्केटिङमा म आफैं निस्किने बिचार गरेँ । छिटो छिटो गरेर खाना बनाएँ, बिरामीलाई खुवाएँ र भान्साको काम सक्केर आफैं गाडी लिएर काठमाडौं मार्केटिङमा निस्किएँ ! धन्न केही समय अघि गाडी सिकेर लाइसेन्स निकालेको रहेछु र आज काम लाग्यो जस्तो लाग्यो ।
म मार्केटिङमा निस्किदा वरिपरिका छिमेकीहरु मुखामुख गरेर बस्थे । म पहिलो पटक मार्केटिङमा देखेर काठमाडौंका साहुजीहरुले श्रीमानलाई सोध्नु हुन्थ्यो । दुई तीन दिनसम्म त ‘गाउँ जानू भएको छ’ भने । ढाट्न मन थिएन र पनि ढाटेँ । किनकि जताततै कोरोनाको डर थियो बिरामीभन्दा कतै संका गरेर आफू उपेक्षित भइन्छ कि भन्ने झन् ठूलो डर थियो ।

दिनहरु त यसैगरी तनावग्रस्त रूपमा अघि बढ्दै थियो । उहाँलाई ज्वरो सिटामोल खाउन्जेल मात्रै कम हुन्थ्यो । सिटामोल खाएको तीन चार घन्टामा फेरि उच्च ज्वरो देखिथ्यो । पसिनाले दिनमा चार पाँच जोर कपडा फेर्नु पथ्र्यो ।

मैले सुनेको थिएँ कि पसिनाको चिसो शरीरको लागि घातक हुन्छ । म बारम्बार श्रीमानलाई यहीँ भन्थे र लुगा फेर्न लगाउथेँ । जब म नजिकै गएर बोल्थे उहाँ मेरो सामु बोल्न पनि डराउनु हुन्थ्यो । मभन्दा बिपरित फर्किएर जवाफ दिनु हुन्थ्यो किनकी उहाँलाई आफुमा कोबिडको शंका थियो ।

मैले उहाँलाई ज्वरो आएको पाँच दिन पछि शंका मुक्त पार्न मेडिसीटी हस्पिटल कोरोना परिक्षणको लागि लगेँ । रिपोर्ट भोलि आउँछ भनेर नर्सले एउटा कागज हातमा दिइन् । हामी रिपोर्टको प्रतीक्षामा घर फर्कियौँ । घर फर्किदा बाटैमा गाडीको टायर पन्चर भो । गाडीलाई साइड लगाएर अर्को टायर हालेँ । अलि माथी आएर बिग्रेको टायर बनाएँ । उहाँ साइडमा मास्कमा हुनुहुन्छ म गाडी हाँक्दै थिएँ । मनभरी कुरा छ तर दुबैको ओठ बन्द छ ।

घर आएर लुगा सबै फेर्यौँ । मैले खाजा बनाएँ । बुवा र बच्चा अनि हामीले खायौँ । बेलुका म ढिडो मस्काउदै थिएँ । बुवाको लागि उहाँलाई सुगर भएकोले एकछाक पीठो बनाउनु पर्छ । बुवा पनि खोक्दै भान्सामा आउनु भो !
मैले ‘के भो खोकी लाग्यो ?’ भनेर सोधेँ ।

उहाँले पनि ‘उम ! आजबाट जीउ दुखेर खोकी लाग्या छ’ भन्नुभयो । अब चाहिँ मलाई पनि कोरोनाको शंका लाग्यो । बुवालाई पनि सिटामोल खान दिएँ । खाना खाएपछि तुलसी, अदुवा, बेसार, नून, ज्वानो, जीरा, पिप्ला, अम्बाको पात र मरिचको धुलो राखेर धेरैबेर लगाएर पानी पकाएर । श्रीमानलाई र बुवालाई दिएँ । बच्चाहरुलाई दिएँ ।

राती उठेर सबैको कोठामा जान्थेँ । बच्चाहरुले ओड्नी फ्याँकेका भए मिलाएर ओढाउथेँ । श्रीमानको कोठाको ढोका खोलेर सासको आवाज सुन्थेँ र म सबै ठिक सम्झेर आफ्नो कोठामा जान्थेँ । आँखामा निन्द्रा नभए पनि आँखा चिम्लिएर बस्थेँ । रिपोर्ट नेगेटिभ आओस् भनेर बारम्बार भगवान् पुकार्थेँ । बिहान भान्साको सबै काम सकाएर मार्केटिङ जान लाग्दा हस्पिटलबाट श्रीमानलाई फोन आयो ।

मेरो मुटु ढक्क फुलेझैँ गरेर धड्कन बढिरहेको थियो जस्तो कि परीक्षामा नतिजा आउनु वा सुन्नु अगाडि हुन्छ । उताबाट केटीले नाम र उमेर सोध्दै गर्दा मैले भगवान पुकार्दै थिएँ । उताबाट रिपोर्ट पोजेटिभ भनिन । म जे चाहन्न थिए तेही भो ।
मन आत्तियो अब के गर्ने भनेर । बुवा पनि गार्हो भएर सुतिरहनु भएको थियो । दिउँसो मार्केटिङबाट आएपछि बुवालाई पनि कोरोना परीक्षण गर्न लाने निधो गरेँ । आफ्नो आत्तिएको मन थियो तर श्रीमानलाई नआत्तिनु भनेँ । तातो पानीहरु खाइरहनू भनेँ । बाफ लिदै गर्नु भनेँ ।

म तनावग्रस्त मस्तिष्क लिएर घरबाट मार्केटिङमा निस्किएँ । दिनदिनै एउटी घरकी बुहारी मार्केटिङमा जादा एउटै घरमा बस्ने (कोठामा बस्ने) का परिवारबाट केही सहयोग पाइएन । बरु मैले गाडी चलाएर लैजादा उनीहरु एकनासले हेरेर बस्थेँ । मलाई कहिलेकाही उनीहरुको मौनतामा दया लाग्थ्यो भने कहिलेकाही उनीहरुले पाएको मानव जीवन नै धिक्कार लाग्थ्यो ।

म त्यो दिन कसरी काठमाडौँ पुगेँ आफैलाई थाहा थिएन । दिउँसो मार्केटिङबाट घर फर्किदा गाडी पनि धेरै तातेर ब्रेक नै नलागेको जस्तो भैरहेको थियो । चाबहिलको ओरालोमा त थिच्दा थिच्दा बल्ल ब्रेक लागेको थियो । ग्वार्खो चोकमा ट्राफिक जाममा मेरै गाडी अगाडि भयो । जति ब्रेक लगाए पनि गाडी पछाडि सरिरहेको थियो ।

त्यहीँ दिनबाट गाडी स्टार्ट बन्द भएपछि फेरि स्टार्ट हुन निकै समय लाग्थ्यो । पछाडिको कार वाला हर्न बजाको बजाकै थियो । म भने पछाडि सरेको गाडी अगाडि सार्दै बस्दै थिएँ । सिसाबाट पछाडि हेर्दै थिएँ ।कारवाला आफ्नो कारबाट झोक्किएर निस्किदै थियो ।

मलाई केही डर लागेन किनकि मैले उस्को कार छोएको थिइनँ । यत्तिकैमा जाम खुल्यो र म अगाडि बढेँ । सातदोबाटोमा म घर आउने बाटोतिर क्रस गर्दैगर्दा एउटा स्कुटर क्रस गरिहालीन । मैले ब्रेक थिचेँ ब्रेक लागेन । गाडी चोकमा भएकोले स्पीड कम नै थियो । स्कुटरको पछाडि अलिकति छोयो । केही पर पुगेर झ्यालबाट हेरेँ । केहीभएको रहेनछ । स्कुटर आफ्नो बाटो गयो म आफ्नो बाटो लागेँ ।

घर आएर पहिले श्रीमानको अवस्था बुझेँ । कोरोना परीक्षणको लागि । बुवा आफैँ हस्पिटल जानू भएछ । हात मुख धोएर म खाजा बनाउन लागेँ । श्रीमानलाई गाह्रो भएको महसुस गरेँ । उहाँलाई स्वाँ स्वाँ हुँदै थियो । मैले तातो पानी खान, लामो लामो सास तान्दै फ्याँक्नु भनेँ । दिउँसो आफू ब्यस्त हुँदा शोभा नानीले फोन गर्नु भएको थियो । उहाँलाई पनि कोबिड भएर घरमा बस्नु भएको रहेछ । उहाँसङ्ग धेरै कुराहरु बुझेँ । के गर्ने ,के नगर्ने सबै ।

नन्द नै नर्स जस्तो लाग्यो । नगरपालिकाबाट कोरोना लागेको भने पछि फोन आएको रहेछ । जहाँबाट अतश, सिटामोल र कुल्ला गर्ने औषधि किनेर खाने सल्लाह दिएको रहेछ । मैले ती बाहेक भिटामिन ‘बि’ ‘सी’ ‘डी’ मेडिकलमा सोधेर ल्याएँ । उहाँहरुको लागि पुरै फ्ल्याट नै छोड्ने बिचार गर्यौँ । श्रीमानहरु चौथोमा र तेस्रोमा चाहिँ कोठामा बस्नेहरू थिए । हामी (छोराहरु र म)दोश्रोमा बस्ने बिचार गरेँ । म पनि बच्चाहरु बाट अब चौध दिनको लागि टाढा बस्न चाहेँ ।

मैले दोश्रो फ्ल्याट्को सबै कुराहरु सेनिटाइज गर्दिएँ । अब मार्केटिङमा केही दिनको लागि आफू नजाने निधो गरेँ । कोरोना संक्रमण भएपछि अक्सिमिटर र अक्सिजनको ब्यवस्था गर्नु महत्वपूर्ण कुरा हो भन्ने बुझेकी थिए र नजिकैको मेडिकलमा गएर अक्सिमिटर सोधेँ । रहेनछ । भोलिको लागि अर्डर गरेर आएँ । भोलिपल्ट बिहानै बुबाको पनि रिपोर्ट पोजेटिभ आयो ।

मार्केटिङमा एकजना ड्राइभर खोजेर पठाएँ । म दुबै संक्रमितहरुको रेखदेखमा ब्यस्त भएँ । आधा घन्टाको फरकमा खाने कुराहरु बनाउदै खुवाउन थालेँ । गुर्जो चिया, ग्रीन टी, दालको रस, उसिनेको अन्डा, ब्रेड, कालो चिया, खानामा खाना भन्दा बढी सब्जीहरु र नास्तामा ज्वानोको झोल, जाउलो, दूध र सातु, पुवा हुन्थ्यो । नास्ताको केही समय पछि तुलसी पानी पिएर रेस्ट गर्ने केही समय छुट्टाईदिएँ ।

बाफ लिने समय छुट्टाईदिएँ । बेलुकाको खाना पछि फेरि गुर्जो चिया र सुत्नु भन्दा अगाडि एक एक गिलास मनतातो दुध बेसार खुवाए पछि मात्रै मेरो दिनचर्या सकिन्थ्यो । बुवालाई पनि किनेर ल्याएको सबै औषधिहरु खान दिएँ । दुबैजनालाई पटकपटक केही समस्या छ कि सोधिरहेँ । बुवालाई भन्दा छोरोलाई गार्हो भएको प्रष्ट देखिन्थ्यो ।

बिहानको दस बजे तिर अडर गरेको अक्सिमिटर किन्न गएँ । सबैभन्दा पहिले आफ्नो हेरेँ ‘सहि छ’ भन्नुभयो मेडिकलको दाईले । सायद म अलि आत्तिएको देखेर हो कि त्यो दाइ आफैले कस्तो समस्या देखा परे के गर्ने भनेर प्राथमिक उपचार सिकाउनु भयो । केही समस्या भएमा फोन गर्नुस् म उपस्थित हुनेछु भनेर फोन नम्बर दिनु भयो । कोबिडको डरले घरमै मान्छेले सहयोग गर्न डराउदा घर बाहिरको मान्छे जुनसुकै समयमा सहयोगको लागि तयार भएको देख्दा खुशी लाग्नुको साथै दुखमा ठुलो राहत मिलेको अनुभव गरेँ । अक्सिमिटर लिएर घर आएँ ।

बुबाको हातमा राखेर हेर्न लगाएँ । बुवाको अक्सिजन लेवल सामान्य थियो । बुवाले आफ्नो छोराको हेर्नको लागि अक्सिमिटर छोरोको हातमा दिनुभयो । छोरोको लेवल कम देख्नु भयो । बुवाले मलाई भन्नू भयो ‘नब्बे भन्दा कम हुनुहुन्न भन्या होइन ?’ मैले ‘उम ! कति रहेछ ?’ सोधेँ ।

नजिकै गएर हेरेँ । दुबै हातको औंलाहरु राख्न लगाएर हेरेँ । लेवल नब्बे भन्दा कम नै छ । मेडिकलको मान्छेले, शोभा बहिनीले पनि ‘नब्बे कम अक्सिजन लेवल भो भने त अक्सिजन दिनुपर्छ’ भन्नुभएको सम्झिएँ । म अक्सिजन सिलिन्डर खोज्न तिर लागेँ ।

सुरुमा कोबिड भएको भनेर सल्लाह दिने नगरपालीकाको नम्बरमा फोन गरेर बुझेँ । त्यहाँ पनि आफू लाई अक्सिजन सिलिन्डर बारे थाहा नभएको भने । मैले निकै मलिन स्वरमा ‘मेरो घरमा दुई जना कोबिड बिरामी हुनुहुन्छ । गर्ने बुझ्ने कोहि छैन । मलाई सहयोग गर्नुस् न !’ भने । मेरो कुराले सायद त्यो ब्यक्तिलाई छोयो होला । उस्ले पनि बुझेर मलाई एउटा फोन नम्बर मेसेज गरिदिए । मैले मेसेजमा आएको फोन नम्बर डायल गरेर अक्सिजनको कुरा गरेँ,आफ्नो समस्याको कुरा गरेँ ।

त्यहाँबाट पनि सिलिन्डर पाउने ठाँउको नम्बर मेसेज गरिदिए । मैले फेरि मेसेज गरेको नम्बरमा फोन गरेँ र बुझेँ । अक्सिजन पाइन्छ भने पछि झन ठुलो राहत मिलेको महसुस गरेँ । तेताबाट लिन आइहाल्नुस पसल बन्द गर्न लागेको भने । साँझको छ बजिसकेको थियो । म गाडी निकालेर अक्सिजन लिन गएँ । दश हजार डिपोजिट राखेर ,चार हजारको सरसामान किनेर, फिट गर्ने तरिकासहित अक्सिजन चलाउनेसम्म सिकेर सिलिन्डर गाडीमा राखेर घर फर्किएँ । घर आइपुग्दा रातीको सात बजिसकेको थियो । खाना बनाउने सुरसार केही गर्न भ्याएकै थिइन् ।

बच्चाहरू ‘मामु भोक लाग्यो’ भन्दै थिए । श्रीमान स्वाँ स्वाँ गर्दै बिस्तारै ‘अहिले अक्सिजन लाउन पर्दैन’ भन्दै हुनुहुन्थ्यो । जति स्वाँ स्वाँ हुन्छ तेती नै बाफ लिदा हल्का हुन्छ भन्ने सुनेको थिएँ । मैले श्रीमानलाई पानीमा अलिकति नून राखेर बाफ लिदै गर्नुस् केही भो भने फोन गर्नुस् भनेर खाना बनाउन दोश्रो तल्लामा आएँ । हतार हतारमा खाना बनाएँ । बच्चाहरुलाई भन्दा पहिले बुवा र श्रीमानलाई खाना ल्याइदिएँ । बुवाले आफ्नो भाँडा तयार गर्दा पनि श्रीमान भाँडा लिएर कोठाबाट निस्कनु भएन । उहाँलाई नजिकै आएर खाना थाप्नु भनेँ । उहाँले खानै मन नभएको बान्ता आउला जस्तो भएको भन्नू भयो । मैले यो रोगलाई खाना र तातो पानीले पेल्नु पर्छ अनि ठिक भइन्छ रे भनेँ ।

धेरै पटक खाना खान अनुरोध गरेपछि उहाँले खाना खाने भाँडा लिएर कोठा बाहिर निस्कनु भयो । मैले खाना खन्याईदिएर ‘ल खानु’ भन्दै म भान्सामा छोराहरुलाई खान खान दिन गएँ । बच्चाहरूले खाना खादै गर्दा मैले किचेन सफा गरेर सक्काएँ । खाना खान मलाई पनि पटक्कै मन थिएन । थोरै खाना सानो प्लेटमा राखी हतारले खाएँ र श्रीमानको कोठा नजिकैबाट हेरेँ । उहाँ निकै गार्हो महसुस गरिरहनु भएजस्तै लाग्यो । खाना पनि खानु भएन छ । मैले ढोका बाहिरैबाट सोधेँ ‘गार्हो भएको हो ?’

जवाफमा ‘हो’ आयो । अक्सिमिटरले अक्सिजन लेवल हेर्न लगाएँ । अक्सिमिटरमा देखाएको नम्बर देखेर म आत्तिएँ । जम्मा पचासी रहेछ । अक्सिजन लगाउनु पर्छ अब भन्ने सोचेर ठिक पारेर राखेको अक्सिजन सिलिन्डर श्रीमानको नजिकै ल्याएँ ।
उहाँ ‘नजिक नआऊ’ भन्दै हुनुहुन्थ्यो । मैले ‘तपाईलाई यस्तो गाह्रो हुँदा पनि म टाढा बसेर कसरी हेर्न सक्छु’ भनेँ । उहाँ चुप बस्नुभयो । मैले उहाँलाई अक्सिजन सिलिन्डरमा दुई र तीन बीचको लेवलमा राखेर दिएँ । पाँच मिनेट जति पछि उहाँले निकै हल्का महसुस गर्नु भयो । शरीरको अक्सिजन लेवल पनि नब्बे माथी भयो । मेरो पनि आत्तिएको मन शान्त भयो ।

रातीको नौ बजे बाट दिएको अक्सिजन अब एक घन्टा यसै गरेर हेर्ने निधो गरेँ । उहाँलाई अलि सहज भए जस्तो लाग्यो र म भान्साको जुठा भाँडा माझ्न गएँ । भाँडा माझ्दै मोबाईल ठुलो आवाजमा राखेरै एम्बुलेन्सको नम्बर बुझेँ । घर नजिकैको देवर पनि कोबिडको कारण अस्पताल भर्ना भएको सुनेको थिएँ । उहाँकै दाईलाई फोन गरेर ‘के कारण र कस्तो अवस्था भएर अस्पताल लगेको ?’ भनेर अस्पताल लग्नु पर्ने हो होइन भन्ने कुरा बिचार गरेँ ।

हेटौंडाबाट आमा बुवाले फोन गरेको गरेकै हुनुहुन्थ्यो । मोबाइलमा म आमा बुवा सङ्ग बोल्ने ताकत थिएन किनकि म यो आपतमा एक्लो थिएँ र म बुवा आमासङ्ग बोल्दा बोली रुन्चे हुन्थ्यो । जस्को कारण उहाँहरु पनि दुखी हुनुहुन्थ्यो । म मेरा बा आमा दुखित देख्न सक्दिनँ । धेरै पटक उहाँहरुको फोन आएपछि फोन उठाएँ । उहाँहरुले ‘ज्वाईं लाई कस्तो भो ?’ सोध्नुभयो ।

मैले अवस्था सामान्य नै भए जसरी ‘अक्सिजन दिएको अलि सास फेर्न सहज भएर म भान्सामा भाँडा माझ्न आएकी अब हेर्न जान्छु’ भने । उताबाट ‘ल छिटो जा त कस्तो भएको छ हेर’ भन्नुभयो । मैले ‘हस’ भन्दै ‘बच्चाहरुलाई दूध पिएर सुत’ भन्दै तातो दूध एक एक कप उनीहरुलाई दिएर श्रीमानको कोठा तिर दौडिएँ ।

उहाँलाई धेरै गाह्रो भइ नै रहेको देखेर म त खुब आत्तिएँ । फेरि फोन आयो आमा बुवाको ‘कस्तो छ ज्वाईलाई ?’ मैले आत्तिएको स्वरले भने ‘अक्सिजन दिदापनि गार्हो भैरहेको छ अब अस्पताल लैजान्छु । एम्बुलेन्सको नम्बर छैन अब म आफै लिएर जानुपर्ला !’ भनेँ ।

उताबाट बुवाले भन्नुभयो ‘अब तँ एक्लै छेस ! पख म हरि दाइलाई भनिदिन्छु तेस्ले सहयोग गर्छ बरु !’ मैले ‘पर्दैन ! मलाई अहिले एम्बुलेन्सको नम्बर भए पुग्छ ।’ भनेँ ।

केही बेरमा साइलो ठुलोबुवाको छोरा हरि दाइको फोन आयो ‘के छ बहिनी कस्तो छ भाईलाई ?’ उहाँको म बहिनी (काकाको छोरी) र मेरो श्रीमान उहाँको आफ्नै मामाको छोरा पनि । यसैले म बहिनी र मेरो श्रीमान उहाँको भाई । मैले दाईले त्यसरी सोध्ने बित्तिकै सबै भनेँ र एम्बुलेन्सको नम्बर मागेँ ।

दाइ आफैले एम्बुलेन्स भनिदिनु भएछ । केही बेरमा एम्बुलेन्स घर अगाडि आएको जानकारी मिल्यो । म दौडिदै बाहिर पुगेँ । एम्बुलेन्स घरबाट केही माथि रोकेर बसेको देखेँ । बोलाएर घर अगाडि रोक्न लगाएँ । एम्बुलेन्स ड्राइभरलाई ‘म मेरो बिरामी ल्याउछु !’ भन्दै घर भित्र पसेँ ।

उहाँलाई ‘एम्बुलेन्स आयो अब अस्पताल जाउँ !’ भने । उहाँले ‘पर्दैन’ भन्दै हुनुहुन्थ्यो । मैले ‘यो ख्याल ख्याल गर्ने रोग होइन जानू पर्छ ! अक्सिजन लगाउदा लगाउदै पनि शरीरमा अक्सिजन लेवल नबढ्नु त ! राम्रो लक्षण होइन ।’ भनेँ । उहालाई मोबाइलको चार्जर हाल्न लगाएँ । अक्सिजन छुटाउदा झनै गार्हो भएको हुदा मैले अक्सिजनको सिलिन्डर बोकेरै उहाँलाई अस्पताल पुर्याउनु पर्छ सोचेँ । सायद आपत परेर मन नै गरुङ्गो भएर होला अक्सिजनको त्यति गरुङ्गो सिलिन्डर पनि मलाई गरुङ्गो लागेन । जुरुक्कै उचालेँ ।

श्रीमानलाई अगाडि हिड्न लगाएँ । आफ्नै कोठाको ढोकाबाट घुम्लुङ्ग बर्को ओडेर ससुरा यो दृश्य बडो भाबुक्तापुर्ण हेरिरहनु भएको थियोे । मैले हिड्नु अघि ‘ल बुवा म अस्पताल पु¥याएर आउछु’ भनेँ बुवा पनि बोल्न सक्नुभएन । टाउकोको इसाराले ‘हुन्छ’ भन्नू भयो । सिलिन्डर सहित रातको पौने एघारमा म कोरोना लागेर गार्हो भएको मेरो जीवनसाथीलाई अस्पताल पुर्याउन हिडेँ । घर अगाडि हाम्रै प्रतिक्षामा रहेको एम्बुलेन्समा हामी दुबै चढ्यौँ ।

ड्राइभरले ‘कुन अस्पताल जाने ?’ भनेर सोध्दा मैले ‘आनन्दवन’ भनेँ । मैले आनन्दवनमा पु¥याए पछि बिरामीको अवस्था हेरेर त्यो हस्पिटल आफैले अरु हस्पिटल पु¥याउछ रे भन्ने थाहा पाएको थिएँ । अरु कुनै अस्पताल लैजादा बेड नपाएर बिरामीको अवस्था नाजुक भएको खबरहरु प्रशस्त सुनेको थिएँ । यस्तै धेरै कुराले मैले आनन्दवनमा बेड बुझेरै श्रीमानलाई आनन्दवन अस्पताल लैजाने निधो गरेको थिएँ । एम्बुलेन्स चढेको केही बेर पछि सिलिन्डरको अक्सिजन नै बन्द भयो । धेरै कोशिश गरे सिलिन्डर खोल्न सकिनँ । अक्सिजन नै सकिएछ कि भन्ने सोचेँ । उहाँलाई अक्सिजन नचले पछि झन बोल्नै नसक्ने गरि स्वाँ स्वाँ हुन थाल्यो ।

केहिबेर मै हामी अस्पताल पुग्यौँ । बाटो बनाउदै गरेकोले एम्बुलेन्स अस्पताल भन्दा अलि तलै रोक्कियो । हामी त्यही ओर्लियौँ । बाटो अलि उकालो थियो । उहाँ अघि अघि म पछि पछि त्यो नचलेकै सिलिन्डर बोकेरै हिड्यौँ ।

उहाँलाई रोग ले स्वाँ स्वाँ भएको थियो भने मलाई डरले । त्यहाँ पुग्दा मलाई पनि आफ्नै सास रोक्किएला जस्तै भयो । त्यति राती पनि दुई नर्स र एक भाइ बिरामीको अवस्था बुझ्न बाहिर आए ।सोधे ‘के समस्या देखिएर यहाँ आउनुभयो ?’ उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्न थियो । उहाँको सट्टामा म बोल्न खोजेँ । मलाई बोल्न गाह्रो भएको देखेर उनीहरुले ‘केहिबेर बस्नुस अनि भन्नुस !’ भने । म नबसेरै स्वाँ स्वाँ गर्दै बोल्न थालेँ ।

‘उहाँलाई यसरी अक्सिजन लगाउदा पनि शरीरमा अक्सिजनको मात्रा बढ्नुको सट्टा घटेको देखेर र उहाँलाई सास फेर्नै निकै गाह्रो भएकोले गर्दा अनि ज्वरो घट्दै नघट्ने, पसिना धेरै आउने, खान मन नै नलाग्ने बान्ता आउला जस्तो हुने तर बान्ता नहुने यस्तै यस्तै समस्याले गर्दा मैले यहाँ ल्याएको । यो सिलिन्डर पनि बाटैमा आफै चलेन के भएको होला ?’ उनिहरुले परैबाट सिलिन्डर हेरेँ ।

‘ग्यास नै सक्किएको’ भने । नयाँ सिलिन्डर यति छिटै सक्कियो जस्तो लाग्यो तर उहाँलाई छिटो बेडमा राख्नु थियो र पनि म अरु केही बोलिन । उनिहरुले ‘कोरोना संक्रमित चिसोमा बस्नै हुँदैन । छिटो पछाडिको ढोकाबाट आउनु’ भने । हामी बुढाबुढी सङ्गै त्यो ढोका अगाडि पुग्यौँ । निकैबेर पछि ढोका खोले । सबै संक्रमितहरु मस्त थिए । घर नजिकैको देवर जो आफै संक्रमित हुनुहुन्थ्यो र उहाँ सङ्गै मैले त्यहाँको बेड खाली भएको नभएको बुझेको थिएँ ।

उही देवर नै शौचालय जान भनी बाहिर निस्कनु भयो । उहाँलाई निन्द्रा नलाग्ने समस्याको कारण निन्द्रा लाग्ने औषधीले लट्ठ पारेको रहेछ । मैले ‘बाबू’ भन्दा ‘उम’ भन्दै शौचालयतिर लाग्नु भयो । श्रीमानको लागि साथी पनि बाबू नै हुनुहुन्छ भन्ने लाग्यो । एकजना त्यहाँकै स्टाफले भित्र कागजमा केही लेख्न बोलाएँ । म भित्र पस्दै थिएँ श्रीमानले नै हातको इसाराले पर्दैन भन्नू भो ! मेरो अगाडि बढेको पाइला रोक्कियो। त्यति राती एम्बुलेन्स बोलाउने दाइ पनि आइपुग्नु भो । दाइलाई बिरामी र मेरो नजिक नहुन आग्रह गरेँ ।

दाईलाई सबै समस्याहरु बताएँ । एम्बुलेन्सको ड्राइभर पनि मलाई घर पुर्याइदिने बिचारले कुरेरै बसेका रहेछन् । जो परैबाट ‘ए दिदी तपाई घर जाने हो कि होइन ? मेरो त अर्को बिरामी लिन जानू पर्ने भयो ।’ मैले ‘जाने हो’ भनेँ ।

अरु बेला बिरामी र बिरामी कुरुवा चाहिन्थ्यो तर यो कोरोनाको बेला जस्तोसुकै जटिल अवस्थाको बिरामी भए पनि अस्पतालमा एक्लै छोडेर एक्लै घर फर्किनु पर्यो । मैले आफू सङ्ग भएको केही पैसा उहाँलाई भुइँमा राख्दिएर ‘आफ्नो ख्याल गर्नु’ भन्दै भक्कानिदै एम्बुलेन्समा रातको साढे बाह्र बजे घर फर्किएँ ।

अघि पछि रात परेपछि घरै बाहिर निस्कन पनि डराउने म त्यो दिन म भित्र कुनै चेतना नै नभएको जस्तो थियो । न अन्धकारको, न मान्छेको, न त अरु केहिको डर थियो । मात्रै मनमा श्रीमानको स्वास्थ अवस्था सुधारको लागि प्राथना थियो । घर अगाडि एम्बुलेन्स रोक्कियो । पाँच सय रुपैयाँ दिएँ । एम्बुलेन्स चालक आफले नुहाई, धुवाई र सेनिटाइज गर्ने सल्लाह दिए ।

‘न आत्तिनुस ठिक हुन्छ !’ भन्दै ठुलो हिम्मत दिए । घर आएर सबैभन्दा पहिले बुवाको कोठाको ढोका बिस्तारै उघारेँ । सासको चाल सुनेँ । बूढो मान्छे, दीर्घ रोगी अनि कोरोना र छोराको यो अवस्थाले न बुवालाई पो केही भयो कि भन्ने चिन्ता थियो । बुवाको निदाईरहेको शरीरको सासको गतिले चिन्ता दुर गरायो । नुवाई ,धुवाई गरेँ । अस्पतालबाट आएपछि छोएको सबै चिजमा सेनिटाइज गरेँ ।

छोराहरु दुबै मस्त निदाएको थिए । ओढ्ने शरीर भन्दा तल सरेको थियो तर उनिहरुको नजिक जाने आँट आएन किनकी म भर्खरै कोबिड बिरामी सङ्गै र कोबिड बिरामी राख्ने नै अस्पताल पुगेर आएको थिएँ । छोराहरुलाई बाहिरको सिसाबाटै हेरेँ । चित्त बुझाएँ । नुवाई धुवाई सक्किदा रातको दुई बजिसकेको थियो ।

ओछ्यानमा चिसो कपाल थियोे । आँखा उस्तै र मन पनि उस्तै । अनेकौं कुराहरु एकपछी अर्को गर्दै मनगढ्न्ते कुराहरुको ओहिरो थियो । एक्लै भकानिन्थेँ, एक्लै समालिन्थेँ । ससुराको फोन आयो ‘तँ अस्पताल मै हो ?’ मैले ‘म घर आएर सुतीसकेँ’ भनेँ । बुवाले म माथी गएर सासको चाल सुनेर आएको पत्तो पाउनु भएन छ भन्ठानेँ । फेरि केहीबेरमा श्रीमानको फोन आयो । उहाँ स्याँ स्याँ गर्दै ‘तिमी घर पुग्यौँ ?’ सोध्नुभयो । मैले आफू नुवाई धुवाई गरेर सुतिसकेको भन्दिएँ ।

‘कस्तो छ ?’ सोधेँ जवाफमा ‘उस्तै छ’ भन्नुभयो । ‘अक्सिजन लगाइरहेको’ भन्नुभयो । ‘आफ्नो ख्याल राख्नु’ भन्दै फोन राखिदिएँ । बिहान हुँदासम्म आँखाको परेलाहरु जोडिन मान्दै मानेनन् । बरु बगे नयनबाट पिडाको भेलहरु र लेखे मनका भावनाहरु मुक्तकमा :

जिन्दगीले चोट दियो कमजोर सोचेर
कोहि हेर्छु भन्दै थियो कमजोर सोचेर
जिन्दगीको अनेकन उतारचढाव भोगेँ
समयले परिक्षा लियो कमजोर सोचेर ।

दुःख जति मेरै भाग पर्छ किन होला
बिश्वास गरेकाले घात गर्छ किन होला
भावीले नि दुख मात्रै लेखेछ कि कुन्नि !
ओठ हास्दा पनि आँसु झर्छ किन होला ?

कतै कठोर कतै कोमल मन हुन्छ
जिन्दगीमा कति धेरै बन्धन हुन्छ
मानवता पनि देखाउनुस् न महोदय,
व्यबहारमा तपाईंको मुल्यांकन हुन्छ ।

आफ्नै त हो जीवन अरुको आस गर्नु हुदैन
सकिन्छ राम्रै सोच्नु, अरुको नास गर्नु हुदैन
कसैको त यहाँ आँसु पनि झुटो हुन्छ हजुर,
आँसु झार्दैमा कसैलाई बिश्वास गर्नु हुदैन !

यस्तै यस्तै शब्दहरु कोरेरै मन भुलाउथेँ । फेसबूक हेर्दा साथीको दाइको कोरोनाकै कारण ज्यान गएको खबर जताततै, जो कोहीले राखेको देखेँ । यो खबरले म स्तब्ध भएँ । हँसिलो रसिलो र सबैको प्यारो ती दाजुको यस्तो खबरले झन मेरो आलो घाउमै कसैले चिमोटे जस्तो लाग्यो ।

ती दाजुको मृत्युको खबरले सबैलाई रुवायो । मलाई पनि खुबै रुवायो र अत्तायो पनि तर त्यसरी मान्छे पिच्छे फेसबूकमा कोरोनाको कारण मृत्युु भएको भनेर राख्नु पनि घातक नै हुनेरहेछ । संक्रमित र संक्रमितको परिवारमा बढेको आत्मबल पनि यस्तो समाचारले घटाउदो रहेछ ।

छोराहरु खाना पकाउने सिलिन्डर गुडे पिच्छे पनि बाबा आउनुभएको हो भन्दै सोध्न आउथे । मेरै नजिक बस्न चाहन्थे तर हामी चाहेर पनि नजिक हुन पाएका थिएनौँ । हामीले पुरै अनुहार देखाएरै पनि बोल्न, हास्न पाएका थिएनौँ। हाम्रो खुशी मास्कले छोपिएको थियो किनकी हाम्रो नाक मुख खाना र पानी खाने बेला बाहेक सधैं मास्कले छोपिएको हुन्थ्यो । अस्पतालमा भएको बिरामी देवरले नै श्रीमानको धेरै ख्याल राख्नु भयो ।

भोलिपल्टबाट श्रीमान फोन उठाउन पनि नसक्ने हुनुभएछ । देवरले नै उठाउनु भयो । अक्सिजन लगाएको भएर बोल्न नमिलेको भन्दै ढाट्नु भयो । मैले मलिन स्वरमा ‘मलाई नढाट्नु है बाबू’ भन्दै रून लागेँ । बाबुले पनि ‘हस भाउजू’ भन्नू भयो । सबैतिरबाट फोन मेसेज आउन थाल्यो कुनैको जवाफ दिन सक्ने अवस्थामा थिईन ।

सबैको एउटै प्रश्नको जवाफ दिन पनि मैले सकिनँ । सबै आफन्तजनहरु, मित्रजनहरु आत्तिनु भयो । धेरैले फोन गरेर मलाई ‘आत्मबल दरिलो पार्नु केही हुन्न उहाँलाई’ भने ।उहाँको शिघ्र स्वास्थलाभको कामना गरे । लथालिङ्ग हुन लागेको ब्यापार सम्हाल्न चितवनदेखि ठुलीआमा सासुको छोरा (देवर) आउनु भयो । उहाँ आएपछि अलि राहत मिलेको महसुस गरेँ । अस्पतालमा झन–झन अवस्था गम्भीर हुँदै थियो । अर्को अस्पताल लैजाने कि भन्ने कुरा पनि थियो ।

उहाँलाई खाना रुच्ने सुइँ लगाइदिए पछि खाना रुच्न थाल्यो । अनि एक दुई दिन पछि ज्वरो कम भयो । दश एघार दिन पछि बल्ल ज्वरो कम भयो । ज्वरो कम र खानामा रुचि हुन थाले पछि आसा पलायो । अब केही हुन्न भन्ने । अस्पताल लगेको छ सात दिन पछि अक्सिजन लेवल पनि राम्रो हुन थाल्यो । फोक्सो सुन्निएको छ भनेर डाक्टरले बार्ह दिनको लागि औसधि दिनुभयो । म घरैबाट डाक्टर प्रदीप सापकोटालाई फोन गरेर अवस्था बुझिरहन्थेँ ।

डाक्टरले ‘राम्रो हुँदै छ सायद अब केही न होला कि !’ भन्दा एक मनमा डर कायमै हुन्थ्यो भने अर्को मनमा अब केही हुन्न होला भन्ने हुन्थ्यो ।

उहाँलाई अस्पताल लगे पछि हरेक रातहरु अनिदो र बेचैनीमा बिते । आँखा चिम्लिहाल्दा केही नराम्रो हुन्छ कि झैँ लाग्थ्यो । नजिकैबाट हेर्ने कहिले होला झैँ लाग्थ्यो । केही हप्ताको अस्पताल बसाइँ पछि उहाँलाई घरमै क्वारेन्टाइनमा अझै केही दिनको लागि बस्नु भन्दै डिस्चार्ज गरियो । पुर्ण रूपमा सन्चो नभईकन घरमा उहाँ आउन लाग्दा मेरो मनमा खुशी सङ्गै डर पनि कायमै थियो भने । उहाँ घर आउने भन्ने बित्तिकै मैले पुनः अक्सिजनको ब्यबस्था गरिसकेको थिएँ । अस्पतालमा हुँदा भिडियो कल गरि उहाँको अनुहार देखेर सन्तुष्ट हुने मेरो मन घर आए पछि जुनसुकै समयमा त्यो मुहार देख्न पाउँछु भनेर पनि अत्यन्तै हर्षित थियो ।

उहाँले अस्पतालमा आफुलाई लिन आउनु पर्दैन आफै एम्बुलेन्समा घर आउछु भन्नू भयो । म घरमै उहाँको प्रतिक्षामा बसेँ । उहाँ जब एम्बुलेन्सबाट घर अगाडि झर्नु भयो म लिन गएँ । उहाँलाई पहिले झैँ छुट्टै राखेँ । बुवालाई भने केही गाह्रो अप्ठ्यारो नपरेको हुँदा बुबाको हेरचाहमा मलाई एक किसिमको डर भए पनि असजिलो भने परेको थिएन । कोबिड भएको करिब अठ्ठाइस दिन पछि उहाँको र बुबाको पुनः कोबिड परिक्षण गरियो । बिहान सबेरै गरेको परिक्षणको नतिजा साँझ मोबाइलमा ‘तपाईंको कोबिड रिपोर्ट तयार भैसको छ’ भनेर मेसेज आयो ।

पहिले पोजेटिभ आउँदाझैँ मुटुको चाल बढ्दै थियो । अस्पतालबाट दिएको एउटा सानो कागज जसमा आइ डी पासवर्ड थियो । त्यही अस्पतालको कोबिड रिपोर्ट हेर्ने वेबसाईट खोलेर आइ डी पासवर्ड राखेर रिपोर्ट हेर्यौँ ।

नेगेटिभ भन्ने देख्ने बित्तिकै अङ्कमाल गर्दै बधाई दिदै एक महिनासम्म आँसुमा डुबेको आँखामा खुशी भरियो र पुनः खुशी दुबैको आँखाबाट पोखियो । हजुरबुवा र बुवाकोको नजिक हुन नपाएका बच्चाहरु नजिकै लुटुपुटिन लागे । रमाउन लागे ।

हाम्रो पहिले झैँ पारिवारिक खुशी पुनः फर्कियो । बुढाबुढी र दीर्घ रोगीलाई गाह्रो हुन्छ भन्ने कुरा मेरो घरमा गलत साबित भयो । आफैलाई परेपछि यस्तो लाग्यो कि सोचे जस्तो छैन रहेछ कोरोना र त मुस्किलले कोरोना जितियो ।

०००

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *