बढ्दै छ ब्रोडब्यान्डको प्रयोग, ७६ प्रतिशत जनता ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा
- मंसिर ७, २०७७
- 0
देशको जनसङ्ख्याको ठूलो हिस्सा उच्च गतिको मानिने ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा रहेको पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भदौसम्म कुल जनसङ्ख्याको ७६.५८ प्रतिशत अर्थात् दुई करोड २८ लाख ८० हजार व्यक्तिले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् ।
कुल प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने देखिएको छ । ई–भिडियोसहित एक करोड ६८ लाखले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्कमा छ । यसमध्ये पनि थ्रिजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १२ लाख छ भने ५५ लाखले फोरजी प्रयोग गर्छन् । बाँकी ई–भिडियो प्रयोगकर्ता छन् ।
मोबाइलपछि फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या करिब ५८ लाख पुगेको छ । यसमध्ये पनि टेलिकमले ल्यान्ड लाइनमार्फत उपलब्ध गराइरहेको एडीएसएल प्रयोगकर्ताको सङ्ख्या नौ लाख १८ हजार छ । निजी इन्टरनेट सेवा प्रदायकका ग्राहक सङ्ख्या ४९ लाख पुगेका छन् ।
वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या सबैभन्दा कम अर्थात् दुई लाखभन्दा केही बढी छ । यसमध्ये रेडियो (वाईफाई)मार्फत इन्टरनेट प्रयोग गर्ने एक लाख ३८ हजार छन् भने वाईम्याक्समार्फत इन्टरनेट प्रयोग गर्ने ९० हजार छन् ।
सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ब्रोडब्यान्ड प्रयोगकर्ता एक करोड १४ लाख छन् । एनसेलका ६५ लाख छन् भने निजी इन्टरनेट प्रदायकका करिब ४८ लाख प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमका करिब दुई लाख प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।
ब्रोडब्यान्ड नीतिले नेपालको सन्दर्भमा प्रतिसेकेन्ड न्यूनतम ५१२ केबी डाउनलोड र सहरी क्षेत्रमा प्रतिसेकेन्ड १० एमबी गतिको इन्टरनेटलाई ब्रोडब्यान्ट इन्टरनेटका रूपमा परिभाषित गरेको छ ।
देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने र इन्टरनेट पु¥याउने परियोजना सञ्चालन गरिरहेको छ ।
देशैभर १८ वटा प्याकेजमा छुट्याएर सुरु गरिएको उक्त परियोजनाअन्तर्गतका हरेक वडाका सामुदायिक संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क पु¥याउने र दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने काम भइरहेको छ ।
प्राधिकरणका अनुसार यस परियोजनाअन्तर्गत इन्टरनेट पुु¥याउन तोकिएका १५ हजार ८४९ साइटमध्ये १० हजार ५५३ मा इन्टरनेट जडान सम्पन्न भएको छ ।