वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनाबमा

news-details

वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनाबमा रहेका एक अध्ययनले देखाएको छ । ‘‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब”ले महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभावबारे गरेको अध्ययनले यस्तो देखाएको हो ।

उक्त अध्ययनले वैदेशिक रोजगारीमा रहेका झण्डै ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका र ४६ प्रतिशत भन्दा बढी श्रमिकलाई नेपाल सरकारको योजना र नीति नियमको बारेमा जानकारी समेत नभएको पाईएको देखाएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको वेबीनारमा नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरु जोशीले श्रमिकहरु नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनाबको डरमा रहेको समेत अध्ययनले देखाएको बताईन् ।

त्यस्तै, विदेशमा रहेका श्रमिकमा नेपाल फर्केपछि के गर्ने भन्ने योजना नहुनु र श्रमिकसँग थोरै मात्र बचत हुनुले पनि श्रमिकहरु तनाबमा हुने गरेको जोशीले बताईन् ।

बेरोजगारीकै कारण विदेशिन्छन् युवा

अधिकांश युवाहरु बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ । ‘‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” ले गरेको अध्ययन अनुसरा ५७ प्रतिशत युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । ४२ प्रतिशत युवा नेपालमा काम गर्दा गर्दै पनि राम्रो आम्दानीको लागि विदेशिने गरेको पाईएको छ भने ५ प्रतिशत अन्य कारणले बैदेशिक रोजगारीमा जाने गरेको पाईएको छ ।

अध्ययनका अनुसार विदेशमा रहेको अलेखबद्ध श्रमिकमध्ये अधिकाश साउदीमा रहेको पाईएको छ । साउदीमा ४५ प्रतिशत अलेखबद्ध श्रमिक छन्, यूएईमा २३ प्रतिशत, मलेशियामा ११ प्रतिशत रहेको अध्ययनले देखाएको इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य शरू जोशीले बताईन् । उनका अनुसार ९४ प्रतिशत पुरुष अलेखबद्ध रहेका छन् ।

७० प्रतिशत श्रमिक सरकारी योजना बारेमा वेखबर

सरकारले श्रमिकहरुलाई विभिन्न खालका योजनाहरु सञ्चालन गरेको छ । तर, ७० प्रतिशत श्रमिक सरकारले सञ्चालन गरेको कार्यक्रम बारे बेखबर गरेको इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरु जोशीले बताईन् । २८ प्रतिशतलाई अलि अलि जानकारी भएको र २ प्रतिशत श्रमिकलाई मात्रै पूर्ण जानकारी भएको उनले बताईन् । उनका अनुसार सरकारले आफु खुशी योजना बनाउँने र योजनाको बारेमा लक्षित बर्गलाई सुचना प्रवाह गर्न नसक्दा श्रमिक वर्ग लाभान्वित हुन नसकेका हुन ।

बैदेशिक रोजगारबाट फर्केका ८० प्रतिशत श्रमिक स्वरोजगार हुन चाहने तथा २० प्रतिशत श्रमिक जागिर नै चाहने अध्ययनले देखाएको छ । तर, सरकारले सञ्चालन गरेका श्रम सृजना गर्ने कार्यक्रम, सहुलियतपूर्ण ऋण कर्जा आदिका बारेमा भने अधिकांश श्रमिक बेखबर रहेको जोशीको भनाई छ ।

सरकारले स्वदेशमा फर्कने चाहने श्रमिकलाई ल्याएर कृषिलगायत विभिन्न उद्यममा सहभागी गराउनुपर्नेमा जोशीको जोड छ । ‘‘व्यवस्थित योजना बनाएर बोल्ड निर्णय लिन सके विदेशबाट फर्किने श्रमिक नेपालको लागि बोझ होइन, अवसर हुनसक्छ,’’ जोशीले भनिन् ।

निःशुल्क उद्धार कार्यविधि प्रभावहिन

बैदेशिक रोजगार बोर्ड अन्र्तगत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउँने कार्यविधि प्रभावहीन भएको जोशीले बताईन् । कार्यविधिमा राखिएका प्रावधानले लक्षित बर्गलाई समेट्न नसकेको कारण दूताबासले कार्यविधि कार्यान्वयन गर्न नसकेको उनको ठहर छ ।

कार्यविधिमा अलेखबद्ध श्रमिकलाई वेवास्ता गरिएको तर, यतिबेला सबैभन्दा बढी जोखिममा अलेखबद्ध श्रमिक नै रहेको उनले बताईन् । त्यसैले सरकारले कल्याणकारी कोषको रकम नभए पनि कोभिड नियन्त्रण व्यवस्थापन सञ्चालन केन्द्रले बजेट छुटटाएर भए पनि यस्ता श्रमिकलाई तत्काल उद्धार गर्नुपर्ने उनको धारणा छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकलाई हेर्ने दृष्टिकोण फरक रहेकाले महिलाहरू झन् बढी प्रभावित बनेको जोशीले बताइन् । महिलालाई श्रमिकको रूपमा नभई लैंगिकताको हिसाबले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिदै जोशीले विदेशबाट महिलालाई उद्धार गर्ने कार्यलाई पनि सरोकारवाला निकायले प्राथमिकतामा नराखेको आरोप लगाइन ।

उनले बैेदशिक रोजागारीमा जानका लागि महिलालाई लगाइएको प्रतिबन्ध तत्काल नहटाइए महिला श्रमिक झन जोखिममा पर्ने भन्दै सम्वन्धित निकायको ध्यानाकर्षणसमेत गराएकी छिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *