किन रोकिए विदामा स्वदेश आएका कामदार कोरिया उड्नबाट ?
- सुमन गिरी
- बैशाख ३१, २०७७
- 0

सरकारले कोरोना संक्रमण अघि विदामा स्वदेश फर्किएका नेपाली कामदारलाई लकडाउनकै समयमा चार्टड उडानमार्फत दक्षिण कोरिया जान दिने निर्णय गरेर आश देखाएपनि अन्तिम समयमा उनीहरु कोरिया उड्नबाट रोकिएका छन ।
पहिलो पटक स्वास्थ्य परीक्षण सम्पन्न नहुँदा उडान तय भएर पनि रोकिएका कामदार अहिलेभने कोरियामा कार्यरत कम्पनीले अनिवार्य क्वारेन्टाइनमा राख्ने प्रतिवद्धता पत्र नहुदा पुन : उड्नबाट रोकिएका हुन् ।
गत बैशाख १४ गते मन्त्रीपरिषदले इपिएसमार्फत कोरिया गएर घर विदामा आएका नेपालीलाई स्वास्थ्य परीक्षण गराएर आफ्नै खर्चमा कोरिया फर्कन दिने निर्णय गरेको थियो । यसरी घर विदामा आएका कामदार करिब १३ सयको हाराहारीमा रहेका गैरआवासीय नेपाली संघ कोरियाले जनाएको छ ।
यसलगत्तै यसरी रोकिएका नेपाली कामदारलाई उनीहरुकै खर्चमा कोरिया फर्काउन गैरआवासीय नेपाली संघले समन्वय गरेको थियो । जसका लागि संघले नेपाल एयरलाइन्ससँग विमान चार्टडका लागि सम्झौता नै गरेको थियो र पहिलो चरणमा २६० जनालाई कोरिया फर्काउने गरी तयारी थालेको थियो ।
जस अनुसार संघले पहिलो चरणमा यस्ता कामदार कोरिया लैजाने गरी नेपाल एयरलाइन्सको ए ३३० जहाज अप्रिल ३० (१८ वैशाख)मा बिहान १० बजे कोरियाको सोलस्थित इङचोन विमानस्थलका लागि उडने तय भएको र बाकी उडान आवश्यक्ता अनुसार थप्दै लैजाने जानकारी दिएको थियो । तर, स्वास्थ्य परीक्षण कहाँ गर्ने टुंगो नै नलाग्दा सो उडान रद्ध गरिएको थियो ।
यसलगत्तै इपिएस कोरिया शाखाले कोरिया फर्कन चाहने कामदारलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा अनिवार्य कोरोना परीक्षण गराउन भनेपछि स्वास्थ्य परीक्षणको प्रक्रिया पुरा गरेर उडन तयार भएका कामदार दोश्रो पटक पुन : उडनबाट रोकिएका हुन ।
कोरिया जाने कामदार लैजान दोश्रो पटक यही मे १२ (बैशाख ३०)मा उडान तय भएको थियो । तर, उड्न तयार भएका कामदारसँग कोरियामा गएर क्वारेन्टाइनमा बस्ने ग्यारेन्टी पत्र नहँुदा उनीहरु यसपटक उडनबाट रोकिएका हुन ।
नेपालस्थित ईपिएस कोरिया शाखा, कोरियाको हयुमन रिर्सोस डेभलप्मेन्ट सर्मिस ( एचआरडी) तथा समन्वयकर्ता गैरआवासीय नेपाली संघबीच समन्वय हुन नसक्दा नै उडान तय भएर पनि दोश्रो पटक नेपालीहरु कोरिया उडनबाट बञ्चित भएका हुन ।
यसअघि स्वास्थ्य परीक्षणको प्रमाणपत्र भए कोरिया जान पाइने र त्यहाँ पुगेर सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको थियो । तर अहिले पत्र नै लेखेर कोरिया एचआरडीले क्वारेन्टाइनमा राख्ने प्रतिवद्धतासहित कार्यरत कम्पनीको ग्यारेन्टीपत्र चाहिने भनेपछि उडान तय भएर पनि दोश्रो पटक कोरिया फर्कने कामदार रोकिएका हुन ।