इजाजत नविकरणदेखि राहतको व्यवस्था गर्न सरकारसमक्ष मेनपावर व्यवसायीको माग
- रोजगारमञ्च
- बैशाख २२, २०७७
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरसको प्रभाव वैदेशिक रोजगार व्यवसायमा परेको भन्दै सरकार समक्ष इजाजत पत्र नविकरणदेखि व्यवसायीहरुलाई राहतको व्यवस्था गर्न माग राखेको छ ।
संघका अध्यक्ष विष्णु गैरेले श्रम रोजगार तथा सामामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई सोमबार ज्ञापनपत्र बुझाउँदै घरासायी बन्दै गरेको वैदेशिक रोजगार व्यवसायलाई जोगाउन आग्रह गरेका छन् ।
संघले एक बर्षभित्रमा सय जना कामदार विदेश नपठाउने व्यवसायीको इजाजत नविकरण गरिदिन अनुरोध गरेको छ । वैदेशिक रोजगार ऐनमा बर्षमा एकसय कामदार विदेश नपठाउने व्यवसायीको इजाजत रद्ध गर्ने प्रावधान छ । यद्यपी गत चैत्र १६ गतेको मन्त्रीपरिषदको वैठकले वैदेशिक रोजगारमा एकसय जना कामदार नपठाएकै कारण इजाजत खारेज गर्ने हालको व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ ।
यस्तो अवस्थामा एक सय नपठाउने मेनपावरको इजाजत पत्र खारेज रोक्नका लागि सम्बन्धित निकायमा तत्काल निर्देशन दिनका लागि मन्त्री समक्ष अनुरोध गरेको संघका महासचिव सुजित कुमार श्रेष्ठले रोजगार मञ्चलाई जानकारी दिए ।
संघले मेनपावर व्यवसायीहरुलाई राहतको व्याकेज उपलब्ध गराउन समेत सरकार समक्ष आग्रह गरेको छ । कोरोना भाइरसबाट व्यवसाय संचालन गर्न असहज भएकाले मेनपावर संचालनका लागि सरकार समक्ष राखेको नगद धरौटी एक बर्षका लागि व्यवसायीहरुलाई फिर्ता गरिदिनका लागि संघले अनुरोध गरेको हो । अधिकांश व्यवसायीहरुले ५० लाख नगद धरौटी राखेका छन् ।
संघका महासचिव श्रेष्ठ भन्छन्–‘ विगतमा इराक काण्डमा समेत सरकारले नगद धरौदी व्यवसायीलाई फिर्ता दिएको थियो, यस्तो अवस्थामा उक्त नगद व्यवसायीले चलाउन पाएको खण्डमा केही राहत हुने थियो ।’
कोरोना भाइरसबाट धेरै प्रभावित वैदेशिक रोजगार व्यवसाय रहेकाले घरवाहल कर, राजस्व, वैंकको ब्याज, ऋण तिर्ने म्याद थप लगायतका माग सघले सरकार समक्ष राखेको छ ।
श्रममन्त्री रायले व्यवसायीहरुका माग जायज रहेकाले संवोधन गर्नका लागि मन्त्रालय तयार रहेको बताएको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
अहिले ८ सयभन्दा बढि मेनपावर कम्पनीमा प्रत्यक्ष रोजगारीमा जोडिएका हजारौ कामदार र वैदेशिक रोजगारमा जाने लाखौ कामदार कोरोना भाइरसका कारण प्रभावित भएका छन् ।