कोरोना रोकथाम कोषमा मेगा बैंकले दियो १ करोड ३५ लाख

news-details

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कुल एक करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा पाँच-पाँच लाख गरी जम्मा एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मेगा बैंक सञ्चालक समितिले गरेको हो ।

सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् । सिइओ खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सयभन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् ।

जसअन्तर्गत् सहायक तहका कर्मचारीले दुई दिनको तलब, अधिकृत तहका कर्मचारीले तीन दिनको तलब, प्रबन्धक तहका कर्मचारीले चार दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम गरी करिब ३० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् । त्यसैगरी सञ्चालक समितिका प्रत्येक सदस्यले रु २५ हजार सहयोग गर्दै एक लाख ७५ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

‘कोरोना भाइरस संक्रमणको रोकथाम, त्यसको नियन्त्रणका साथै उपचारका लागि देशव्यापी रुपमा केन्द्रीय सरकार र प्रदेश सरकारले चालिरहेको अभियानमा ऐक्यबद्धता स्वरुप हामीले यो सहयोग गरेका हौं, यो खतरानाक भाइरसको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो कामना छ’ सिइओ खुञ्जेलीले बताइन् ।

विपद्को बेलामा राज्यलाई व्यक्तिगत सहयोग गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरु, बैंक कर्मचारी युनियन लगायत सञ्चालक समितिलाई उनले आभार प्रकट गरेका छन् ।

बैंकले यो संकटपूर्ण अवस्थामा सतर्कता अपनाउन आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । बन्दको समयमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै देशभरका विभिन्न शाखाहरुबाट बिहान ११ बजेदेखि अपरान्ह एक बजेसम्म सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

खोलिने शाखाहरुको नाम, शाखा प्रबन्धकहरुको नाम र फोन नम्बर बैंकले दैनिक रुपमा आफ्नो वेबसाईट र आधिकारिक फेसबुकमा अद्यावधिक गर्ने गरेको छ । तर, अत्यावश्यक बाहेक अन्य सेवाका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पोस, क्युआर भुक्तानी जस्ता डिजिटल माध्यमहरुको प्रयोग गर्न मेगा बैंकले आफ्ना ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *