कतार जान श्रम स्वीकृति रोकेपछि वैदेशिक रोजगार प्रभावित
कतार भिसा सेन्टरको सेवा पनि मंगलबारबाट बन्द
- रोजगारमञ्च
- फाल्गुन २७, २०७६
- 0

नेपालीको प्रमुख वैदेशिक रोजगार गन्तव्य कतारका लागि श्रम स्वीकृति बन्द भएको छ । कतार सरकारले नेपाल सहित १४ देशका नागरिकलाई कोरोना भाइरसका कारण प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि नेपाल सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो ।
कतार सरकारले अस्थायी प्रतिवन्ध लगाएपछि कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले रोजगार मञ्चलाई बताए ।
वैदेशिक रोजगार विभागले कतारका लागि संस्थागत र व्यक्तिगत दुवै श्रम स्वीकृति स्थगन गरेको जनाएको छ ।
कतार र नेपालको यो निर्णय पछि धेरै कामदारले टिकट र श्रमस्वीकृति लिइसके पनि उड्न पाउने छैनन् । हजारौ नेपाली कामदार कतार उड्न नपाएपछि वैदेशिक रोजगारको क्षेत्र नै प्रभावित भएका छन् ।
त्यसैगरी नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि मंगलबारबाट बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाइएको छ ।
भिषा सेन्टरबाट रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गरी कामदारको औंठा छाप लिई भिसा प्रदान गर्ने, कामदारले कतारस्थित रोजगारदातासँग सक्कली करारपत्रमा हस्ताक्षर गर्ने काम हुँदै आएको छ ।
यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीहरुलाई सूचना जारी गर्दै साउदी अरेवीया र बहराइनको लागि यूएई हुँदै ट्रान्जिटको टिकट नबनाउन भनेका छन् ।
वैदेशिक रोजगारका लागि कुवेत र दक्षिण कोरिया जानलाई यस अघि नै स्थगन गरिसकिएको छ ।