विदेशबाटै पुनः श्रम स्वीकृतिका लागि बाटो खुल्यो
सन नेपाल लाइफ इन्स्योरेन्स बन्यो पहिलो अनलाइन बीमा कम्पनी
- रोजगारमञ्च
- माघ १२, २०७६
- 0

श्रम स्वीकृतिको लागि बीमा बापत तिर्नुपर्ने रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु गरिएसँगै अव विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ ।
सवै प्रकृया पुरा भएर पनि बीमाको रकम अनलाइनमा तिर्न नसकिरहँदा दूतावासमा नै पुन श्रम स्वीकृति गर्ने काम रोकिरहेको थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएपछि विदेशमा रहेका नेपालीले दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ ।
बीमा कम्पनीले वैदेशिक रोजगार विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बीमा नवीकरण गराउनुका साथै त्यसको भुक्तानीको व्यवस्था मिलाउने छ ।
अब म्यादी जीवन बीमा गर्दा तिर्नुपर्ने रकम इसेवा, खल्ती, स्प्यारो पे र कनेक्ट आइपीएबाट तिर्न सकिने गरी विभागले समझदारी गरिसकेको छ । अनलाइनबाटै बीमाको रकम तिर्दा कुनै पनि शुल्क नलाग्ने विभागले जनाएको छ ।
बीमा मात्र नभएर कल्याणकारी कोष, संस्था नवीकरण लगायतका सबै भुक्तानी अनलाइनबाट गर्ने सकिने बाटो खुल्ला भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए ।