मंगलवारबाट (आज)२१ दिनका लागि खुल्यो वैदेशिक रोजगार बचतपत्र
- रोजगारमञ्च
- पुस १, २०७६
- 0
नेपाल राष्ट्र वैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि लक्षित गर्दै वैदेशिक रोजगार बचतपत्र पौष १ गते मंगलवारदेखि निष्काशन गरेको छ ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीलगायत अन्य काम विशेषले विदेशमा रहेका नेपाली नागरिक र उनीहरूको परिवारलाई लक्षित गरी १० प्रतिशत ब्याजमा वैदेशिक रोजगार बचतपत्र विगतदेखि नै ल्याउँदै आएको छ ।
२० करोड रुपैयाँको यस बचतपत्र वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी मात्र)का नाममा खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकले मंगलबारदेखि २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ को बिक्री खुलाएको हो ।
विशेषगरी विदेशमा कमाएको रेमिट्यान्स रकम आफ्नो जन्मथलोमा ल्याएर बचत गरी उत्पादनमूलक काममा प्रयोग गर्ने उद्देश्यसाथ ल्याइएको यस बचतपत्रमा सहभागी हुनेहरूले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन् ।
बचतपत्र खरिद गर्नेहरूले सहभागी भएको हरेक ६ र ६ महिनामा ब्याज भुक्तानी पाउने राष्ट्र बैंकले जनाएको छ । यसैगरी, यस बचतपत्रको आगामी ५ वर्षमा साँवा भुक्तानी हुनेछ । राष्ट्र बैंकले बचतपत्र खरिदकर्ताका लागि चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने सुविधा रहेको पनि जनाएको छ ।
अहिले यस बचतपत्र बिक्री गर्न राष्ट्र बैंकले विभिन्न १० वटा बैंक एवं वित्तीय संस्थालाई एजेन्ट तोकेको छ । जसमा सिटिजन्स बैंक इन्टरनेसनल, नबिल बैंक, माछापुच्छे« बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रभु रेमिट्यान्स र सेवा रेमिट प्रालिलगायत छन् । यी बैंक तथा वित्तीय संस्थाबाट बचतपत्र खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यले विदेशमा कमाएको रेमिट्यान्स रकम आफ्नो जन्मभूमिमा ल्याएर बचत गरी उत्पादनमूलक काममा प्रयोग गर्ने उद्देश्यसाथ ल्याइएको यस बचतपत्रमा जतिसक्दो छिटो सहभागी भई लाभ लिन आह्वान गरिएको बताए । उनले यसअघि जारी गरिएको बचतपत्रको आकर्षण र प्रभावकै आधारमा अहिले कुल २० करोड रुपैयाँबराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ को बिक्री खुलाउन लागिएको जानकारी दिए । उनले यसमा राष्ट्र बैंकले अपेक्षा गरेअनुरूपको सम्पूर्ण बचतपत्र बिक्री हुने अनुमान गरिएको बताए ।
यसपटक पौष १ गतेदेखि २१ गतेसम्म बचतपत्र बिक्रीको समय राष्ट्र वैंकले तोकेको छ । प्रचारप्रसारको कमीले बचतपत्र विक्रि ज्यादै कम हुने गरेको छ ।
११ अर्बको बचतपत्र निष्कासन, ५८ करोड मात्रै बिक्री
आर्थिक वर्ष ०६६र ६७ बाट सरकारले वैदेशिक रोजगार बचतपत्र बिक्री सुरु गरेको हो । हालसम्म यो अवधिमा ९ पटक बिक्री भएको छ । यो अवधिमा ११ अर्ब बराबरको रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरिएको थियो । तर, ५८ करोड रुपैयाँबराबरको बिक्री भएको छ । यो भनेको निष्कासित रकमको ५.०६ प्रतिशत मात्र बिक्री हो ।