विहिवार, २०७५ असार १४ गते २२:५६
नेपाल वायुसेवा निगमले फ्रान्सबाट ल्याएको नयाँ वाइडबडी विमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । निगमले खरिद गरेको यो पहिलो ‘वाइडबडी’ विमान हो ।
‘ए ३३०–२००’ सिरिजको उक्त विमान आज (बिहीबार) बिहान बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानलाई पञ्चेबाजासहित स्वागत गरिएको छ भने नाम ‘अन्नपूर्ण’ राखिएको छ । विमानको स्वागत गर्न पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित मन्त्रालय र निगमका अधिकारीहरु विमानस्थल पुगेका थिए ।
फ्रान्सबाट ९ घण्टाको उडानपछि नेपाल आइपुगेको सो विमानमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ गरी कुल २७४ सिट छन् । नेपाल वायु सेवा निगमले अब एक महिनापछि यस विमानबाट नियमित रूपमा दुबई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका अन्तर्राष्ट्रिय सहरमा उडान भर्ने निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिएका छन् ।

कतारको दोहा, थाइल्यान्डको बैंकक तथा भारतको बेंग्लोरमा सुरूआती उडान गरे पनि बिस्तारै यसले जापान र दक्षिण कोरियाका लागि उडान सुरु गर्ने निगमले बताउँदै आएको छ । सीधा हवार्इ सेवाका लागि द. कोरियाले अनुमति दिइसकेको छ भने जापानले पनि हवार्इ सम्झौता पुनरावलोकनमा सहमति जनाइसकेको छ ।
