शुक्रवार, २०७५ जेष्ठ २४ गते ०३:५५
म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित ६ खेलाडीलाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ ।
उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएपनि राज्य विप्लवको कसुर गरेको नदेखिएको अदालतको फैसलामा उल्लेख छ । थापा सहित फुटबल सन्दिप राइ, विकास सिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई सफाइको फैसला गरेको हो ।
म्याच फिक्सिङको आरोपमा २०७२ असोज २७ मा कप्तान थापा, पूर्व गोलकिपर, सहित प्रशिक्षक र फिजियोथेरापिस्टसहित खेलाडी पक्राउ गरेका थिए । उनीहरुले अन्तराष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’ गरेको आरोप थियो । २०७२ कात्र्तिक २२ गते मुद्दा दर्ता गरिएको थियो ।