प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विदाई भेट गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्री र अनएराइभल भिसाको व्यवस्था गरिएको जानकारी दिएका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए ।