मन्त्रिपरिषद् पुनर्गठन एजेन्डा नेकपा सचिवालयमा प्रवेश, प्रम ओलीले दिए ३ विकल्प

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयमा पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डा प्रवेश गरेको छ । यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले एकलरुपमा मन्त्रीहरुको नियुक्ति र हेरफेरको निर्णय गर्ने गरेका थिए ।

सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा मूलरुपमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै छलफल भएको थियो । त्यसमा प्रधानमन्त्री ओलीले पूरै मन्त्रिपरिषद् पुनर्गठन गर्ने, पहिलो चरणमा मन्त्री भएकाहरुलाई मात्र हटाउने वा कार्यक्षमता कमजोर भएकालाई हटाउने भन्ने मापदण्ड निर्धारण गर्नुपर्ने बताएका थिए ।

‘नीतिगतरुपमा पुनर्गठनका लागि सचिवालयले सुझाव दिएको छ, व्यक्तिको नाममा प्रवेश गरेको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि संवाददाताहरुसित भने, ‘प्रधानमन्त्रीसँग आवश्यक परे छलफल हुन्छ ।’

प्रधानमन्त्री ओलीले अहिले महत्वपूर्ण दुई मन्त्रालय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेरिरहेका छन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सहरी विकास मन्त्रालयकोसमेत जिम्मेवारी लिएका छन ।

नेकपा प्रवक्ता श्रेष्ठले आफू र उपाध्यक्ष बामदेव गौतम मन्त्रिपरिषदमा सहभागी हुनेबारे छलफल नभएको स्पष्ट पारे । २०७४ साल फागुन ३ गते दोस्रोपटक सरकारको नेतृत्व लिएका प्रधानमन्त्री ओलीले अढाई वर्षमा १२ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन ।

सचिवालय बैठकमा संवैधानिक राजनीतिक नियुक्तिका विषयमा पनि छलफल भएको छ । ‘सरकारलाई निर्णय गर्न आधार तयार गर्न’ छलफल गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । खासगरी संवैधानिक राजनीतिक नियुक्ति सरकारको बिजनेस हो ।

सचिवालय बैठकमा संगठन विभागका निर्णय कार्यान्वयन, स्थायी र केन्द्रीय कमिटी पदपूर्ति, विगतमा भएका कारबाहीहरुको फुकुवालगायतका विषयमा पनि छलफल भएको छ । साथै, पूर्णकालीन कार्यकर्तालाई आर्थिक सहयोग गर्ने विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालय बैठकमा नेकपाबाट प्रतिनिधित्व गरेका संघीय संसदका सदस्यहरुलाई कोभिड संकट अवधिभर बैठक भत्ता नलिन निर्देशन दिनेबारे छलफल भएको छ । पार्टी एकीकरण भएको दुई वर्षपछि पहिलोपटक सचिवालय बैठक पेरिसडाँडामा बैठक बसेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *