राष्ट्रसंघको ७५ औँ महासभालाई प्रधानमन्त्री ओलीले नेपालबाटै सम्बोधन गर्ने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई नेपालबाटै सम्बोधन गर्ने भएका छन । न्युयोर्कमा शुरु भएको महासभालाई प्रधानमन्त्री ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्नुहुनेछ भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई यही असोज १६ गते तथा अल्पविकसित राष्ट्र र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मन्त्रिपरिषद्को बैठक अप्रत्यक्षरुपमा नेपालले यही असोज ८ गते आयोजना गर्दैछ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाडौँबाट सहभागी हुनुहुनेछ भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त नियोगका अधिकारी अनुकूलताअनुसार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा महासभामा सहभागी हुनुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *