लकडाउनको स्वरूप फेर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव, आज बस्ने मन्त्रीपरिषद बैठकमा छलफल हुदै

news-details

लकडाउनको स्वरूप फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले सुझाव दिएका छन । प्रधानमन्त्री ओलीले बोलाएको विज्ञहरुसहितको बैठकमा उनीहरुले लकडाउन स्वरुप परिवर्तन गर्न र परीक्षणको दायरा बढाउन सुझाव दिएका हुन ।

बुधबार बसेको वैठकमा लकडाउन जति लम्ब्याइए पनि परीक्षणको दायरा फराकिलो बनाउन नसक्दा यसले कुनै अर्थ नराखेको भन्दै परीक्षणको संख्या बढाउन निजी क्षेत्रका स्वास्थ्य संस्थालाई पनि परीक्षण गर्न दिन सकिने विज्ञहरुले सुझाव दिएका हुन । साथै उनीहरुले अहिले भैरहेको परीक्षणको नतिजा ढिलो आउदा यसले थप समस्या थपेको भन्दै यसप्रति ध्यान दिन पनि आग्रह गरेका थिए ।

सो अवसरमा उनीहरुले लकडाउन बढाउदै लगिएपनि संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न नसकिएको र अर्कातिर जनताको आर्थिक–सामाजिक जीवन प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्न तथा सीमानाकाहरुमा व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि सुझाव दिएका थिए ।

बैंठकमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित डा भगवान् कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरु पीताम्बर शर्मा, स्वर्णिम वाग्ले, शंकर शर्मालगायत अर्थशास्त्री, योजनाविद्, लैंगिकविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद् र नर्सहरुसहित करिब दुई दर्जनको उपस्थिति थियो ।

विज्ञहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको व्यवस्थापनमा सरकारी पक्षबाट केही कमजोर भएको स्विकार्दै त्यसलाई सुधार गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले सरकारले अबका दिनमा गर्ने निर्णयहरुमा विज्ञहरुले दिएको सुझावलाई ध्यानमा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको स्वरुप परितर्वनबारे छलफल हुने

यसैबीच आज अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकमा जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो ।

समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श पनि गरेका थिए । विज्ञहरुको सुझाव अनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *