कामलाई सम्मान गर्न सिकाउँछ कोरियाले :विपिन गुरुङ

news-details
  • वागलुङ घर भएका विपिन गुरुङ १८ वर्ष पहिला दक्षिण कोरिया छिर्दा कोरियाले धेरै विकास गरेकै थिएन । हेर्दाहेर्दै कोरियाको विकासले आकास चुम्न थाल्यो । कोरिया बसाईले विपिनको जीवनमा पनि धेरै प्रगति भइरहेको छ । सामान्ययरुपमा दक्षिण  कोरिया छिरेका विपिन अहिले व्यवसायी बनेका छन् । सिओलमा नेपालीहरुको जमघट हुने दोन्देमनमा विपिनले नेपाली, भारतीय र कोरियनहरुलाई लक्षित गरेर ‘दर्शन नमस्ते’ रेष्टुरेन्ट संचालन गरेर नेपालीहरुको जमघट हुने थलो बनाइरहेका छन् । उनी व्यवसायी बनेर कमाउने ध्याउन्नमा मात्र छैनन्, सामाजिक कार्यमा पनि सक्रिय छन् । एक छोरा, एक छोरी अनि श्रीमति रुपाका साथ कोरिया बस्दै आएका विपिन गैरआवासीय नेपाली संघ कोरियाको बरिष्ठ उपाध्यक्ष पनि हुन् । श्रीमान श्रीमतिनै सामाजिक काममा क्रियाशिल हुँदा उनको रेष्टुरेन्टमा दुःख पाएका र सुख पाएका सबै नेपालीहरु आउने गर्दछन् । सामाजिक काम गर्नका लागि पद भन्दा पनि निष्ठा आवश्यक पर्छ भन्ने विपिन हल्ला भन्दा पनि रिजल्टमा विश्वास राख्छन् । आगामी दिनमा सही वातावरण बने एनआरएन कोरियाको अध्यक्षको दावेदारमा रहेका विपिन कोरियामा रहने सबै नेपालीका प्रिय पनि छन् । उनै विपिन गुरुङसँग कोरियामा रहेका नेपाली, एनआरएन अभियान र उनको भोगाईलाई समेटेर रोजगारमञ्चले गरेको छोटो कुराकानी :

सामान्य कामदारका रुपमा कोरिया छिर्नुभएको तपाईलाई १८ वर्षको बसाईले कस्तो बनायो ?

कोरियाको बसाईमा धेरै कुराहरुको अनुभव भयो । जवानी उमेरमै कोरिया आइयो । यहाँको बसाईमा धेरै कुराहरु सिकियो, जानियो । आफ्नो देशभन्दा धेरै फरक छ यहाँ तर, व्यवसायिक हिसाबले कुरा गर्दा अनि आफ्नो परिवार, छोरा–छोरी सबैले यहाँको समाजबाट धेरै कुराहरु सिक्ने मौका पाइयो । अहिले पारिवारिक हिसाबले सबै कुरा ठिकै छ भन्नुप¥यो ।

तपाईको यो लामो बसाईले केही सम्पन्न त बनायो नै सामाजिक जिवन पनि दियो होला । आफ्नो देश छोडेपछि आफ्नो देश र सामाजिक कामको अलि बढि माया देखिदो रहेछकी के हो ?

त्यो त जोकोही नेपालीलाई पनि अवश्य हुन्छ । त्यही देशमा जन्मेको, त्यही देशमा हुर्केको, त्यही देशको माटो पानीमा खेलेर आज आफ्नो देशको परिस्थितिले गर्दा यहाँसम्म आइपुगे पनि आफ्नो जवानी ढल्किदै जाँदा आफ्नो देशमै केही गरौ भावना आउँदोरहेछ । हामीले विदेशमा व्यवसाय गरेपनि, पैसा कमाए पनि वा नकमाए पनि जुन आफ्नो देशको माया, सम्मान वा इज्जत नै सबैभन्दा माथि हुँदोरहेछ । आफ्नो गाउँ, समाज, साथीभाई लगायतलाई सम्झेर अहिले दिनहुँ जसो नेपालमै केही गरौं भन्ने भावना आइरहन्छ । त्यही भएर यहाँ हामी नेपाल, नेपाली र नेपालको कला–सँस्कृतिलाई शीरमा राखेर काम गरिरहेका हुन्छौ ।

तपाई अहिले कोरियामा के गरिहनु भएको छ ?

सन् २००१ देखि म कोरियामा सानोतिनो व्यापार गर्दै आइरहेको छु । पहिला कोरियामा बन्ने सामानहरु जस्तै सिरक, ब्ल्याङ्केटहरु नेपाल, हङकङ, सिंगापुर लगायत देशहरुमा ईम्पोर्ट, एक्सपोर्ट गर्थे । पछि यहाँको उत्पादन हुने सामान चाइनामै सस्तोमा उत्पादन हुन थालेपछि मैले त्यो व्यवसाय छोडे । त्यसपछि मैले होटल व्यवसाय गरिरहेको छु । शनिबार र आईतबार नेपाली साथीहरु आउँनुहुन्छ, विदेशीहरु र कोरियनहरु पनि आउनुहुन्छ । यसरी गुजारा गरिरहेको छु । त्यति ठुलो प्रगति त हैन तर खुशी साथ छोराछोरी र परिवारहरुसँग बसिरहेको छु ।

कोरियामा नेपाली व्यवसायीहरुको अवस्था चै कस्तो छ ?

लगभग हामी २ सय जना नेपालीहरु यहाँ व्यवसायमा छौ । कतिपय साथीहरुको व्यवसाय राम्रै छ । कोरियामा नेपालीहरुले व्यवसाय गर्ने भनेको प्रायः होटेल व्यवसाय नै हो । अहिलेसम्म त्यस्तो ठुलो व्यवसायमा नेपालीहरु देखिएका छैनन् । कतिपय होटल व्यवसायीहरुको राम्रो छ । अग्रज दाईहरुको ५–६ वटा होटलहरु पनि छन् । मेरो बुझाईमा सबै नेपालीहरुले केही गरौं भन्ने हिसाबले व्यवसाय गर्नुभएको छ । सबैजनाले आफ्नो तरिकाले मिहिनेत गर्नुभएको छ ।

तपाई एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । एनआरएन सबैको साझा संस्था हो र विश्वका धेरै मुलुकमा रहेको एनआरएन जस्तै कोरियामा रहेका एनआरएनहरुले चै के गरिरहनुभएको छ ?

एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्ष भएको नाताले मलाई कोरियाको सन्दर्भमा विगतमा एनआरएनका अग्रजहरुबाट जुन गतिले काम हुनुपर्ने हो त्यो हुन नसके जस्तो लाग्छ । मैले भन्नुको मतलब उहाँहरु नराम्रो भन्ने होइन तर चाहेर वा नचाहेर कोरियाबाट केही फलदायी काम भएजस्तो लागेन । कोरिया एउटा संभावना भएको देश हो । कोरियामा भएका सम्पुर्ण नेपालीहरु मिलेर देशको लागि केही गरौं भन्ने हाम्रो चाहना र इच्छा हुँदाहुदै पनि हुन नसकिरहेको स्थिति छ । अन्य संघसंस्था जस्तो मात्र होइन एनआरएन । मैले पनि नेपालमा केही गर्नुपर्छ भन्ने भावना बोकेर नै एनआरएन संस्थामा जोडिएको छु । अब आउने दिनहरुमा यदि म एनआरएनको नेतृत्व सम्हाल्न पुगे भने दुई चारवटा ठुला काम नेपालमा गर्ने ईच्छा छ । यस्ता कामहरु एनआरएनले गर्नुपर्छ । यहाँ कमाई राम्रो भएको हुनाले सबै नेपाली मिलेर नेपालमा राम्रा कामहरु गर्न सकिन्छ र म यसमा निरन्तर रुपमा लाग्नेछु ।

विशेषगरेर नेपालमा पिछडिएका, सरकारले ध्यान नदिएको नेपालीहरुलाई हामी सबै कोरियामा भएको नेपाली मिलेर थोरै पैसा उठाएर दुई चार करोडको अक्षयकोष स्थापना गर्नुपर्छ । त्यसबाट आएको ब्याजबाट नेपालमा समस्यामा रहेका वर्गहरुलाई सहयोग गर्नुपर्छ । त्यसो गरेमा एनआरएन कोरियाको उचाई पनि बढ्छ र नेपाल सरकारप्रति पनि हाम्रो सकारात्मक सोच हुन्छ । विश्वभर रहेका नेपालीहरुमा पनि एनआरएन कोरियाले राम्रो काम ग¥यो भन्ने सन्देश जान्छ । त्यस्तै केही कामहरु आउने कार्यसमितिले त्यसरी नै गरोस् भन्ने मलाई व्यक्तिगत हिसाबले लागेको छ ।

विश्व सञ्जाल भएको एनआरएन अझै कोरियामा आधिकारिक दर्ता हुन सकेको रहेनछ, दर्ता प्रक्रियामा तपाईहरु लाग्नुभएको छैन ? यदि एनआरएन सरकारी निकायमा दर्ता भयो भने तपाईहरुलाई काम गर्न थप सजिलो हुन्थ्यो होला ?

कुनै पनि संस्था वैधानिक रुपमा यहाँको सरकारी निकायमा दर्ता भयो भने अवश्य नै धेरै सहज हुन्छ । यि कुराहरुमा हिजो पनि केही प्रयास गरिएको थियो होला तर दर्ता हुन सकेन । अरु विभिन्न देशमा दर्ता भइरहेको छ । अहिले हाम्रो अध्यक्ष लगायत हाम्रो कार्यसमितिले नेपालबाट आवश्यक कागजातहरु मगाएर यो प्रक्रियामा हामी लागिरहेका छौ । हाम्रो पहिलो काम नै एनआरएन कोरियामा दर्ता गराउनु रहेको छ । सायद यो संस्था दर्ता भयो भने हामी कुनै पनि काम सहज रुपमा गर्न सक्छौ र कोरियाको सरकारी निकाय, गैरसरकारी निकाय तथा समाजसेवीहरुसँग खुलेर कुरा राख्न पाउँछौ । आशा छ यो दर्ता प्रक्रिया छिटै पुरा हुन्छ ।

कोरियामा धेरै नेपाली युवाहरु काम गर्नको लागि आउनुभएको छ , वास्तवमा कोरिया कामदार, विद्यार्थी र व्यवसायीहरुको लागि कस्तो छ ?

कोरिया नेपालीको लागि एकदम राम्रो गन्तव्य भएको मुलुक भनिन्छ । यहाँ काम गर्ने मजदुरको लागि अलि गा¥हो पनि छ । तैपनि यो एशियामा छोटो समयमै धेरै विकास भएको देश हो । सबै नेपालीहरु विद्यार्थी, कामदार, व्यवसायीहरुको लागि कोरिया एकदम शान्त, सुरक्षित र सबै किसिमले राम्रो छ । यहाँबाट हामीले धेरै कुराहरु सिक्न सकिन्छ । कामलाई सम्मान गर्न सिकाउँछ कोरियाले । परिश्रम गर्न सिकाउँछ कोरियाले ।

कोरियामा गरेको कमाईलाई स्वदेशमा लगानी गर्न सकिएन भन्ने कुरा छ । त्यसमा तपाई कोेरियामा लामो समय काम गर्नु भएकोछ, एनआरएनमा पनि हुनुहुन्छ, के भएमा लगानी नेपालमा जान्थ्यो र फेरी वैदेशिक रोजगारीमा आउने अवस्था रहदैन थियो होला ?

सबभन्दा ठुलो कुरो अहिले जति पनि नेपालीहरु कोरियामा हुनुहुन्छ अलिकति शिक्षित नै हुनुहुन्छ । नेपालबाट यहाँ आएर यत्रो दुख गरेर मिहनेत परिश्रम गरेपछि नेपालमै गएर केही गर्ने इच्छा सबैलाई हुन्छ । हामी नेपालीहरुमा एकताको कमी छ । त्यही कारणले गर्दापनि हामी अलि पछाडि परेका छौं । त्यस्तै रेमिटहरु यहाँ छन् । ईपीएस भिषामा यहाँ आएर काम गर्ने साथीहरुले हुण्डी मार्फत नभएर वैधानिक तरिकाले रकम स्वदेश पठाउनुपर्छ भन्ने मलाई लाग्छ । हामी जति पनि यहाँ काम गर्नेदेखि व्यवसाय गर्ने साथीहरु छौं, हामीमा एकता भयो भने मात्रै नेपालमा केही गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

तपाईको अनुभवको आधारमा, अहिले पनि कोरियाको सपना बोकेर आउन चाहने नेपालीहरुलाई के सल्लाह वा सुझाव दिन चाहनुहुन्छ ?

मेरो बुझाईमा जति पनि नेपाली साथीहरु सपना बोकेर कोरियामा आउन खोजिरहनुभएको छ, त्यो बाध्यताले गर्दा हो । यदि नेपाल पनि सम्पन्न हुन्थ्यो भने को विदेशमा आउँथ्यो र ? यहाँ आएर रात दिन चौबिस घण्टा खटेर काम गर्नु कसलाई मन लाग्थ्यो होला र । तैपनि अब यहाँ आई सकेपछि मिहनेतका साथ काम गरेर कमाई गरिसके पछि त्यो पैसा नेपालमा सदुपयोग गरेर नेपालमै केही गर्नुपर्छ । यहाँ आउने भाईबहिनी २०–२२ वर्षको हुनुहुन्छ । उहाँहरुलाई यस सम्बन्धी सचेतना जगाउनुपर्छ । एनआरएनले पनि विभिन्न सचेतनामुलक कार्यक्रम, गोष्ठी, अन्र्तक्रियाहरु गराउनुपर्छ । नेपाल सरकारको दूतावास पनि यहाँ भएको हुनाले उनीहरुसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *