एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का
- मंसिर १४, २०८१
- 0
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल उदघाटन खेलको टिकट सकिएको बताएका छन् । सीमित पूर्वाधारका कारण टिकट सकिएकाले घरबाटै खेल हेर्न आग्रह पनि गरेका छन् ।
उनले खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका हुन् ।
साथै एनपीएलको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न उनले अनुरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं । भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ । यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।’
साथै उनले भोलि(शनिबार)को खेलको पासका लागि फोन वा सन्देश नगर्न समेत आग्रह गरेका छन् । आठ टिम सम्मिलित एनपीएल शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने छन् ।