मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७५ बैशाख ०२ गते ०३:१५

बेला बेलामा ठूलो परिमाणमा सुन समातिने घटना नेपालमा भइरहन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी गरी ल्याएको सुन समात्दा प्रहरी प्रशासनदेखि ठूलै ठाउँसम्म यसको कम्पन पर्ने गरेको छ । सुन तस्करीको सेटिङ कहिलेकाँही फेल खाँदा बाहिरसम्म पोल छताछुल्ल हुने गर्छ । अझ वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई सुनको भरिया बनाएर पठाउने र उनीहरूलाई प्रयोग गर्ने गिरोह ठूलो मात्रामा अझै सक्रिय रहेको छ । उनीहरू सुनको तस्करी वैध बाटो अपनाएर अवैध कारोवार गरिरहेका छन् । 
 
सुन तस्करीको पछिल्लो स्वरुपका रुपमा ‘सुनका बाला’ र ‘सिक्री’ विदेशमा काम गरी फर्किएकालाई बोकाउनु रहेको छ । विदेशमा काम गरेर फर्किनेका झिटिगुन्टामा काँचै सुनका बाला वा सिक्री ल्याइने गरेको हो । खाडी मुलुकमा खरिद गरिएको सुन भन्सार महशुल नतिरी भित्र्याउँदा प्रतितोला तीनदेखि पाँच हजारसम्म नाफा हुने भएकाले गिरोहले स्वदेश फर्किने युवालाई माध्यम बनाएका हुन् ।
 
सरकारले झिटिगुन्टामा काँचो सुन ल्याउन दिँदा तस्करी बढेको निष्कर्षसहित सरकारले २०७३ साउनदेखि गहना मात्रै ल्याउन पाउने नियम लागू गरेको थियो । तर, राज्य संयन्त्र जति स्मार्ट बन्छ, तस्कर एक कदम अगाडि बढिहाल्छन् भन्ने कुराको पुष्टि पछिल्लो समयमा फस्टाएको नयाँ शैलीले गर्छ । यस्ता सुनका बाला वैधानिक तवरबाटै त्रिभुवन विमानस्थल हुँदै भित्रिइरहेका छन् । तर, उक्त शैलीलाई गिरोहले अपनाएको छ, वैधानिक बाटो तर अवैधानिक कारोबार ।
 
वैदेशिक रोजगारीबाट फर्किइरहेका युवालाई आर्थिक प्रलोभनमा पारेर तस्कर समूहले सुनको कारोबार फैलाएको छ । गत महिना कतारबाट फर्किएका तीन नेपालीले बुझाएको सुनको बालासहित तस्करका सहयोगी समातिएसँगै यो रहस्य झन खुलेको हो । कतार बस्ने श्रीमान्ले वीरगञ्ज घर भई ललिपुरको वुङमती बस्दै आएकी २७ वर्षीय आफ्नी श्रीमती सुनिता खड्गीलाई सुन पठाउँदा भरिया समातिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा खड्गीको श्रीमान्ले कतारबाट अवैध ढंगबाट सुन तस्करी गर्ने व्यवस्था मिलाउने गरेको खुल्यो । श्रीमान्ले नेपाल फर्कने कामदारलाई भरिया बनाएर पठाएको सुन खड्गीले नेपालमा रिसिभ गर्ने गरेको पाइएको छ । 
 
यसरी नै सुन भरिया भएका केही प्रतिनिधि पात्रहरूको भोगाइ हामीले यहाँ प्रस्तुत गरेका छौँ–
 
‘भाइ यो काठमाडौंसम्म लगिदिनु है !’ गणेश तामाङलाई मलेसियाको क्वालालमपुर विमानस्थलमा एउटा मोटो सुनको सिक्री घाँटीमा भिराइदिए गोविन्दले । ‘मेरो बहिनीको बिहे छ, प्लीज नाइ नभन ल ।’ गोविन्दले गलामा सिक्री लगाइदिँदै भने ।
 
गणेशले ‘हाँ–ना’ केही भन्नै पाएनन् । एउटा मोटो सुनको सिक्री उनको घाँटीमा आएर बसिसकेको थियो । उनले कर्के आँखाले सिक्रीको मोटाइ र आकार हेरे– ‘मोटो नै रहेछ ।’ एक पटक घाँटी पछाडि फर्काएर सिक्रीको तौलको अन्दाज पनि गरे । गर्धन मरक्क हुँदा आवाजै आयो । अनि त्यही बेला उफ्रिएको सिक्रीबाट उनले अनुमान गरे– ‘गरुङ्गो रहेछ सुनको तौल पनि ।’
 
यसरी यसअघि कहिल्यै पनि त्यति मोटो र गरुङ्गो सुनको सिक्री नलगाएका गणेशलाई कताकति डर पनि लाग्यो । असजिलो पनि लाग्यो । उनलाई घाँटीमा सिक्री लगाइदिने गोविन्दले जाने बेलामा एउटा बिल दिएर भनेका थिए– ‘भाइ, काठमाडौं एयरपोर्टमा मेरो काकाको छोरा आउँछ । तपाईंको नम्बर र फोटो मैले पठाइसकेको छु । उसले तपाईंलाई फोन गर्छ । दिनु होला है भाइ यो सिक्री ।’
 
त्यसपछि गोविन्द विदा भएका थिए । उनी गएपछि गणेशका मनमा गोविन्दका बारे कुरा खेल्न थाले । गोविन्द कुनै समय काठमाडौंमै सानोतिनो व्यापार गरिबस्थे । मलेसिया गएर काम गर्न थालेका पनि दसौं वर्ष भयो । राजनीति, समाजसेवा, व्यापार, आदि अनेक क्षेत्रमा रहेर गोविन्द मलेसियामा निकै चिनिएका नाम हुन् । उनलाई धेरैले जान्ने बुझ्ने गर्छन् ।
 
एक घण्टा यताउता गरेपछि गणेश जहाजभित्र पसे । सिटमा बसेर बेल्ट कसेपछि उनले वरिपरि आँखा पु¥याए । ‘ओहो ! के गजब !’ उनका आँखामा एउटा चमक छरियो । गणेशका वरिपरिका पाँच–छ जना युवाका घाँटीमा उनैले लगाए जस्तो मोटो र काँचो सुनको सिक्री लर्किएको छ । एउटै र एकै शैलीका ती सिक्री थिए ।
 
गणेशले ती सुनको सिक्री लगाउनेको अनुहार हेरे । तिनको फुंग उडेको अनुहार, दुब्लो शरीर, साता दिनदेखि दाह्री नकाटिएको गाला, छाला मरिसकेका हत्केला, थाकेका आँखा । ती सबै कामदार थिए । वर्षौं काम गरेर थाकेर एक दुई महिनाको मुस्किलले छुट्टी मिलाएर काठमाडौं फर्किएका थिए । ती श्रमिक कामदारका खल्तीमा मुस्किलले पाँच सात हजार पनि थिएन होला । कत्तिसँग त काठमाडौं उत्रिएर आफ्नो गाउँसम्म पुग्ने भाडा पनि हुँदैन थियो । 
 
अधिकांश काठमाडौं बाहिरकै थिए । गाडी नचढी घर पुगिन्न थियो । गाडी चढ्ने पैसा समेत बचाउन नसकी कत्तिले घरायसी खत्र्याकखुत्रुक किनेका थिए । ‘चिनेका कोही पक्कै भेटिएलान काठमाडौंमा । झरेपछि देखा जाएगा । आफ्नो ठाउँ भनेको आफ्नै हो ।’ ती कामदारको सपना हुन्थ्यो । ‘खल्तीमा गतिलोसँग एक हजार बोक्न नसक्नेले घाँटीमा यत्तिको मोटो सुनको सिक्री कसरी लाएछन् ?’ गणेशले मनमनै कुरा खेलाए ।
 
केही पछि जहाज उड्यो । उनी एकछिन त डराएछन् । एक घण्टा पछिदेखि नै जहाजमा हलचल भयो । खाना खाने, शौचालय जाने, यात्रुहरूको ओहोर, दोहोर । जहाजभित्र एउटा बेग्लै तरंग जस्तो थियो ।
 
त्योबेला सुनै बढी देखियो, घाँटीमा सिक्री लगाउने अनेक तन्नेरीहरू । चेप्टे काँचो सुनलाई कुनै खास डिजाइन र आकार नदिई सामान्य सिक्रीको रुप दिइएको थियो । लगभग सबैले एउटै डिजाइनका सिक्री घाँटीमा भिरेका थिए । कतिले मोटा मोटा बाला पनि नाडीमा बाँधेका थिए । बाला बाँध्ने तन्नेरीका अनुहार हेर्दा यिनले त्यो मोटो सुनको गहाना किन्ने औकात र हैसियत नभएको झै लाग्थ्यो ।


 
केही घण्टापछि जहाज ओर्लियो काठमाडौं । जहाजबाट ओर्लिएका ती सिक्रीबालाहरूको हुलमै गणेश पनि विमानस्थलको चेकजाँचको लाइनमा बसे । त्यहाँ उनले गजब देखे– कसैका हातले ल्यापटप बोकेका छन् । कसैका हातले टिभी झुन्ड्याएका छन् । कतिले नयाँ–नयाँ मोबाइलहरू एउटा खल्तीबाट अर्को खल्तीमा सारिरहेका छन् । गणेश त्यो दृश्य देखेर हेरेका हेरेकै भए । गतिलो खान नपाएर, राम्रो अराम नपाएर अनि रातोदिनको परिश्रमले ख्याउटे भएका अनुहार हेर्दा– यी मोबाइल, यी ल्यापटप र यी टेलिभिजनका सेटहरू तिनका होइनन् जस्तो लाग्थ्यो ।
 
हुन पनि सामान्य सोधपुछपछि गणेश बाहिरिए । धेरै सिक्रीबाला तन्नेरीहरू पनि विमानस्थल बाहिर पुगे । उनीहरू बाहिर पुगे लगत्तै अनौठा–अनौठा खालका मान्छेहरूका घेरामा ती सिक्रीबालाहरू परेका थिए । 
 
गणेश पनि काठमाडौंबाटै सानोतिनो रोजगारी गर्दै मलेसिया पुगेका थिए । उनी पनि व्यापार, समाजसेवा गर्दै मलेसियाका धेरै कारखाना, श्रमिक र साहुहरूका कोठामा समेत पुगेर परिचित थिए । गणेशलाई धेरैले चिन्थे । उनी यो सुनको कथाबाट निकै टाढै रहेछन् । सिक्री र बाला बोक्ने संसारबाट निकै पर नै रहेछन् । 
 
धेरैपछि उनले थाहा पाए, मलेसियामा हुने केही टाठाबाठा, व्यापारी, संगठनका प्रमुख, विभिन्न कम्पनीका ठूलाठूला कर्मचारी र राजनीतिक दलका भातृ संगठनका नायकहरूले यो सिक्री अनेक बहानामा नेपाल पठाउँदा रहेछन् । गणेश विमानस्थलबाट घर पुग्न पाएका थिएनन् । एक नयाँ नम्बरबाट उनलाई पटक–पटक फोन आएको थियो । सुरुमा उनले बास्ता गरेका थिएनन् । पछि फोनको म्यासेजमै लेखिएको थियो– ‘तपाईंको घर कहाँनिर पर्छ । म क्वालालम्पुरबाट पठाएको सिक्री लिन आइपुग्छु ।’ गणेशले त्यही दिन बेलुकी नै त्यो सिक्री दिएर पठाए ।
 
त्यसको एक महिनापछि नै गणेश मलेसिया गए । उनी सानोतिनो व्यापारको क्रममा काठमाडौं र क्वालालम्पुर आइजाइ गरिरहन्थे । व्यापारकै क्रममा उनले धेरै नेपाली कामदारहरूले मलेसियाका धेरै ठाउँमा काम गरिरहेको देखेका थिए । धेरै त मलेसियाका कुनाकन्दरामा काम गर्ने गर्थे । 
‘नेपालमा नि सागपातै रोपिन्छ, यहाँ नि त्यही काम छ ।’
 
कति युवाहरूले मलेसियाका दुर्गम–दुर्गम गाउँमा काम गर्छु भन्थे । त्यतिखेर तिनको हालत साह्रै बिजोग र नाजुक रहेको देखेका थिए गणेशले ।
‘यस्ता सागपात केलाउनेले सिक्री भिर्न सक्लान् र ?’ उनलाई त्यै बेला लागेथ्यो । हुन पनि विमानस्थलमै यस्तै सोझासाझा, सरल कामदारहरू सुन साहुका आँखामा पर्दा रहेछन् । उनीहरूले अनेक बहानामा ती नेपाली कामदारलाई हात लिइहाल्दा रहेछन् । घर फर्किनका लागि विमानस्थलमा आएका बेलामा सबै यसो कामदारलाई सिक्री, बाला, ल्यापटप, मोबाइल र टिभी एक–एक वटा भिराइहाल्दा रहेछन् ।
 
सरकारले सुनको ५ सय ग्रामको गहना ल्याउन पाउने अधिकार कामदारलाई दिएको छ । त्यो अधिकार कामदारले पाए पनि उनीहरू सबै सुन किन्ने आर्थिक हैसियतका हुँदैनन् । अझ खासगरी मलेसियाका कामदारहरूलाई त यो कल्पना बाहिरकै कुरा हो ।
 
प्रश्न यो पनि हो– गणेश जस्ता बाठा, केही सक्षम, देशदुनियाँ डुलेका र सामाजिक नेतृत्व व्यक्तित्वका घाँटीमा समेत गोविन्द जस्ता व्यक्तिले सुनको सिक्री सजिलै भिराउन सक्छन् भने मलेसियाका गाउँबस्तीमा रातोदिन काम गरेर फर्केका नेपाली कामदारका हातमा सुन पठाउन किन जटिल मान्थे । त्यसैले धेरै श्रमिकहरूका घाँटीमा सिक्री झुन्डाएर पठाउने साहु भइरहेका छन् उनीहरू ।
 
देशमा सुन व्यावसाय यसरी फैलेको रहेछ । यसरी सुन पठाएपछि देशको राजस्व स्वाट्ट घट्ने नै भयो । जानकारहरूका अनुसार हुण्डीवालाहरूले यसरी कामदारलाई वैधानिक हिसावले यसरी सुनका गहना नेपाल पठाएर राजस्व मारा काम गरिरहेका छन् । यो कार्य दिन दुगुना रात चौगुना वृद्धि भइरहेको छ ।
 
गणेशलाई लागेको छ– कतै राम्रै चेकजाँच भएमा भोलि सोझासिधा नेपाली कामदार जेलमा पर्न सक्छन् । उनीहरूलाई खाने बस्ने र १५ सय रुपैयाँ दिने शर्तमा सिक्री, मोबाइल, ल्यापटप, बाला र टिभी बोकाएर पठाइएको हुन्छ । यो आफ्नो नभएर ओसारपसार गरेको सुरक्षा संयन्त्रले थाहा पाएर ती भरिया जेलमा सड्न सक्छन् । ती निरपराध र श्रमिक कामदार अनाहकमा कैदी बनेर बिचल्लीमा पर्नेछन् । सामान पठाउनेहरूको थोरै रकम डुब्ला, तर सामान र गहना बोक्ने श्रमिक कामदारको सिंगो जीवन डुब्ने छ । तिनको डुबाइसँगै परिवार, बुबाआमा र नातेदारको भविष्य स्वाहा हुनेछ ।
 
सुन तस्करीको खेलमा गोविन्द र गणेश प्रतिनिधि पात्र हुन् । तिनको चरित्रले नेपाली अर्थतन्त्र प्रभावित हुने क्रम बढिरहेको छ । त्यो प्रभावले नेपालको अर्थतन्त्रलाई कहाँ पु¥याउँछ ? नयाँ आएको सरकारले ध्यान दिने होकी ?
 
के–के ल्याउँदा भन्सार लाग्दैन ?
भन्सार विभागका अनुसार ५० ग्रामसम्मका सुनमा गहना, ५०० ग्रामसम्मका चाँदीका गहना ल्याउन सकिन्छ । त्यसैगरी, १ लाख रुपैया बराबर मूल्य पर्ने हिराका गहनाहरू पनि ल्याउँदा भन्सार लाग्दैन ।
 
काँचो सुन वा चाँदीको हकमा कुनै पनि यात्रुले महसुल तिरेर पनि ल्याउन पाउने छैनन । र, ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुने भन्सार विभागले जनाएको छ ।
 
त्यस्तै, आफ्नो व्यक्तिगत प्रयोजनका लागि लगाउने केही जोर लुगा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन । र, एक थान क्यामेरा, मोबाइल, पेन ड्राइभ र घडी ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।
 
त्यस्तै १ लिटरसम्मको मदिराको बोतल ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन । वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १ वर्ष काम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखबद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इन्च सम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । ३२ इन्चभन्दा टिभी ठूलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।
 
तर, विदेशमा बसी फर्केका नेपाली यात्रुले ल्याउने जुनसुकै टेलिभिजनमा एकमुष्ट समदरमा मूल्यको ५५ प्रतिशतका दरले महसुल तिर्नुपर्ने हुन्छ । त्यस्तै, एकएक थान ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।
 
डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरू फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरूले बाजाहरू, गितार, हार्मो्नियम, तबला, लगायतका सामान १–१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । सात किलोसम्म खाद्यसामग्री ल्याउँदा पनि भन्सार भुक्तानी गर्नुपर्दैन ।
 
निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरूको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था कायमै छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
 
४० प्रतिशत भन्सार के–केमा ?
 केही सामग्रीमा परिमाण बढी भए पनि एकैपटक ४० प्रतिशत समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था पनि आदेशमा गरिएको छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो र १–१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।
 
व्यवसायिक पेशामा लागेका व्यक्तिहरूले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २र२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्ने भन्सारका महानिर्देशक ढुंगानाले बताए । चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा भन्सार लाग्नेछ ।
 
अर्थतन्त्रमा ठूलो नोक्सान
एकपछि अर्को गर्दै ठूलो परिणाममा अवैध सुन भित्रिनु अर्थतन्त्रका निम्ति घातक हो । ‘अवैध मार्गबाट सुन भित्रिँदा दुई तरिकाबाट अर्थतन्त्रलाई नोक्सान पुग्छ । पहिलो नेपालभित्र रहेको विदेशी मुद्रालाई अवैध बाटोबाट सुन किन्ने मुलुकमा पु¥याइन्छ जसले विदेशी मुद्राको अभाव देखिन्छ ।
 
यस्तो अभ्यासबाट हुन्डी वा अवैध मार्गबाट विदेशी मुद्रा विदेश पठाउने अवैध अभ्याससमेत बढ्छ,’ राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘दोस्रो घाटा भने राजस्वमा पुग्छ । वैध बाटोबाट सुन भित्र्याउँदा राज्यले तोकेको राजस्व तिर्नुपर्ने हुन्छ । तर अवैध मार्गबाट सुन तस्करी हुन थालेपछि राजस्वको स्रोत पनि सुक्छ ।’तर, यसले देशको अर्थतन्त्रमा भने नकारात्मक प्रभाव पारिरहेको छ । बैंकहरूले भन्सार तिरेर ल्याएको सुन नबिक्ने तर भन्सार नतिरिएका सुनको बजार बढ्ने अवस्था छ ।
 
आफैं सचेत हुन जरुरी 
विशेषगरी यूएई, कतार, मलेसिया, ओमान, बहराइन लगायतकाबाट तपाई नेपाल आउँदै हुनुहुन्छ भने सुन तस्करीले तपाइलाई प्रयोग गर्न सक्छन् है । सुन तस्करहरूले विभिन्न प्रलोभनमा पारी तपाई पनि भरिया बनाउन सक्छन् । तपाई काम गर्ने स्थलमा, बजारमा वा विमानस्थलमा कसैले सुन बोक्नका लागि अनुरोध गरेको खण्डमा स्वीकार नगर्नु होला । तस्करीहरूको फाइदाका लागि र क्षणिक केही लोभमा तपाई आफ्नो इज्जत र इमानलाई नबेच्नु होला । ‘अर्काको सुन बोकेर हिड्नु आफैमा गलत र गैरकानूनी हो’ भन्सार विभागले पटकपटक भनिरहेको छ । तपाई आफै सचेत भएर अर्काको लहलहैमा नलाग्ने हो भने कसैले केही गर्नै सक्दैनन् ।
-(अर्थ र रोजगार मासिक चैत्र अंकमा प्रकाशित आवरण कथा)
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media