मंगलवार, २०७४ चैत्र १२ गते ०१:३०
सुमन गिरी / फणिन्द्र दाहाल, यूएई / सयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो समय नेपालीहरुको लगानीको व्यवसाय फैलदो छ । खाडिमा काम गर्न मात्र नेपालीहरु जान्छन भन्ने सोचाईलाई गलत सावित गर्दै केहि नेपाली व्यवसायीहरु व्यवसायको क्षेत्रमा पनि अग्र स्थानमा देखिन थालेका छन् ।
अहिले दुवईको वरदुवई क्षेत्रमा नेपाली रेष्टुरेण्ट तथा ट्राभल एजेन्शी प्रशस्तै देख्न सकिन्छ । बरदुवईमा मात्र अहिले नेपालीको लगानीमा १ दर्जनभन्दा बढी रेष्टुरेन्ट तथा उत्तिकै संख्यामा ट्राभल एजेन्शीहरु संचालनमा आइसकेको छ भने भर्खरै मात्र यूएईमै पहिलो पटक नेपालीको लगानीमा गेष्ट हाउससमेत संचालनमा आएको छ । यूएईमा रेष्टुरेन्ट व्यवसाय गरिरहेका केहि व्यवसायीहरुको लगानीमा लुम्बीनी गेस्ट हाउस संचालनमा आएको हो । यसका साथै व्युटीपार्लर, सैलुन, कपडा पसल, पानी सप्लायर्श लगायतको क्षेत्रमा पनि नेपाली व्यवसायीहरुले लगानी गरेका छन् ।
अढाई लाखभन्दा बढी नेपाली कार्यरत यूएईमा नेपाली व्यवसायहरु संचालनमा आउदा यूएईमा रहेका नेपालीहरुले सहजताका साथै सुविधाको महसुस गरेका छन् । बरदुवई क्षेत्रमा मात्र होइन सारजा, अवुधावीलगायतका शहरमा पनि नेपालीको लगानीमा यस्ता व्यवसायहरु संचालनमा आएको देख्न सकिन्छ ।
विशेषगरी यूएईमा नेपालीको लगानीमा फस्टाएको व्यवसाय भनेको ट्राभल एजेन्शी र रेष्टुरेन्ट नै हो । यहाँ रहेका नेपालीले स्वदेश फर्कदा तथा नेपालबाट यूएई आउदा नेपालीकै ट्राभल एजेन्शीबाट हवाईटिकट लिने सुविधा त पाएका छन नै प्रवासमा पनि नेपाली स्वादका खाना तथा परिकारको स्वाद लिन पाएका छन् ।
विशेषगरी शुक्रवार छुट्टिको दिनमा त नेपाली रेष्टुरेन्टहरुमा यहाँ कार्यरत नेपालीको थामिनसक्नु भीड लाग्ने गरेको छ । नेपाली खाना, ढीडो, नेवारी खाजा सेट, सुकुटी, खसीको मासु, मःमः, चाउमीनलगायतका नेपाली स्वादका परिकार नेपाली रेष्टुरेन्टका विशेषता हुन ।
यूएईमा रहेका नेपाली रेष्टुरेन्टमा नेपाली स्वादका परिकार चाख्न नेपाली मात्र नभएर भारतीय, बंगाली, भियतनामी, युरोपेली नागरिकहरुको समेत भीड लाग्ने गरेको छ । यही कारण पनि नेपाली व्यवसायीहरुको लगानीका रेष्टुरेन्ट व्यवसाय निकै फष्टाइरहेको छ ।