बुधवार, २०७४ कार्तिक १४ गते ०२:२०
“प्रवासमा नेपाली कलाकार एक हौ नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मुल नाराका साथ कतारमा सन २०१५ मा स्थापित बसन्त फिल्मस् प्रालि र पाल्पाली सेवा समाजद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । नेपाल मगर संघ शाखा कतारको आयोजनामा प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ का लागि कतार आएका मयुर नृत्यकार कविराज मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, डान्सर तथा मोडल रिना थापा मगर, डान्सर तथा निर्देशक सुमन थापा मगर सम्मानित भएका हुन ।
दोहाको मुग्लिनास्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा आयोजित सम्मान कार्यक्रममा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक, पाल्पाली सेवा समाजका अध्यक्ष एवं राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्लेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मयुर नृत्यकार कविराज मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, डान्सर तथा मोडल रिना थापा मगर, डान्सर तथा निर्देशक सुमन थापा मगरले विशेष आतिथ्यता ग्रहण गरेका थिए ।
त्यस्तै पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार, लिलम चिदी मगर, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, लमजुङ सेवा समाजका सल्लाहकार तथा समाजसेवी कृष्ण बराल, फेवा साँस्कृतिकका सयोजक विक्की बिक, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, कलाकारहरु, साझा नेटवर्क डटकमका प्रमुख कुमार अविरल, राजधानी साप्ताहिकका दिल कुमार श्रेष्ठ, पत्रकार महेस कार्की, उत्तम भट्टराई, लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहेका थिए ।
साथै गित सङ्गीतलाई माया गर्नेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बसन्त फिल्मसको खुलेर चर्चा तथा प्रसंशा गर्दै कलाकार राष्ट्रको गहना भएकोले कहिले र कहिँ पनि बिचलित नभई सधै कलाकारीतामा लाग्न अनुरोध गर्दै साँगितिक तथा व्यक्तिगत जिवनको यात्रा सफलताको शुभकामना दिएका थिए ।
सम्मानित कलाकारहरुले बसन्त फिल्मस र पाल्पाली सेवा समाजबाट सम्मानित हुन पाउँदा आफुहरु निकै भाग्यमानी भएको बताउदै बसन्त फिल्मस र पाल्पाली सेवा समाजलाई कहिल्यै भुल्न नसक्ने बताउदै बसन्त फिल्मस् तथा पाल्पाली सेवा समाजको सम्पूर्ण परिवारप्रति हार्दिक आभार प्रकट गरे ।

बसन्त फिल्मस् प्रालीले अहिलेसम्म १०३ जना कलाकारलाई सम्मान गरि सकेको छ । साथै फिल्मस कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा अग्रपङ्क्तिमा रहदै आएको छ । कतारमा विभिन्न समयमा आयोजना हुने वीवीध सास्कृतिक कार्यक्रमहरुमा विभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।
फिल्मसका प्रबन्धक निर्देशक तथा कार्यक्रमका सभापति काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी बढ्ने कुरा बताउदै नेपाल मगर संघ शाखा कतार, पाल्पाली सेवा समाज तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका थिए ।