मंगलवार, जेष्ठ ०८ गते, २०७५
सविता आचार्य
आइतवार, २०७३ श्रावण ०९ गते १२:०१

यस्तै–यस्तै छन् रेडियो यात्रामा समेटिएका अनुभव। कतिले आफूलाई एकदमै आनन्द दिन्छन् भने कतिले पीडा। रेडियोभित्र फुपूलाई सास फेर्न गाह्रो भयो बुबा भनेर रेडियो सेट फुटाउन खोज्ने सानो मेरो भाईदेखि लिएर फिल्डमा जाँदा भगवान् ठान्ने मेरा स्रोताको मायाप्रति सधैँ कृतज्ञ छु।

म नभए त रेडियो नै बन्द हुन्छ जसरी भने, ‘तिमी नभए कसले हेर्छ यहाँ सबै कुरा, भोलि तिजको दिन कसले लाइभ गर्छ? न्युज कसले लेख्छ? कसले पढ्छ?’ प्रश्न त कति हो कति। म खिन्न भएँ । चुप लागेर न्युज रुममा आएर बसेँ।
तीजको बिदा
तीजको रमाइलो समय। सबैजना आ–आफ्नो घर जान तयारी अवस्थामा बसेका । रेडियो स्टेसन पुग्नेबित्तिकै मैले पनि आफू घर जान चाहेको कुरा गरेँ। अनि जम्मा दुई दिनको छुट्टी मागेँ। कति बेला घर पुगौँ जस्तो भइरहेको थियो। आमाले पकाउने दर आहा! सम्झिँदा मात्रै पनि मनमा छुट्टै आनन्द आउने। मान्छे सरदरमुकाममा भए पनि मन भने तीन घण्टाको बस यात्रामा पुगिने घर पुगिसेकेको थियो।

त्यत्तिबेलै स्टेसन म्यानेजरले बोलाए। म दङ्ग पर्दै गएँ, तर फुरुङ्ग परेकी म, खुसीले नाचिरहेकी म फिस्स भएँ। म नभए त रेडियो नै बन्द हुन्छ जसरी भने, ‘तिमी नभए कसले हेर्छ यहाँ सबै कुरा, भोलि तिजको दिन कसले लाइभ गर्छ? न्युज कसले लेख्छ? कसले पढ्छ?’ प्रश्न त कति हो कति। म खिन्न भएँ । चुप लागेर न्युज रुममा आएर बसेँ। त्यही बेला फोन आयो, मन नलागी–नलागी बोलेँ, ‘नमस्ते, म सविता, को बोल्नु भयो?’ आमा रैछिन फोनमा। एकछिन मौनता छायो। ‘अझै रेडियोमै छेस् नानी? कति बेला घर आइपुग्छेस्? सबै दिदीहरु आइसके, फुपू पनि आउनु भो यसपालि, सबै तलाईं नै कुरिरहेका छौँ। अब त अन्तिम बस छुट्ने बेला भैसक्यो।’ आमाले एकसासमा सबै कुरा सुनाइन्।

मन भारी भयो। आमासँग आफू एकदम ठिक छु जसरी बोलेँ, ‘आमा अहिले आउन मिलेन, अर्कापल्ट आउँछु, नराम्रो नमान्नु। फुपूहरु, दिदीहरु आउनु भको रैछ, रमाइलो गर्नु आमा।’ मैले आफ्ना कुरा नसक्दै फोनमा आमाको सुँक्कसुँक्क आवाज आयो। सुँकसुँकाउँदै फेरि बोलिन् आमा, ‘तँ बिनाको तीज पनि के तीज नानी, कसरी रमाइलो गर्न सक्छौँ हामी?’ आमालाई सम्झाउन कुनै शब्द थिएन, चुपचाप फोन राखेँ।

पछि घर जाँदा थाहा पाएँ, दर पनि नखाई बसेकी मेरी आमा तीजको दिन कतै नगई रेडियो सुनेर बसिन् रे। मेरो आवाज सँगैसँगै आफ्नो आवाज मिसाइन् रे, तर त्यो आवाज थियो रुवाइको, आँशुको।

त्यस हप्ताको कार्यक्रमको विषयबस्तु थियो, यौन तथा प्रजनन स्वास्थ्य अन्तर्गत ‘हाउ टु युज कन्डम’। पहिलो पटक कार्यक्रममा यो विषयमा कुरा गर्न अप्ठ्यारो त लागेकै थियो।

आमाको सोझो बुझाइ
‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रममा काम गर्न थालेको थिएँ। नेपाली युवा तथा किशोरकिशोरी साथीको मनको धुकधुकी थियो यो कार्यक्रम। उहाँहरुकै चासोको विषय, सरोकारको विषय, उहाँकै मुद्दाहरुलाई कार्यक्रममा उठाउने गर्छौं। यौन तथा प्रजनन स्वास्थ्यको कुरा, एचआईभी एड्सको कुरा, करियरका कुरा यस्तै–यस्तै। पहिलो पटक पूरा कार्यक्रम मार्फत ‘अनएयर’ जाँदै थिएँ।

त्यस हप्ताको कार्यक्रमको विषयबस्तु थियो, यौन तथा प्रजनन स्वास्थ्य अन्तर्गत ‘हाउ टु युज कन्डम’। पहिलो पटक कार्यक्रममा यो विषयमा कुरा गर्न अप्ठ्यारो त लागेकै थियो। तर, म आफैँले अप्ठ्यारो मानेँ भने मैले मेरा स्रोतालाई के बुझाउन सक्छु? मैले अप्ठ्यारो मान्नु हुँदैन भनेर कार्यक्रम तयार भयो।

शनिबारको दिन कार्यक्रम सुरु भएको एकछिनमा घरबाट आमाको फोन आयो। म फुरुङ परेँ, किनकि देशभरिका युवाले सुन्ने, यति पपुलर कार्यक्रममा छोरीको आवाज सुनेर आमाले दङ्ग परेर बधाई दिन फोन गरिन् होला भनेर। तर, मैले ‘आमा’ भन्न नपाउँदै, आमा त कड्किन पो थालिन्, ‘हैन नानी तलाईं लाज लागेन, यस्तो कन्डमसन्डमको कुरा गर्न? त्यो पनि दुनियाँले सुन्ने रेडियोबाट। हैन, आफन्त इष्टमित्रले के भन्छन्? छोरी छाडा भई, बिग्री भनेर हामीलाई सुनाउँदैनन्? हेर नानी अरु जेसुकै गर, यस्तो नराम्रो कुरा नगर है रेडियोबाट। हेर अब क–कसले के–के सुनाउने हुन्। क–कसका कुराको मात्रै जवाफ दिनु मैले।’ त्यसपछि बल्ल आमा चुप लागिन्।

मलाई के भन्ने के नभन्ने भयो। १ कक्षा नपढेकी मेरी आमालाई यौनशिक्षाको महत्वबारे फोनमा बुझाउन म असर्मथ थिएँ। त्यसैले केही भनिन। यसको बारेमा पछि कुरा गर्छु आमा, भनेर फोन राखेँ।


दुई दिन रेडियोमै बास
नजिक डेरा र घर हुने सहकर्मीहरु फुत्तफुत्त गइहाल्थे। तर, सदरमुकाममै भएको डेरा पनि बिहान रेडियो स्टेसन पुगेपछि एकैपल्ट साँझ फर्किन्थेँ म। रेडियो स्टेसन खुलेदेखि राति बन्द नहुञ्जेलसम्म रेडियोमै बस्नु पर्ने वाध्यता।

बिहानदेखि रातिसम्मको कामले कोठा जान पाइँन। दुई दिन कोठा जान नपाउँदा अलिअलि भएको खानेकुरा पनि सकियो। रेडियो बजारदेखि टाढा भएकाले खानेकुरा मगाउन पनि समस्या थियो। त्यसमाथि पुसको महिना। अघिल्लो दिन राति रेडियो बन्द गरेर एकजना दिदी र म टिनको छानो भएको स्टेसनकै एउटा कोठामा बस्यौँ। खालीपेट निद्रा कहाँ पथ्र्यो र? निदाउने कोसिसमै रात बिताइयो। भोलिपल्ट बिहानी सेवामा तपाईंलाई स्वागत छ भनेर, केही भजनहरु ‘क्यु’मा राखेर साढे ६ मा बज्ने समाचारको तयारी थालियो।

बेलुका पानी र एउटा चाउचाउ खाएर सुतेको, अत्ति नै भोक लाग्यो। झनक्क रिस उठ्यो। रेडियोका प्रबन्ध निर्देशक (उहाँ अहिले हुनुहुन्न) लाई फोन गरेँ। भनेँ, ‘सर, हजुर त मस्त निदाउनु भएको होला, तर हामीले दुई दिनदेखि केही खान पाएका छैनौँ। अब समाचार पढ्न जाने बेला भयो, भोकले समाचार पढ्न सकिनँ, बीचमा छोड्नुपर्‍यो भने केही भन्न पाउनु हुन्न।’ यति भनेर ढ्याक्क फोन राखेँ, दिदी ट्वाल्ल परिन्।

समाचारको समय सुरु भएपछि दिदी र म स्टुडियोमा गयौँ, अनि समाचार पढ्न सुरु भयो। एकाएक के भयो थाहा छैन, निरन्तर हाछ्यूँ आउन थाल्यो। आधा घन्टाको समयमा एकपटक ब्रेक लिनुपर्नेमा कति लियौँ–लियौँ। एकाएक आवाज परिर्वतन भयो, बोल्नै नसक्ने भएँ म। आवाज नै निस्केन। मैले लेखेर दिएँ, ‘दिदी म बोल्न सक्दिन, सरी भनेर बाँकी समचार आफैँ पढ्नुस्।’

म बाहिर निस्केँ, अनि सुरु भयो फोनमा जवाफ दिने काम। के भयो सविता? किन बीचमा न्युज छोडेको? आवाज किन बिग्रेको? उफ् उत्तर दिँदादिँदा हैरान्। त्यसपछि मोबाइल अफ गरेर आराम गरेँ। मनमनै लाग्यो, केही नभनी समाचार पढ्न जानुपर्ने रैछ, बेकारमा भनेँछु। जानी–जानी भने जस्तो भयो, भनेर पछिसम्म नराम्रो लागिरह्यो।

रेडियो स्टेसनको जिङ्गल बजाएपछि भरखरै प्राप्त समाचार भन्दै ‘दाङको लालमटिया गाविस बगासोतीमा बस दुर्घटना’ भएको समाचार भन्न थालेँ। जब म मृतक र घाइतेको नाम पढ्न थालेँ, मेरा आखाँ टक्क अडिए, सपनामा छु या विपनाजस्तो भयो।

ब्रेकिङ न्युजको पीडा
स्थानीय एफएम स्टेसनमा काम गर्दा कै कुरा हो। म न्युज रुममा समाचार हेर्दै थिएँ। त्यत्तिकैमा समाचार प्रमुख आएर भने, ‘बस दुर्घटना परेछ। ल अहिलेसम्मको विवरण यहाँ टिपेको छु, गएर ब्रेकिङ न्युज दिइहाल्नुप¥यो। बज्दै गरेको कार्यक्रम एक्कैछिन रोकेर भन्नुप¥यो, विस्तृतमा पछि न्युज गरौँला।’ उनले थमाएका कागज हेर्दा पनि नहेरी म स्टुडियो छिरेँ।

रेडियो स्टेसनको जिङ्गल बजाएपछि भरखरै प्राप्त समाचार भन्दै ‘दाङको लालमटिया गाविस बगासोतीमा बस दुर्घटना’ भएको समाचार भन्न थालेँ। जब म मृतक र घाइतेको नाम पढ्न थालेँ, मेरा आखाँ टक्क अडिए, सपनामा छु या विपनाजस्तो भयो।

चिच्याएर रुन मन लाग्यो। मुटु फुट्लाजस्तै भयो। आशुँ बग्न थाले। के गर्ने, कसो गर्ने सोच्नै सकिनँ। सम्हाल्नै सकिनँ आफूलाई। मृतकहरु थिए, मेरो साथीको आमा, भाउजु, मेरो दिदीको मिल्ने साथी अनि गाउँकै केही मान्छेका नाम। गला अवरुद्ध भइरहेको थियो। आँशु झरेको देखेर टेक्निसियनले इसारा गरेर सोध्दै थिए, ‘सविता के भयो?’ मन भारी भए पनि, आँखाबाट आँशु झरे पनि, बेलाबेलामा निस्केको हुक्कहुक्कलाई जबरजस्ती दबाउँदै, मुटुमा गाँठो पारेरै भए पनि बस दुर्घटनाको जानकारी गराएँ।

पहिले दुर्घटनाको छोटो विवरण र मृतकको नाम लेखेको कागज हेरेको भए सायद म ब्रेकिङ न्युजका लागि जाने थिइनँ। या त बाहिर नै नाम पढेर गएको भए म आफूलाई सम्हाल्थेँ होला। तर, त्यो केही भएन। छिटो जानकारी गराउने भनेर हत्तारिएर गएँ। तर, त्यहाँ अर्कै भइदियो। केही दिन अगाडि मात्रै घर जाँदा भेटेका आफन्तको अनुहार झल्झली आँखामा आउन थाल्यो, उनीहरुलाई सम्झेर चिच्याएर रुन मन लाग्यो, कुदेर जान मन लाग्यो भेट्नलाई। तर, त्यो सबै मेरा लागि असम्भव थियो। स्टुडियोबाट बाहिर निस्केर मनको गाँठो फुकाउन चिच्याएँ...आँशु बगाए।

रेडियोभित्र फुपू खोज्ने भाइ
स्थानीय रेडियो स्टेसनमा काम गर्न थालेको केही समय भइसकेको थियो। मैले काम गर्ने रेडियो मेरो गाउँमा ठिकै सुनिन्थ्यो। म रेडियोमा काम गर्न थालेपछि गाउँघरका प्रायः सबैले मैले काम गर्ने रेडियो नै सुन्थे। त्यसमाथि समाचारमा काम गर्ने भएकाले बुबाहरु सबैले सुन्नु हुन्थ्यो। एकदिन ठुलोबुबा बिहानै उठेर समाचार सुन्दै हुनुहुँदो रैछ। अनि ठुलोबुबाको नाती (मेरो दाइको छोरा, जो सानै थियो) पनि सँगै रहेछ। जब मेरो आवाज रेडियोमा सुनिन थाल्यो, ऊ अत्तालिँदै ‘बुबा सबी, सबी खै कहाँ छे? कहाँबाट बोल्दै छे रेडियोमा? मलाई देखाइदेऊ’ भनेर जिद्दी गरेछ। ठुलोबुबाले रेडियोभित्र छे, समाचार पढ्दै छे, अहिले निस्किन मिल्दैन भनेर सम्झाउनु भएछ। तर, उसको बालमस्तिष्कले के बुझ्थ्यो त्यस्तो कुरा। ‘मेरो सबीलाई सास फेर्न गाह्रो भयो, यति सानो रेडियोभित्र कसरी बस्न सक्छे? कहाँ बस्छे सबी? बुबा छिटो निकाल्नु’ भन्दै रुन थालेछ। ठुलोबुबाले केही नभनेपछि उसले नजिकैको एउटा दाउरा टिपेर रुँदै ‘म मेरो सबीलाई बाहिर निकाल्छु, भित्र भई भने त मर्छे’ भनेर रेडियो फुटाउन खोजेछ। अनि ठुलोबुबाले सम्झाएपछि बल्ल शान्त भएछ। समाचार सकिएपछि मलाई ठुलोबुबाले फोन गरेर, ‘नानी भाइसँग बोल’ भन्नु भयो। म ऊसँग कुरा गर्न थालेँ। आत्तिएको अनि रुन्चे स्वरमा भन्दै थियो ऊ, ‘तैँले सास कसरी फेरिस्? तलाईं गाह्रो भएन? किन त्यति सानो रेडियोभित्र पसिस्? फेरि भख्खरै कहाँ गइस् तँ?’ मैले चुपलागेर उसका प्रश्न सुनिरहेँ र आफ्नो बाल्यकाल सम्झिँए। मैले पनि त्यसरी नै बुबासँग झगडा गरेको थिएँ, रेडियोमा बोल्ने मान्छेको घर देखाउनु, कहाँ बसेर बोल्छन् उनीहरु भनेर। मेरो जिज्ञासा त्यतिबेला कसैले मेट्न सकेको थिएन। तर मेरो भाइको जिज्ञासा मैले घर गएर मेटाइदिएँ। अहिले यो कुरा सुनाउँदा लजाएर अर्कातिर भाग्छ ऊ।

चालकले दिएको सम्मान
प्युठान छोडेर काठमाडाँ आइसकेकी थिएँ । पुसको मध्यतिरको समय मुटु ठिहिर्याउने काठमाडौँको जाडो। घर सामान पठाउनका लागि नयाँ बसपार्क गएर फर्किंदै थिएँ। जाडोको बेला ५ नबज्दै साँझ परिहाल्ने। हतार–हतार माइक्रो चढ्न भनेर बसपार्कबाट बाटोमा आएँ। साँझ परेकाले माइक्रोहरुमा मान्छे कोचिएर बसेका थिए। मलाई चिसो सिरेटोमा गाडी कुर्न एकदम गाह्रो भइरहेको थियो। एकमनले सोचेँ, फोन गरेर दाइलाई बोलाउनुपर्यो, फेरि लाग्यो यस्तो चिसोमा बाइक कुदाएर के आइज भन्नु, होस् बोलाउँदिन, एकछिनमा त आउला नि गाडी। नभन्दै एकछिनमा एउटा माइक्रो मेरो अगाडि रोकियो। त्यो पनि भीड नै थियो। अगाडिको सिटबाट एकजना ओर्लिए, म त्यही सिटमा बसेँ। माइक्रोमा ठुलोठुलो आवाजमा रेडियो बजिरहेको थियो। आइतबार, रेडियो कान्तिपुरबाट ‘साथीसँग मनका कुरा’ आइरहेको थियो। म एकसुरले कार्यक्रम सुन्दै थिएँ। त्यत्तिकैमा सहचालक भाइले ‘भाडा दिनु त’ भनेपछि मैले पैसा निकालेँ अनि भने, ‘भाइ कार्ड छ है।’मैले त्यति भन्दा चालकले एकदमै चनाखो भएर मतिर हेर्यो र भन्यो, ‘सबिता दिदी।’ मैले केही भनिन, मुसुक्क हाँसे मात्रै। तर, ऊ घरि कान थापेर रेडियो सुन्दै र घरि मलाई हेर्दै गर्न थाल्यो। उसलाई देखेर एकदम रमाइलो लागिरहेको थियो। उसले फेरि मुख खोल्यो, ‘साँच्चै तपाईं नै हो सबिता दिदी, भन्नु न, हो कि होइन?’ मैले हो भनेँ र कार्यक्रमबारे केही कुरा सोधेँ। उसले आफ्नो कथा सुनायो।

धादिङको एउटा विकट गाउँमा ९ कक्षा पढ्दापढ्दै घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छाडेको रहेछ उसले। एकदिन ‘साथीसँग मनका कुरा’मा जीविकोपार्जनका लागि आफैँले केही गर्न सकिन्छ, काम सानो ठुलो हुँदैन तर सुरुवात चाहिँ गर्नुपर्छ भन्ने कुरा सुनिसकेपछि ऊ एकजना गाउँकै मान्छेको पछि लागेर काठमाडौँ आएको रहेछ। पहिले सहचालकका रुपमा काम गर्दागर्दै पछि लाइसेन्स निकालेर रत्नपार्कदेखि बसपार्क रुटमा चल्ने माइक्रो चलाउन थालेको रहेछ। उसले दङ्ग पर्दै भन्यो, ‘भगवान् भेटेजस्तो भयो दिदी, तपाईंलाई भेटेर। तपाईंहरुले गर्दा मैले आफूलाई चिन्ने मौका पाएँ। त्यही कारणले अहिले म यसरी गाडी चलाउन सक्ने भएको छु। आफूले पढ्न नपाए पनि भाईबहिनी पढाउन पाएको छु।’ उसका यति कुरा सुन्दा मैले ठूलो सम्मान पाएको महसुस गरेँ। उसले सहचालकलाई अह्राउँदै भन्यो, ‘दिदीको पैसा लियो भने त पाप लाग्छ, फिर्ता गरिदेऊ।’ तर मैले पैसा फिर्ता लिन मानिन। 

नेपाल खबरबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media